नेपाली कांग्रेसः नयाँ सरकार निर्माणबारे जसपामा दुई धार देखिएपछि अब ध्यान ‘एमालेको अन्तरविरोधतिर’

ओलीले विश्वासको मत नपाएपछि कांग्रेस सभापति देउवा नयाँ सरकार निर्माणमा अग्रसर भएका छन्

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, ओलीले विश्वासको मत नपाएपछि कांग्रेस सभापति देउवा नयाँ सरकार निर्माणमा अग्रसर भएका छन्
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई वा दुईभन्दा बढी दलहरू मिलेर संविधानको धारा ७६ (२) अन्तर्गत बहुमतको सरकार बनाउन आह्वान गरेको समयसीमा सकिनु एकदिन अगाडि उक्त पहलको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको ध्यान सत्ताधारी एमालेको आन्तरिक विभाजनतर्फ मोडेको देखिएको छ।

शीतलनिवासबाट आह्वान भएको भोलिपल्टै कांग्रेसले मङ्गलवार माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका नेताहरूसँग एकसरो छलफल गरेको थियो।

तर जसपाका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार निर्माणमा अरुचि प्रकट गर्दै विज्ञप्ति प्रकाशित गरेका कारण अब कांग्रेसको ध्यान एमालेभित्रकै असन्तुष्ट खेमातिर मोडिएको कांग्रेस सभापति शेरबहादुर देउवाका निकट नेता एनपी साउदले बीबीसीलाई बताए।

अङ्कगणितको खेल

अहिले प्रतिनिधिसभामा कुल २७१ सदस्य कायम रहेको छ।

सोमवार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा भएको मतदानमा ओलीको पक्षमा ९३ मत मात्रै आएको थियो भने उनको विपक्षमा १२४ मत आएको थियो।

तर बहुमत प्राप्त गर्न आवश्यक १३६ मत कतैतिर पनि देखिएन। जसपाको महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसिदिएपछि ओलीको विपक्षमा रहेको समूहको पनि बहुमत पुगेन।

शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

सो पक्षले उही व्यवहार कायम राख्ने हो भने ओलीइतरको पक्षलाई पनि बहुमत जुटाउन कठिन पर्ने देखिन्छ।

तर यदि एमालेभित्रका असन्तुष्ट पक्षका केही सांसदहरूले राजीनामा दिएमा भने कुल कायम संसद सङ्ख्या घट्नेछ र त्योसँगै आवश्यक बहुमतको न्यूनतम सङ्ख्या पनि घट्नेछ।

“जनता समाजवादी पार्टीले एकढिक्का निर्णय गर्न सकेन भने एमालेभित्रको अन्तरविरोधले के भूमिका खेल्छ र कस्तो बाटो लिन्छ भन्ने कुरा अहिले महत्त्वपूर्ण भएको छ,” कांग्रेस नेता साउदले भने।

त्यसैले कांग्रेसले एमालेभित्रको अन्तरविरोधलाई नजिकबाट नियालिरहेको उनले बताए।

भेटघाट तीव्र

नेता साउदले कांग्रेस सभापति देउवाले एमालेको असन्तुष्ट खेमाका नेता माधवकुमार नेपालसँग पनि भेटघाट गरेको भन्दै ती कुराकानी जारी रहेको बताए।

“वास्तवमा कांग्रेसले सबै पक्षलाई समेटेर सरकार निर्माण गर्न चाहेको छ। एक किसिमले यो हाम्रो दायित्व पनि हो,” त्यस्ता भेटघाटबारे सोध्दा अर्का कांग्रेस नेता बालकृष्ण खाँडले बताए।

प्रधानमन्त्री ओली

तस्बिर स्रोत, RSS

तर अझसम्म यति नै सांसद सङ्ख्या आफ्नो पक्षमा आइसकेको भनेर बताउने स्थिति नभएको नेता खाँडले भने।

“(एमालेभित्रका असन्तुष्ट पक्षका)नेताहरूले नै स्वयं अब यो सरकार परिवर्तन गर्न जरुरी छ भन्ने कुरा गर्दै आएका हुन्। परिस्थितिलाई निकास दिन केही सांसदले राजीनामा दिने कुरा पनि उनीहरूबाटै आएका छन्। तर यो विषय हामीसँगको सहमतिमा भन्दा पनि उनीहरूकै विषय हो,” साउदको भनाइ छ।

तर यी विषय अझै निर्क्योलमा पुगिसकेको देखिँदैन। राजीनामाको विषयमा एमालेका असन्तुष्ट नेताहरूले स्पष्ट रूपमा बोलिसकेका छैनन्।

प्रचण्ड

तस्बिर स्रोत, RSS

तर यदि बिहीबार रातिको समयसीमासम्म दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउने प्रयास सफल नभए सबभन्दा ठूलो दलको नेताको हैसियतले फेरि वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने सम्भावना बाँकी छ।

‘प्रकारान्तरले फेरि चुनाव नै’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुधवार ट्वीट गर्दै वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार गठन अनि एक वर्षभित्र चुनावको सुझाव दिएका छन्।

अब जस्तो सरकार बने पनि देशमा चाँडै नै चुनाव हुने कुरा प्रष्ट भएको कांग्रेस नेताहरूले पनि बताएका छन्।

“चुनावको वातावरणतर्फ हामी क्रमिक रूपमा अगाडि बढिरहेका छौँ। संविधानको धारा ७६ (२) वा (३) जुनसुकै खालको सरकार बनेपनि मुलुक प्रकारान्तरले चुनावमा जान्छ,” साउदले भने।

“चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन अनि भरोसायोग्य दलबाट सम्पन्न गराउन महत्त्वपूर्ण हुन्छ। यस सन्दर्भमा नेपाली कांग्रेसले विगतमा पनि विश्वसनीय भूमिका खेलेको छ।”

पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि दोस्रो संविधानसभाको निर्वाचन गराउन तत्कालीन प्रधानन्यायाधीको नेतृत्त्वमा सरकार बन्नुअघि भट्टराई प्रधानमन्त्री थिए।