केपी शर्मा ओली विश्वासको मतः एमालेकै माधव नेपाल-झलनाथ खनाल पक्षका सांसदहरू 'अनुपस्थित हुने'

तस्बिर स्रोत, Rss
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता भीम रावलले बताएका छन्।
प्रधानमन्त्री ओलीले हतारमा कुनै निर्णय नगर्न आफ्नो दलका सांसदहरूलाई आग्रह गरेको केही मिनेटपछि नेपाल-खनाल पक्षको निर्णय सार्वजनिक भएको हो।
"हामीले आजको प्रतिनिधिसभाको बैठक जुन प्रधानमन्त्री केपी शर्मा ओलीजीले नेपालको संविधानका धाराहरूको अपव्याख्या गरेर विश्वासको मत लिने भनेर बोलाउन लगाउनुभएको छ, त्यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौँ," बैठकपछि रावलले भने।
"साथसाथै उहाँलाई विश्वासको मत दिनुहुन्न, उहाँ प्रधानमन्त्री पदबाट हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ।"
एमालेका असन्तुष्ट सांसदहरू प्रधानमन्त्री ओलीले विश्वासको मत परीक्षण गर्ने संसद् बैठकमा अनुपस्थित हुने भएपछि उनको सरकारले निरन्तरता पाउने सम्भावना झिनो बनेको छ।
चेतावनीपछि निर्णय
पार्टी र सरकारको नेतृत्व गरिरहेका ओलीसँग असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल समूहका झन्डै २० जना सांसदले आफ्ना गुनासाहरू सम्बोधन गर्न प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै सोमवार संसद् बैठकमा अनुपस्थित हुने निर्णय लिएको बताएका छन्।

तस्बिर स्रोत, RSS
"प्रधानमन्त्री केपी ओलीजीलाई भोट दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र राजनीतिक स्थायित्वका हिसाबले देशलाई कमजोर बनाउने भएकाले आज विश्वासको मत लिने बैठकमा हामी अनुपस्थित हुने निर्णय गरेका छौँ," निर्णयबारे असन्तुष्ट समूहका नेता भीम रावलले भने।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने बताएपछि आफ्नो समूहको रणनीति तय गर्न आइतवार बसेको नेपाल-खनाल समूहको बैठकले सोमवार बिहानसम्म प्रधानमन्त्रीलाई आफ्ना मागहरू सम्बोधन गर्ने समयसीमा दिएको थियो।
छलफलपछि नेता नेपालले राति नै ओलीलाई छबुँदे पत्र लेखेर आफ्ना सर्तहरू पूरा नभए सांसदहरूको सामूहिक राजीनामासम्म आउने चेतावनी दिएका थिए।
नेता रावलले "अहिले आफूहरूको अनुपस्थिति नै पर्याप्त हुने भएकाले" राजीनामाको निर्णय नलिइएको बताए।
प्रधानमन्त्रीको आह्वान
नेपाल-खनाल समूहले राखेको नेकपा एकीकरणपूर्वको अवस्थाकै पार्टी कमिटीहरू कायम राखिनुपर्ने सर्तमा प्रधानमन्त्री यसअघि तयार नभएपछि असन्तुष्ट समूहका सांसदहरू सामूहिक राजीनामा दिन मनस्थितिमा पुगेको बताइन्छ।

तस्बिर स्रोत, RSS
असन्तुष्ट पक्षको बैठक चलिरहँदा प्रधानमन्त्री ओलीले छलफलबाट समस्याको समाधान गर्न पार्टीका सांसदहरूलाई आग्रह गर्दै ट्वीट गरेका थिए ।
"यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
"तसर्थ हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु।"
"आउनूस्, केही समस्या भए सँगै बसौँ, छलफल गरौँ र समाधान गरौँ।"
विवाद मिलाउने प्रयास
पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेकै बेला केही दिनयता असन्तुष्ट समूहका नेताहरूलाई मिलाउन प्रधानमन्त्री ओली र उनीनिकट नेताहरूले नेपाल-खनाल समूहका नेताहरूसँग छलफल तीव्र बनाएका थिए।
आइतवार पनि ओलीनिकट नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङले नेता नेपालसँग सिंहदरबारमा भेटेरै छलफल गरेका थिए। छलफलमा सहभागी नेता नेम्वाङका अनुसार पार्टीको समस्या समाधान गर्दै एकता कायम गर्ने सम्बन्धमा "गम्भीर छलफल भए पनि कुनै सहमति" भने हुन सकेन।
"पार्टी एकतालाई बलियो बनाएर जानुपर्ने विषयमा विवाद छैन, तर देखिएका समस्यालाई कसरी टुङ्गोमा पुर्याउने भन्ने सम्बन्धमा ठोस आधारबारे छलफल गरेर फेरि भेटघाट गरेर टुङ्गोमा पुर्याउने कुरा भयो," बैठकपछि उनले बीबीसीलाई भनेका थिए।
नेपाल-खनालपक्षीय सांसदहरूले सामूहिक राजीनामा दिने सम्भावनाको विषय सञ्चारमाध्यममा आएपछि एमाले संसदीय दलका नेता पनि रहेका प्रधानमन्त्री ओलीले आइतवार पनि त्यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सांसदहरूलाई चेतावनी दिएका थिए।

तस्बिर स्रोत, EPA
एमालेको ह्विप
संसद्बाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले संसद् सचिवालयमा आइतवार नै प्रस्ताव दर्ता गराइसकेका छन्।
एमाले मुख्य सचेतक विशाल भट्टराइले सबै सांसदहरूलाई सोमवारको संसद् बैठकमा उपस्थित भएर विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्। असन्तुष्ट समूहका सांसदहरूले विश्वासको मतमा सहयाोग नगर्ने आशङ्काबीच भट्टराईले सांसदहरूलाई राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानबारे पनि ध्यानाकर्षण गराएका छन्।
नेकपा एकीकृत रहँदादेखि नै जारी प्रधानमन्त्री ओली र नेपाल-खनाल समूहबीचको विवाद गत फागुनमा सर्वोच्च अदालतको एक फैसलाबाट एमाले र एमाओवादी केन्द्र अलग पार्टी बनेपछि थप चर्किएको थियो।
विवादका बीच प्रधानमन्त्री ओलीले चैत्रमा नेता नेपालसहित असन्तुष्ट समूहका चार नेतालाई छ महिना निलम्बन गरेका थिए भने कर्णाली प्रदेशमा नेपाल-खनाल समूहका सांसदहरूले "फ्लोर क्रस" गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए।
सरकारबाट आफ्ना मन्त्रीहरूले राजीनामा दिए पनि समर्थन कायमै राखेको नेकपा माओवादी केन्द्रले गत बुधवार मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
सत्ता साझेदार पार्टीले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ।

तस्बिर स्रोत, RSS
प्रतिनिधिसभाको अङ्कगणित
प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सांसद छन्। तीमध्ये नेपाल पक्षसँग लगभग ३५ जनाजति भएको विवरण आएका छन्।
प्रतिनिधिसभामा विपक्षी कांग्रेसको ६३ सांसद भए पनि दुई जना निलम्बित छन्।
माओवादीका ४९ सांसद छन्। जनता समाजवादी पार्टीका ३४ मध्ये दुई सांसद निलम्बित छन्।
त्यसबाहेक राप्रपाका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र स्वतन्त्रका एक सांसद छन्।
संसदीय अङ्कगणितमा निर्णायक मानिएको जनता समाजवादी पार्टीले आफ्ना सांसदहरूलाई अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न स्वतन्त्र छाडिदिएपछि नेपाल-खनाल समूह प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउनबाट रोक्न बैठकमा अनुपस्थित हुने निष्कर्षमा पुगेको एक नेताले बताए।
अशोक दाहालको सहयोगमा








