एमाले विवादः माधव नेपाल र भीम रावल निलम्बनमा

तस्बिर स्रोत, RSS
नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारले बीबीसीलाई बताएका छन्।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कारबाहीबारे दुवै नेतालाई पत्रमार्फत जानकारी गराएको बताइएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, "उहाँहरूलाई स्पष्टीकरण सोधिएको थियो। उहाँहरू स्पष्ट पार्ने र आफ्ना कुरा भन्ने भन्दा पनि अझ बढी बिद्रुपीकरण गर्ने, सार्वजनिक सञ्चार माध्यममार्फत आफ्नो स्पष्टीकरण भनिएको चिज सार्वजनिक गर्नेतर्फ लाग्नुभयो।"
उनले थपे, "सुधारको स्थितिका निम्ति ठाउँ नराख्नुभएको हुनाले कारबाही गरिएको हो। ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरिएको हो।"
थापाले केन्द्रीय कमिटीले नै कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको पनि जनाएका छन्।
वरिष्ठ नेता नेपाललाई कारबाही गरिएको भनी सार्वजनिक गरिएको पत्र अनुसार उनलाई सच्चिने मौकाका लागि हाललाई उक्त कारबाही गरिएको उल्लेख छ।
यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा आन्तरिक विवादमा फस्दा अध्यक्ष प्रचण्ड र नेता नेपाल समूहले प्रधानमन्त्री ओलीलाई दलको साधारण सदस्य नरहने गरी पार्टी अध्यक्षबाट हटाएको थियो।




