तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
घरेलु कामदार बनेर साउदी अरब गएका दर्जनौँ श्रीलङ्काली महिला बन्दीगृहमा, उद्धारको याचना
घरायसी कामदारका रूपमा आफ्नी आमा श्रीलङ्काबाट साउदी अरब जाँदा तुषारी १६ वर्षकी थिइन्। यो सन् २०१९ को मार्च महिनाको कुरा हो।
त्यसयता उनले आमा सुनेत्रालाई भेट्न पाएकी छैनन्।
साउदी अरबमा श्रीलङ्काका झन्डै पाँच लाख आप्रवासी कामदार छन्। तीमध्ये महिला धेरै छन् र उनीहरू घरेलु कामदारका रूपमा कार्यरत छन्।
साउदी अरब पुगेको झन्डै सात-आठ महिनापछि सुनेत्राले घरेलु कामदारका रूपमा काम गर्न छोडेकी थिइन्।
उनी अहिले एउटा बन्दीगृहमा छिन् जहाँ अन्य ४० श्रीलङ्काली महिला पनि छन्। उनीहरूको अवस्थाबारे अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नलले केही समयअघि विवरण प्रकाशन गरेको थियो।
"मेरी आमाले रोजगारदाताकहाँ निकै दुःख भोगिन्। उनलाई पारिश्रमिक समेत दिइएन। उनलाई पर्याप्त खाना पनि दिइएन," तुषारीले टेलिफोन संवादका क्रममा बीबीसीलाई भनिन्।
"एक दिन उनलाई दिनभरि शौचालयमा थुनेर राखियो, एक गिलास पानी समेत दिइएन।"
त्यसपछि सुनेत्राले आफ्ना रोजगारदातालाई छाड्ने निर्णय गरिन् र गैरकानुनी आप्रवासी बनिन्।
विदेशबाट आएका घरेलु कामदारहरू साउदी अरबमा कानुनी रूपमा बस्नका लागि रोजगारदाताले प्रायोजन गर्नुपर्ने हुन्छ।
काम छाडेर भागेलगत्तै उनलाई प्रहरीले पक्रियो र बन्दीगृहमा राख्यो। उनी त्यस दिनदेखि सुपुर्दगी भई श्रीलङ्का फर्किने आशामा बसिरहेकी छिन्।
बालबालिका र गर्भवती महिला
बन्दीगृहबारे तुषारीले जे सुनेकी छिन् त्यसले उनलाई भयभीत बनाएको छ। अनि आफ्नी आमा त्यहाँ कसरी बसिरहेकी छन् भनेर उनी चिन्तित छिन्।
"त्यहाँ १० जना मात्र अट्ने एउटा कोठामा ४० जनालाई राखिएको छ। कहिलेकाहीँ ठाउँकै विषयमा उनीहरू एकआपसमा झगडा गरिरहेका हुन्छन्," उनले भनिन्।
"त्यहाँ साना बालबालिका, गर्भवती अनि पाका महिला पनि छन्।"
एम्नेस्टी इन्टरन्याश्नलका अनुसार आठदेखि १८ महिनासम्मका शिशुसहित ४१ जना श्रीलङ्काली महिलालाई साउदी अरबको राजधानी रियादस्थित बन्दीगृहमा राखिएको छ।
"तीन जना महिलासँग साना बालबालिका छन् र एक महिलालाई चिकित्सकीय सहायताको खाँचो रहेको थाहा पाइएको छ। कसैलाई पनि आफूविरुद्धको अभियोगबारे बताइएको छैन। न त उनीहरूलाई बन्दी बनाइनुको कारणबारे थाहा कुनै कानुनी सहायता प्रदान गरिएको छ," उक्त संस्थाले एउटा विज्ञप्तिमा भनेको छ।
सूचनाको अभाव
साउदी अरबस्थित एक श्रीलङ्काली आप्रवासी कोसे मोहिद्दीन अन्जरका अनुसार बारम्बार ताकेता गरिएको भए पनि सरकारी निकायहरूले ध्यान नदिएपछि उनी आफूले नै एम्नेस्टीलाई जानकारी गराएका हुन्।
"शिविरमा अन्य देशका नागरिकहरू पनि छन्, तर अरूले आवश्यक कदम चालेका छन् र उनीहरूलाई सुपुर्दगी गरिराखिएको छ। श्रीलङ्काले मात्रै ढिलाइ गरिराखेको छ," उनले बीबीसीसँग भने।
अन्जर स्वैच्छिक रूपमा केही पटक शिविर पुगेका छन् तर उनलाई बन्दीहरूलाई भेट्न भने दिइएको छैन।
"बाह्य संसारमा के भइरहेको छ भन्ने कुरा उनीहरूलाई केही पनि थाहा छैन," उनले भने।
"उनीहरूलाई यहाँ राख्नु साउदी सरकारको रुचि होइन। श्रीलङ्का सरकारले कदम नचालेका कारण उनीहरू अझै यहाँ छन्।"
कोरोनाभाइरसका कारण प्रतिबन्धात्मक व्यवस्था
बन्दी बनाइएकी एक महिलाका पतिले कोरोनाभाइरसका कारण लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाका कारण उनीहरूको सुपुर्दगी हुन ढिलाइ भइरहेको आफूलाई श्रीलङ्का निकायहरूले बारम्बार बताउने गरेको जानकारी दिए।
भारतीय मूलका तमिल जयप्रकाशले आफ्नी पत्नीलाई घर फर्काउन सहयोग गर्न आग्रह गर्दै आफू क्षेत्रीयदेखि राष्ट्रपतिको कार्यालयसम्म पुगेको बताउँछन्।
"मेरी पत्नीसँग खानका लागि केही पनि छैन र पर्याप्त पानी पनि छैन। अल्काई रोगका कारण उनी राम्रोसँग बस्न पनि सक्दिनन्," उनले भने।
साउदी अरबका निकायहरूले यस विषयमा तत्काल केही प्रतिक्रिया जनाएका छैनन्। तर श्रीलङ्काका श्रममन्त्री निमल श्रीपाल डिसिल्भाले आफूहरूले साउदी अरबसँग छलफल गरेको र सुपुर्दगीका लागि तत्काल कदम चालिने सञ्चारमाध्यमहरूलाई बताए।
तर समयसीमाबारे भने केही बताइएको छैन।
'सबैभन्दा कमजोर कामदारहरू'
घरेलु कामदारका रूपमा साउदी अरब जाँदा सुनेत्राले आफ्नी आमाकहाँ तीनवटी छोरी छोडेकी थिइन्।
मिर्गौलाको समस्या भएका उनका पतिको पक्का जागिर छैन र उनी कठिन परिश्रम पर्ने काम गर्न पनि सक्दैनन्।
तर सुनेत्रालाई शिविरमा राखिएको एक वर्षभन्दा बढी भएपछि उनकी आमाको गत फेब्रुअरी ११ मा मृत्यु भयो।
आमाको देहावसान भएको तीन महिना पुग्दा सुनेत्रा बौद्ध परम्पराअनुसार गरिने धार्मिक अनुष्ठानमा सहभागी हुन आइपुग्लिन् कि भन्ने उनको परिवारले आशा गरेको छ।
एम्नेस्टी इन्टरन्याश्नलका अनुसार सुनेत्रा र बन्दी बनाइएका अन्य महिलाजस्ता घरेलु कामदारका रूपमा काम गर्ने आप्रवासी श्रमिकहरू साउदी अरब र अन्य खाडी राष्ट्रमा निकै जोखिममा परेका छन्।
गोपनीयता कायम राख्नका लागि महिलाहरू र तिनका आफन्तका नामपरिवर्तन गरिएको छ।