तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फुटबल: तीन राष्ट्रबीचको प्रतियोगितामा नेपाल विजयी
नेपाली राष्ट्रिय फुटबल टोलीले तीन राष्ट्रबीच दशरथ रंगशालामा भएको 'थ्री नेसन्स कप'को फाइनलमा बाङ्ग्लादेशलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ।
लामो समय देखि गोल गर्न चुकिरहेको नेपालका लागि सञ्जोग राई र विशाल राईले गोल गरेका हुन्।
दुबै गोल 'पहिलो हाफ'मा भएको थियो।
खेलको १७ औं मिनेटमा कर्नर प्रहारमा विपक्षीले फर्काएको बलमा सञ्जोगले बाँया खुट्टाबाट गरेका कडा प्रहार गोलमा परिणत भएको थियो।
मध्यान्तर हुनु ३ मिनेट अगाडि विशाल राईले गोल गरे। रन्जित धिमालको पासमा उनले विपक्षी डि बक्स भित्र पाएको 'वान भर्सेस वान' अवसरमा गोल गरेका हुन्।
लिगमा राखिएका अभिषेक रिजाल र रवि पासवानलाई हटाएर पहिलो रोजाईमा विशाई राई र सुनिल बललाई राखेर नेपालले खेल सुरु गरेको थियो।
जहाँ टोलीले खेल सुरु भएदेखि नै एकपछि अर्को आक्रमण बुनेको थियो।
'दोस्रो हाफ'मा पनि नेपाली खेलाडीहरुले आक्रमणलाई निरन्तरता दिएका थिए।
तर खेलको ८२ औं मिनेटमा बाङ्ग्लादेशका मेहबुब रहमानले कर्नरमा प्राप्त बलमा हेडबाट गोल फर्काए।
लिगको दुबै खेलमा नेपालले गोल गर्न नसकेपछि अग्रपंक्तिका खेलाडीका साथै प्रशिक्षक बालगोपाल महर्जनको आलोचना भएको थियो।
तीन राष्ट्र सम्मिलित प्रतियोगितामा कीर्गिस्तान (यु-२३) को टोली भने बाङ्ग्लादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।
त्रिदेब गुरुङ, सञ्जोग राई र निशान खड्काले यसै प्रतियोगिताबाट पहिलो पटक राष्ट्रिय टोलीको जर्सी (डेब्यु) लगाएका छन्।
डेढ वर्षपछि गोल
नेपालले डेढवर्ष अगाडि चाइनिज ताइपेईलाई २ गोलले हराएपछि गोल गर्न सकेको छैन। त्यो दुबै गोल अञ्जन विष्टले गरेका थिए।
त्यसयता नेपालले ७ अन्तर्राष्ट्रिय म्याच खेलिसकेको छ ।
यसअघि दशरथ रंगशालामा नेपाल र बाङ्ग्लादेशले दुईपटक फाइनल खेलिसकेका छन्। ।
जसमा १९८४ मा भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को पहिलो संस्करणमा नेपाल ४-२ ले जितेको थियो ।
आठौं सस्करण (१९९९) को दक्षिण एसियाली खेलकुदमा भने नेपाल फाइनलमा नेपाल ०-१ ले हारेको थियो।
गतवर्ष कोरोना कालमा नेपालले बाङ्ग्लादेशमा गएर दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एक खेल गोलरहित बराबरी अनि अर्को खेलमा नेपाल ०-२ ले हारेको थियो।
सन्यास
यसै खेल मार्फत नेपालका सफल खेलाडी मध्येका एक विराज महर्जनले सन्यास लिए।
उनी ८७ औ मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदानमा प्रवेश गरेका थिए।
१३ वर्ष राष्ट्रिय टोलीबाट खेलेका उनी ७३ पटक राष्ट्रिय जर्सीमा मैदानमा देखिए।
रक्षापंक्तिबाट खेल्ने उनले राष्ट्रिय टोलीका लागि एक गोल समेत गरेका छन्।
उनी नेपालको सफल कप्तान मध्येका एक हुन्।
१८ खेलमा कप्तानी गर्ने क्रममा उनले देशलाई बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद (साग) र एएफसी सोलिडारिटी कपको उपाधी दिलाएका थिए।
गतवर्ष देखि भने उनी राष्ट्रिय टोलीमा पर्न संघर्ष गरिरहेका थिए।