अरब राजकुमारहरूको 'यौन भोक बढाउन' पाकिस्तानमा हुन्छ दुर्लभ मोती चराको सिकार

    • Author, सहेर बलोच
    • Role, बीबीसी उर्दू, पास्नी

सन् १९८३ मा दक्षिणपश्चिम पाकिस्तानको एउटा सानो तटीय नगर पास्नीस्थित गाडी भाडामा दिने एउटा कार्यालयमा दुई सैनिक अधिकृत आए।

एक जनाले कार्यालयका साहूलाई सोधे: "के तपाईँसँग राम्रो कार छ? हामीलाई एक अरब शेखलाई पान्जगुर लैजानुछ।"

उनले छ भने अनि आफ्नो छोरा हनिफलाई गाडी देखाउन अह्राए।

उक्त गाडी राजकुमार सुरुर बिन मोहम्मद अल-नाह्यानको निम्ति थियो। उनी संयुक्त अरब इमिरेट्सका छ राजपरिवारमध्ये एउटाका सदस्य थिए। उनी दुर्लभ हुबारा बस्टार्ड अर्थात् मोती चराको सिकार गर्न पास्नीबाट १०० किलोमिटरभित्र पान्जगुर जान चाहन्थे। उक्त पन्छीको मासुलाई कतिपयले यौन उत्तेजक औषधि ठान्छन्।

शेखलाई गाडी मन पर्‍यो। अनि उनले त्यतिखेर ३१ वर्षका हनिफलाई पनि सँगै लगे। हाल हाजी हनिफ भनेर चिनिने हनिफको त्यो बेलादेखि लामो मित्रता सुरु भएको थियो। सैँतीस वर्षदेखि अहिलेसम्म पनि हरेक वर्ष मोती चराको सिकार गर्न आउने राजपरिवारका सदस्यहरूलाई उनी सघाउँछन्।

लजालु स्वभावका यी पन्छी आकारमा टर्की चराजत्रै हुन्छन्। यिनको सङ्ख्या लगातार घटिरहेको छ त्यसैले यिनको सिकार विवादास्पद बनेको छ - तर अझै पनि रमाइलोका निम्ति तिनको सिकार गरिन्छ।

पाकिस्तानका शक्तिशाली स्वार्थ समूहहरूले यो गोप्य रूपमा गरिने सिकारको समर्थन गर्छन्। दशकौँदेखि चलिरहेको यस्तो सिकारलाई खाडीका धनी देशका प्रभावशाली व्यक्तित्वहरूसँग सम्बन्ध विस्तारको एउटा माध्यम बनाइएको छ। यस्ता सिकारको समर्थन गर्नेहरूले यसबाट रोजगारी तथा लगानी भित्रिने तर्क गर्छन्।

तर यसबाट पाकिस्तानले खासमा के फाइदा पाउँछ भन्ने प्रष्ट छैन। सिकार अभियानमा सहभागी केही व्यक्तिका अनुसार राजपरिवारका सदस्यहरूले यस्ता भ्रमणलाई केवल व्यक्तिगत मनोरञ्जनको रूपमा लिन्छन्।

प्रत्येक वर्ष नोभेम्बर र फेब्रुअरीको बीचमा हाजी हनिफले बलोचिस्तान प्रान्तस्थित रणनीतिक महत्त्वको ग्वादार बन्दरगाहबाट पूर्वतर्फ एक घण्टाको दूरीमा रहेको सो स्थानमा शाही समूहहरूको स्वागत गर्छन्।

यो जाडो यामको सिकार मौसम सकिनुअघि उनले बीबीसीलाई डाकेर राजपरिवारहरूका निम्ति उनी तथा उनका कर्मचारीहरूले गरेका मिहिन तयारी देखाएका थिए। स्थानीय मानिसहरूलाई अझै पनि आधारभूत सुविधा नै उपलब्ध हुन नसकेको पास्नीजस्तो स्थानमा उनीहरूका निम्ति विलासितापूर्ण तयारी भएको देखिन्छ।

हामीलाई दुईजना मानिसहरूले भेटेर एअरपोर्ट रोडबाट केही किलोमिटर पर रहेको हाजीको भव्य महलतर्फ लगेका थिए। ती मानिसहरूको जीप यूएईमा दर्ता भएको देखिन्थ्यो। हामीलाई त्यहाँ पुग्दा अबु धाबीकै कुनै ठाउँमा पुगेको जस्तो अनुभूति भयो।

त्यो अनुभूति त्यतिखेर झनै प्रबल भयो जतिखेर हामीले त्यहाँको घरमा प्रवेश गर्ने बेला अबु धाबीका राजपरिवारको निसान देख्यौँ।

सिकार गर्न आउने राजपरिवारका सदस्यहरूले दर्जनौँ स्थानीय मानिसहरूलाई रोजगारी दिन्छन्। हामी त्यहाँ पुग्दा शेखको फाल्कन अर्थात् बाज व्यवस्थापनमा व्यस्त केही पुरुषहरू देख्यौँ। अरू मानिस चाहिँ भान्साकोठा सफा गर्दै थिए वा त्यहाँको ग्यारेजमा राखिएका गाडीहरूको मर्मत गर्दै थिए।

खाकीको पोसाक लगाएका एक जनाले हामीलाई अतिथिगृहमा लगे जहाँ अत्तरको मगमग सुगन्धले हाम्रो स्वागत गर्‍यो।

"हाम्रो महल कस्तो लाग्यो?" सोफामा बसिरहेका हाजी हनिफले सोधे।

अहिले ६० वर्षको उमेर कटेका हाजी निकै रोचक कुरा गर्छन्। वरपर देखाउँदै उनले वर्षौँदेखि भएका शेखहरूको भ्रमणको वर्णन गरे।

"त्यो बेला हामीले उनलाई गाडी उपलब्ध गरायौँ। त्यसपछि उनी फेरि हामीकहाँ आए। सन् १९८८ तिर आइपुग्दा म र मेरा बुवाले शेखका निम्ति २० वटा गाडीहरू व्यवस्थापन गर्न थाल्यौँ। उनले हामीलाई विश्वास गरे।"

पास्नीका निम्ति त्यस्ता भ्रमणले करिब ३५ जना स्थानीय बासिन्दालाई रोजगारी दिलाएको छ। भ्रमण हुनुभन्दा तीन महिना अगाडिदेखि उनीहरूको काम सुरु हुन्छ।

बाज तथा परेवाको हेरचाह गर्ने, तिनलाई प्रशिक्षण दिने काममा कतिपय लाग्छन् भने तीन जना त शेखका निम्ति उमारिएका कागतीको बगैँचाको रेखदेखमा खटिन्छन्। लुगा धुनका निम्ति अर्का एक जना खटाइएका छन्।

अरूहरू खाना पकाउने तथा सरसफाइमा सहभागी हुन्छन्। एकजना मानिसलाई मोटरसाइकलमा चढेर वरपर नजिकै कतै मोती चराहरू छन् कि भनेर हेर्न खटाइन्छ। त्यसो गर्दा शेखहरूले सिकारका निम्ति टाढा जान पर्दैन।

हाजी हनिफका तीन छोराले पनि उनलाई सहयोग गर्छन्।

जेठा छोराले ग्यारेज तथा शेखका निम्ति जुटाइएका २० वटा एसयूभी गाडी रेखेदेख गर्छन्। माहिला छोरा उनका अङ्गरक्षक हुन् र सुरक्षा मामिला हेर्छन्। कान्छाले चाहिँ स्थानीय मानिसहरूले मोती चराको सिकार नगरून् अनि तिनको विक्रीवितरण नगरुन् भनेर निश्चित गर्ने कार्य गर्छन्।

पाकिस्तानले राजपरिवारहरूलाई सन् १९७३ देखि निम्त्याउन थालेको हो। उनीहरूका कैयौँ समूह जाडोयाममा दक्षिण पश्चिम बलोचिस्तान आइपुग्ने मोती चराको सिकार गर्न आइपुग्छन्।

सन् १९८९ सम्म आइपुग्दा उक्त अभियानलाई प्रान्तीय सरकारले इस्लामाबादका केन्द्रीय अधिकारीहरूसँग मिलेर व्यवस्थित बनाउन थाल्यो।

त्यसअनुसार यूएईका राजपरिवारका निम्ति पास्नी, पान्जगुर र ग्वादार छुट्ट्याइएको छ। कतारका शेखहरूका निम्ति अवरन जिल्लाको झल झाओ इलाका छुट्ट्याइएको छ भने साउदी अरबका राजपरिवारका निम्ति चघी क्षेत्र छुट्ट्याइएको छ।

सन् १९७० ताका शाही समूहहरू मोती चरा जता हुन्छन् त्यतै शिविर खडा गरेर बस्थे। सिकार करिब एक साता चल्थ्यो। चरा मारेर उनीहरूले त्यहीँ पकाएर खान्थे र फर्किन्थे।

तर दक्षिण पश्चिम बलोचिस्तानमा वर्षौँदेखि जारी पृथक्तावादी गतिविधिका कारण उत्पन्न सुरक्षा चिन्ताले गर्दा अचेल सुनसान क्षेत्रमा शिविर खडा गर्नु सुरक्षित हुँदैन। त्यसैले राजपरिवारका सदस्य अधिकांश समय होटेल वा उनीहरूको इच्छानुसार बनाइएका घरहरूमा बस्छन् - हनिफको घरजस्तै। त्यहाँबाट केही मिनेटको गाडी यात्राबाट मरुभूमि गएर पहिल्यै सहयोगीहरूले पत्ता लगाइसकेका मोती चराको सिकार गर्छन्।

परम्परागत रूपमा बाजले मोती चरालाई लखेट्छ - अनि मोती चरालाई पक्रिएपछि घाँटी चुँडाएर मारिन्छ। सिकारीहरूले गोली हानेर पनि मार्छन्। अचेल चोरीसिकारको चिन्ताका कारण सहयोगीहरूले पहिले दुर्लभ मोती चरा समात्छन् अनि शाही सिकारीहरू आइपुगेपछि मात्र तिनलाई छाडिदिन्छन् ताकि बाजले लखेट्न सकोस्।

मोती चराको सिकार लामो समयदेखि विवादित रहेको छ।

कुनै बेला ती पन्छीहरू अरब प्रायःद्वीपमा प्रशस्त हुन्थे। तर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आईयूसीएनको अनुमानमा अब ती पन्छीहरूको सङ्ख्या विश्वभरि जम्मा ५० हजारदेखि एक लाखमा सीमित भएको छ। तिनलाई जोखिममा परेका प्रजाति राखिने रातो सूचीमा राखिएको छ।

पाकिस्तानमा धेरै मानिसहरूले यस्ता सिकारलाई 'मालिक'हरूलाई खुसी पार्ने काम भन्दै रुचाउँदैनन्। तर कतिपयले चाहिँ यसले पाकिस्तानको ती देशसँग भातृत्वपूर्ण सम्बन्ध विस्तार हुने ठान्छन्। केही दशकयता पाकिस्तानले ती धनी देशहरूबाट ठूलो मात्रामा ऋण तथा लगानी पाइरहेको छ।

पाकिस्तानको विदेश मन्त्रालयका एक पूर्वप्रवक्ताले यो 'लज्जाजनक' गतिविधि अन्त्य गर्ने उनीहरूले प्रयत्न गरे पनि सफल नभएको बताए। उनका अनुसार सरकारभित्र रहेका धेरैलाई पनि यस्ता सिकार भ्रमणको कूटनीतिक उपयोगिता नभएको लागे पनि शक्तिमा आसीन व्यक्तिहरूले यसलाई चलिरहन दिएका छन्।

गत २५ वर्षको पाकिस्तान-यूएई सम्बन्ध नियाल्ने हो भने पाकिस्तानले खासै केही नपाएको उनले बताए।

गत वर्षको जाडो याममा यूएईका राजकुमारको भ्रमणलाई पाकिस्तानले व्यग्रतापूर्वक प्रतीक्षा गर्‍यो। सो भ्रमणले दुई देशको सम्बन्धमा हालै उत्पन्न केही समस्या समाधान हुने ठानियो। सन् २०२० मा यूएईले पाकिस्तानका नागरिकलाई त्यहाँ काम गर्न प्रवेशाज्ञा नदिइने देशहरूको सूचीमा राखिदिएको थियो। पाकिस्तानमा भित्रिने विप्रेषण आम्दानीका निम्ति यूएई एक प्रमुख स्रोत देश रहँदै आएको छ।

यूएईको सो कदमलाई विश्लेषकहरूले पाकिस्तानमाथि इजरेलको हैसियत तथा कश्मीर विवादलाई लिएर गरिएको एक किसिमको दबावको रूपमा अर्थ्याए। प्रधानमन्त्री इमरान खान र उनको मन्त्रिपरिषद्ले त्यस्ता विश्लेषण स्वीकार्दैनन्। उनीहरूले यूएईसँग सम्बन्धमा कुनै समस्या नरहेको बताउँछन्।

जे होस् सिकार भने जारी रहने देखिन्छ।

पाकिस्तानको सर्वोच्च अदालतले सिकार भ्रमण रोक्ने प्रयास गरेको थियो तर सन् २०१५ लगाइएको प्रतिबन्ध एक वर्षमै खुला गरियो। प्रतिबन्ध जारी रहेकै समयमा पनि सरकारले विशेष अनुमति दिएर सर्तसहित सिकार सञ्चालन हुन दिएको थियो।

हाजी भन्छन् पास्नीका निम्ति शेखहरूको भ्रमण राम्रो रहेको छ। उनी स्वयंको निम्ति त राम्रो हुने नै भयो।

हनिफ भन्छन् शेखले स्थानीय बासिन्दालाई रोजगार मात्र दिने होइन त्यहाँ इनार खन्नेदेखि स्कूल तथा औषधालयहरू पनि खोलिदिएका छन्। तर ती स्कूलमा शिक्षक छैनन् अनि औषधालयमा औषधि तथा कर्मचारी छैनन्।

"शेखले बनाइदिने मात्र हो। कर्मचारी पनि त्यहाँ राखिदिन सक्दैनन्। त्यो काम त प्रान्तीय सरकारले गर्नुपर्छ।"

हाजीलाई आफ्ना छोराहरूले पनि यही काम गरून् भन्ने चाहिँ लाग्दैन।

"म त शेखको सेवक हुँ तर मेरा सन्तानले पनि यही गरून् भन्ने मलाई चाहना छैन। उनीहरू आफ्नै बाटो हिँड्नुपर्छ। व्यापार गर्नुपर्छ र आफ्नो नाम राख्नुपर्छ।

"मैले मेरो जीवन मलाई मन पर्ने काममा लगाएँ। यसमा म खुसी छु।"