म्यान्मार कू: सैनिक शासनविरुद्धको आन्दोलनमा एक नेपालीभाषी बर्मेलीको मृत्यु

म्यान्मारमा सैन्यशासनविरुद्ध आन्दोलन
    • Author, दीपक भट्टराई
    • Role, याङ्गुन, बीबीसी न्यूज नेपालीका लागि

म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका छन्।

उत्तरी म्यान्मारको एउटा सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि ४२ वर्षीय सानोभाइ विश्वकर्माको शव उनको परिवारलाई बुझाइएको छ। प्रदर्शनकारीहरूले उनको हत्या भएको आरोप लगाएका छन्।

विश्वकर्मालाई सुरक्षाकर्मीले पाँच दिनअघि गिरफ्तार गरेका थिए। त्यसपछि नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधखोज गरेको जानकारी म्यान्मारस्थित नेपाली पत्रकार ज्ञानबहादुर थापा बगालेले जानकारी दिएका छन्।

सोधखोजको क्रममा विश्वकर्मालाई पक्राउ नगरिएको सुरक्षाकर्मीहरूले दाबी गरेका थिए। तर आइतवार सुरक्षाकर्मीले उनको शव परिवारलाई बुझाएको थियो।

म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा करिब १०० को सङ्ख्यामा नेपालीभाषी छन्।

गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि अन्य भागमा जस्तै चीन र म्यान्मारको व्यापारिक नाका मुसेमा पनि दैनिक विरोध प्रदर्शन भइरहेको छ।

शवसँगै सुरक्षाकर्मीले विश्वकर्माको न्याश्नल लीग फर डिमोक्रसी (एनएलडी) को सदस्यताको परिचयपत्र पनि परिवारलाई बुझाएको छ। आङ सान सू चीको दल एनएलडी बर्माको सबैभन्दा ठूलो राजनीतिक दल हो। उक्त दलले तीन महिना अगाडि सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत पाएको थियो।

चुनावमा धाँधली भएको भन्दै सेनाले म्यान्मारमा सैनिक शासन लगाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यान्मारको कूले त्यहाँका नेपालीभाषीलाई कस्तो असर पर्ला?

सुनको गहना बनाउने काम गर्दै आएका मृतक विश्वकर्माका श्रीमती र पाँच छोरा छन्।

परिवारलाई बुझाइएको शवमा धेरै घाउचोट भएकाले सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनलाई कुटपिट गरेर हत्या गरेको आरोप प्रदर्शनकारीले लगाएका छन्।

पत्रकार बगालेका अनुसार प्रहरीथानाभित्रै विश्वकर्माको मृत्यु भएको हुनुपर्छ। विश्वकर्माजस्तै म्यान्मारका विभिन्न स्थानमा पक्राउ परेका अन्य प्रदर्शनकारीको पनि प्रहरीले केही दिनपछि आफन्तलाई शव बुझाउने गरेको छ।

खिन माङ लाटको शवपेटिका

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, खिन माङ लाटको अन्तिम संस्कार आइतवार गरियो

यागुन पेबेडानमा एनएलडीका स्थानीय नेता खिन माङ लाटको त्यसरी नै प्रहरी हिरासतमा हत्या गरिएको आरोप एनएलडीले लगाएको छ। शनिवार राति पक्राउ गरिएको खिन माङ लाटको शव आइतवार उनको परिवारलाई बुझाइएको थियो।

विश्वकर्माको जन्म मुसेनजिकै अवस्थित गाउँ नाम्टुमा भएको हो। त्यहाँ नेपालीभाषीको बाक्लो बस्ती छ। विगतमा फलाम खानीको लागि प्रख्यात नाम्टुमा काम गर्न नेपालीहरू १०० वर्षदेखि नै बर्मा आउने गर्थे।

मुसेमा बसोबास गर्ने नेपालीभाषीले मृतक विश्वकर्माको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेका छन्। उनको अन्त्येष्टिमा भएको खर्च मुसेस्थित गोर्खाली समाजले बेहोरेको पत्रकार बगालेले जानकारी दिए।

म्यान्मारमा सैनिक कूपछि अहिलेसम्म सुरक्षाकर्मीको कारबाहीमा ५० जनाभन्दा धेरै मानिसको मृत्यु भएको म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ।

देशभरिबाट स्तब्ध बनाउने तस्बिर र भिडिओ प्राप्त भइरहेको जानकारी म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन स्क्रानर बर्गनरले दिएकी छन्। प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दै आएका छन्।

म्यान्मारमा सैन्यशासनविरुद्ध आन्दोलन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सैन्य शासनविरुद्ध आयोजित विरोधप्रदर्शनमा मृत्यु भएका मानिसको सम्मानमा शनिवार एउटा कार्यक्रम गरिएको थियो

सैनिक सरकारले भने हिंसात्मक प्रदर्शनविरुद्ध सुरक्षाकर्मीले न्यूनतम बल प्रयोग गरेको बताउँदै आएको छ।

सैनिक शासनविरुद्ध प्रदर्शन चर्किँदै जाँदा देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुने गरेको छ। दुई पक्षबीच झडप हुँदा सयौँको सङ्ख्यामा प्रदर्शनकारी र केही सुरक्षाकर्मी घाइते भएका छन्।

झडपपछि अस्पताल पुर्‍याइएका घाइते तथा मृतकका तस्बिर र भिडिओ अस्पतालबाट बाहिरिन थालेपछि सुरक्षानिकायले आइतवारदेखि देशका विभिन्न भागका अस्पताल र अन्य स्वास्थ्यकेन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।

Protesters in Mandalay protected themselves with shields on Sunday

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, म्यान्डलेमा आन्दोलनकारीहरूले आइतवार आफू सुरक्षित हुनेगरी प्रदर्शन गरेका थिए

याङ्गुन मान्डलेसहितका ठूला सहरमा सुरक्षाकर्मीहरू पक्राउ गर्न आउन नसकून् भन्दै मूल सडकबाहेक भित्री सडकमा स्थानीयवासीले अनेक प्रकारका बार र पर्खाल लगाउने गरेका छन्।

त्यस्तै हरेक राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यूका बेला सुरक्षाकर्मीको प्रतिकार गर्न प्रदर्शनकारीहरूले नागरिक सुरक्षा समूह तयार पारेका छन्। देशैभरि टोलटोलमा बनाइएका त्यस्ता समूहले रात्रिकालीन सुरक्षा दिने गर्छन्।

माघ १९ यता आन्दोलनमा सहभागी १,७०० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। उनीहरूमध्ये धेरैलाई कहाँ राखिएको छ भन्ने कुनै पत्तो नभएको तिनका नातेदार तथा आफन्तले बताउने गरेका छन्।

दैनिक रूपमा भएका विरोधप्रदर्शनमा सैनिक शासनको अन्त्य र आङ सान सूचीसहित अन्य नेता र निर्वाचित जनप्रतिनिधिहरूलाई रिहा गर्न माग प्रदर्शनकारीहरूले गर्ने गरेका छन्।

राष्ट्रसङ्घ, अमेरिका, यूके, युरोपेली युनियनसहितका अन्तर्राष्ट्रिय समुदायले सेनालाई दमन नगर्न दबाव दिँदै आएका छन्। तर सैन्य नेतृत्वले आफ्नो कदमको प्रतिरक्षा गर्दै आफू "वास्तविक अनुशासित प्रजातन्त्रको पक्षमा" भएको बताउने गरेको छ।

म्यान्मारमा सैन्यशासनविरुद्ध आन्दोलन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरूले नेत्री आङ सान सू ची तथा अन्य नेताहरूलाई मुक्त गर्न माग गरेका छन्

बर्गनरले सेनाका उपप्रमुखसँगको संवादमा संयुक्त राष्ट्रसङ्घले कडा कदम चाल्ने चेतावनी दिँदा "हामीले हाम्रा मित्रहरूसँग मात्र हिँड्न जानेका छौँ" भन्ने प्रतिक्रिया पाएको बताइन् ।

सेनाले एक वर्षको सङ्कटकाल लगाएको छ र मंसिरमा भएको चुनावको परिणामलाई निष्क्रिय पारिदिएको छ।

सङ्कटकालको अन्त्य भएपछि देशमा "स्वतन्त्र र निष्पक्ष" निर्वाचन गराइने सेनाले बताएको छ।

झन्डै पाँच करोड ४० लाख जनसङ्ख्या भएको म्यान्मारमा एक लाख २५ हजारको हाराहारीमा नेपालीभाषी भएको नेपालीभाषीको साझा संस्था अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घले बताउँदै आएको छ।

यस पटकको प्रजातान्त्रिक आन्दोलनमा नेपालीभाषीहरू पनि अग्रमोर्चामा देखिन्छन्।

देशभरि प्रदर्शनकारीहरूको आह्वानमा नागरिक अवज्ञा आन्दोलन पनि भइरहेको छ । त्यस्तो अवज्ञा आन्दोलनमा केही सुरक्षाकर्मीसहित सरकारी कर्मचारी पनि आन्दोलनमा सहभागी भएका छन्।

आन्दोलनमा संलग्न हुने सरकारी कर्मचारी र सुरक्षाकर्मीमध्ये गोर्खालीहरू पनि भएको जानकारी साहित्यकार तिलक पोख्रेलले जानकारी दिए।