तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेत्रविक्रम चन्द 'विप्लव': अन्तिम पटक देखिएको सार्वजनिक कार्यक्रममा उनले के भनेका थिए
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' शुक्रवार औपचारिक रूपमा सार्वजनिक हुन लाग्दा उनी अन्तिम पटक कहिले देखिएका थिए भन्नेबारे कतिपयले जिज्ञासा राखेको देखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।
२०७५ सालको फागुन अन्तिम सातातिर सरकारले सो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।
सो पार्टी सम्बद्ध नेता तथा कार्यकर्ताका अनुसार करिब साढे तीन वर्षअघि उनी काठमाण्डूमा आयोजित कार्यक्रममा उपस्थित भएका थिए।
अन्तिम पटक
"अक्टोबर क्रान्ति सय वर्ष पुगेको अवसरमा २०७४ कार्तिक ८ गते काठमाण्डूको खुलामञ्चमा पार्टीद्वारा आयोजित कार्यक्रममा उहाँ सहभागी हुनुभएको थियो," राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले शुक्रवार बीबीसी न्यूज नेपालीसित भने।
"त्यसपछि संसदीय चुनाव पनि भयो, उहाँ जनताका बीचमा जानुभयो। खुला कार्यक्रममा उहाँ आउनुभएन।"
त्यति बेला खुलामञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चन्दले खासगरी आफ्ना पूर्वसहयात्रीद्वय प्रचण्ड तथा डा. बाबुराम भट्टराईको चर्को आलोचना गरेका थिए।
सो क्रममा उनले "दलाल पूँजीपतिविरुद्ध आमजनतालाई साथमा लिएर सङ्घर्ष गर्ने" घोषणा गरे।
कार्यक्रममा नेपाली कांग्रेसको पनि आलोचना गरेका चन्दले संसदीय व्यवस्था "पूर्ण रूपमा असफल" भइसकेको दाबी गरेका थिए।
सरकार र चन्द नेतृत्वको नेकपाबीच बिहीवार तीन बुँदे सहमति भएपछि शुक्रवार दिउँसो उनी पहिलो पटक औपचारिक रूपमा सार्वजनिक हुँदैछन्।
सरकारी वार्ता टोलीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले एउटै मञ्चबाट समारोहलाई सम्बोधन गर्नेछन्।
सो पार्टीनिकट एक नेताका अनुसार सरकारले हेलिकप्टरमार्फत् उनलाई काठमाण्डू ल्याउने प्रस्ताव गरे पनि नवलपरासीबाट गाडी चढेर आउने जबाफ दिएका थिए।
चन्द नेतृत्वको पार्टीले वर्तमान संविधान र शासन प्रणाली नमान्ने बताउँदै आएको छ।