तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बालबालिका अपहरणः नाइजिरियामा बालबालिका किन अपहरणमा पर्छन्?
नाइजिरियाको उत्तर-पश्चिमी जम्फारा राज्यबाट सयौँ स्कुले बालिकाहरू अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ।
त्यहाँका एकजना शिक्षकले बीबीसीसँग कुरा गर्दै गत शुक्रवार बिहान बन्दूकधारीहरूले गरेको हमलापछि कम्तीमा ३०० जना छात्राहरू हराइरहेका बताएका छन्।
उक्त राज्यको गभर्नरका प्रवक्ताले त्यस्तो हमलाको पुष्टि गरेका छन् तर उनले थप विवरणहरू दिएनन्।
हालकै हप्ताहरूमा भएको सामूहिक अपहरणका घटनामा यो पछिल्लो हो।
त्यहाँका सशस्त्र समूहहरूले बालबच्चाहरू अपरहण गरेर लगी प्रायःजसो तिनका आमाबुबाहरूबाट पैसा माग्ने गर्दछन्।
गत हप्ता छिमेकको नाइजर राज्यस्थित कगारा भन्ने स्थानबाट २७ जना विद्यार्थी सहित अपहरणमा परेका ४२ जनालाई अझै मुक्त गरिएको छैन।
गत डिसेम्बर महिनामा ३०० जना भन्दा बढी केटाहरू काट्सिना राज्यको कन्काराबाट बन्दूकधारीहरूको अपहरणमा परेका थिए र तिनीहरूलाई वार्तापछि मुक्त गरिएको थियो।
सन् २०१४ मा इस्लामिष्ट उग्रवादी बोको हरामले उत्तर-पूर्वको चिबोक नगरबाट २७६ जना स्कुले बालिकाहरूलाई अपहरण गरेर लगेपछि त्यो घटनाले विश्वव्यापी चर्चा पाएको थियो।
साथै त्यसले नाइजिरियाले सामना गर्न परिरहेको बढ्दो सुरक्षा चुनौतीलाई पनि छर्लङ्ग पारिदिएको थियो।
नाइजिरियामा बालबालिका किन अपहरणमा पर्छन्?
उत्तरी नाइजिरियामा बन्दूकधारीहरूले हरेक पटक बालबालिकाहरूलाई अपहरण गरेर लग्दा चिबोक किशोरीहरूको चर्चा अवश्य हुने गर्छ।
बीबीसीकी नाइजिरिया सम्वाददाता मायेनी जोन्स भन्छिन्, "त्यो घटनाअघि पनि बन्दूकधारीहरूले त्यस क्षेत्रमा हमला गरेर बच्चाहरू अपहरण गर्ने गर्दथे। तर ती घटनाहरूले ठूलो चर्चा पाएका थिएनन् र बालिकाहरूको अपहरण हुने गर्दैन थियो।"
"तर उक्त घटनाले जुन प्रकारको ठूलो चर्चा पायो त्यसबाट सशस्त्र समूहहरूलाई बालबालिकाहरूको सामूहिक अपहरण हुँदा सरकार र अधिकारीहरूमाथि ठूलो दबाब सिर्जना गर्न सकिने रहेछ भन्ने लागेको हुनु पर्दछ," मायेनी जोन्स भन्छिन्।
"त्यसपछि त्यसरी अपहरणमा परेकाहरूलाई मुक्त गर्न पैसा माग्ने गतिविधि पनि बढेको देखिन्छ तर अधिकारीहरूले त्यस्तो रकम भुक्तानी हुने गरेको अस्वीकार गर्ने गर्दछन्।"
यस्ता घटनाहरू रोक्नकालागि सरकारसँग कुनै रणनीति भएको जस्तो नदेखिएको उनको भनाइ छ।