कोरोना भाइरस भारतः के कोभिड महामारी अन्त्य हुन लागेको हो?

तस्बिर स्रोत, Reuters
भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै घट्नु नाटकीय हो कि हैन?
मध्य सेप्टेम्बरमा १० लाख जनाभन्दा बढी मानिस सक्रिय सङ्क्रमित थिए। त्यसपछि क्रमश: उक्त सङ्ख्या घट्दै गयो।त्यसयता स्थितिमा निकै सुधार आएको छ।
गत साताको मध्यदेखि त सङ्क्रमितको सरदर दैनिक सङ्ख्या नै १०,००० मा घट्यो पुग्यो।
त्यसै अवधिमा भारतका आधाभन्दा बढी राज्यमा एउटा पनि कोभिडसम्बन्धी मृत्यु अभिलेखमा आएन।
दश महिनामा पहिलो पटक मङ्गलवार दिल्लीमा समेत मृत्यु हुनेको सङ्ख्या शून्यमा झर्यो।
मिशिगन विश्वविद्यालयमा बायोस्ट्याटिस्टिक्स र एपिडीमीयोलजीका प्राध्यापक ब्रह्म मुखर्जीले भने, "अझ पनि भारतमा 'हर्ड इम्यूनिटी' अर्थात् सामुदायिक रोगप्रतिरोध क्षमताको अवस्थाबाट टाढै छ।"

तस्बिर स्रोत, Reuters
उनले भारतमा किन सङ्क्रमण तीव्र रूपमा घट्यो भन्ने प्रश्नको स्पष्ट उत्तर तत्काल नपाइने बताए।
हर्ड इम्यूनिटीबाट किन टाढा
पछिल्लो सीरो सर्भेले भारतमा २१ % वयस्क र २५% बच्चाहरूमा भाइरस सङ्क्रमण भइसकेको देखाएको छ।
त्यसैगरी झुपडीबस्तीमा ३१%, सहरी बस्तीमा २६% र ग्रामीण क्षेत्रमा १९% मा भाइरसविरुद्ध एन्टिबडी भेटिएको छ अर्थात् त्यति प्रतिशतमा सङ्क्रमण भइसकेको छ।
त्यसो भए किन सङ्ख्या घटेको छ?
विज्ञहरूले फरकफरक कारणहरू हुनसक्ने बताएका छन्।
भाइरसविज्ञ डा. शाहिद जमील भन्छन्, "मलाई लाग्छ सर्भेले देखाएका भन्दा धेरै जनामा सङ्क्रमण भएको हुन सक्छ। दिल्ली, मुम्बई, पुने र ब्याङ्लोरजस्ता सहरमा ६०% सम्म मानिसहरू सङ्क्रमित भएका पाइएको छ।"
अर्को विश्लेषण छः धेरै मानिसहरूमा सङ्क्रमणको लक्षण देखा परेको छैन या सामान्य मात्रै देखिएको छ र त्यस्ता धेरै व्यक्ति गणना हुनबाट छुटेका छन्।
महामारीको अध्ययन गरिरहेका दिल्लीस्थित सेन्टर फर पलिसी रिसर्चका पार्थ मुखोपाध्याय भन्छन्, "यदि ठूलो सङ्ख्यामा सामान्य या लक्षण नदेखिएका सङ्क्रमित छन् भने पनि किन भारतमा त्यस्तो हुन पुग्यो भन्ने विश्लेषण गर्नुपर्नेछ। त्यसैका कारण सामुदायिक प्रतिरोधात्मक क्षमता पो विकास भएको छ कि ?"










