तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल पर्यटन: किन अझै विदेशीलाई अन-अराइभल भिसा खोलिएको छैन
कोभिड-१९ महामारीलाई कारण देखाउँदै रोकिएको विमानस्थलमै दिइने प्रवेश अनुमति अर्थात् अन-अराइभल भिसा अझै खुला नगरिँदा त्यसले पर्यटन र उड्डयनजस्ता क्षेत्रमा लामो समयसम्म असर देखिने भन्दै चिन्ता व्यक्त भएका छन्।
नेपाल सरकारका अधिकारीहरूले भने पछिल्लो समय देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार (भेरिअन्ट)ले गर्दा आफूहरू उक्त व्यवस्थाको भविष्यबारे अझै 'पर्ख र हेर'को अवस्थामा रहेको बताएका छन्।
यतिखेर नेपाल आउन चाहने पर्यटकहरूले विदेशस्थित नेपाली नियोगबाटै भिसा लिएर आउनुपर्छ। तर विश्वका साढे दुई दर्जन देशमा मात्र नेपाली नियोग छन्।
तेस्रो मुलुकका पर्यटकका लागि स्थलमार्गहरू समेत अझै खुला गरिएको छैन।
नयाँ प्रकार देखिएका ब्रिटेन र दक्षिण अफ्रिकाबाट आउनेहरू नेपाल प्रवेश गर्दा १० दिनसम्म क्वारन्टीनमा बस्ने होटल बुकिङ्ग पहिल्यै गरेको हुनुपर्ने व्यवस्था छ।
अन्य देशबाट आउनेका हकमा समेत सोही व्यवस्था गरिएका भए पनि त्यसमा कडिकडाउ गरिएको देखिँदैन।
अन्योल
सरकारले पछिल्लो समय नेपालमा मूल भएका वा गैरआवासीय नेपाली एवम् कूटनीतिक र अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्ने व्यक्तिहरूलाई अनअराइभल भिसा खुला गरेको थियो।
त्यसअघि सन् २०२० मा लगातार ९ महिना नेपालमा विदेशीलाई आगमनमा कडिकडाउ गरिएको थियो।
त्यसबीचको ६ महिनामा नेपाल प्रवेश गर्ने विदेशीहरू १ हजार भन्दा कमको सङ्ख्यामा रहेको विवरण नेपाल पर्यटन बोर्डको छ।
नेपालमा धेरै पर्यटक आउने पश्चिमा देशहरूमा अझै लकडाउनका बीच खोप कार्यक्रमहरू सञ्चालन भइरहेको र नेपालको स्वास्थ्य मन्त्रालयले समेत अझै खुलाउन नसुझाइसकेकाले अनअराइभल भिसा सुरु नगरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन्।
प्रवक्ता अधिकारी भन्छन्, "नेपालमा त्यसको विस्तृत अध्ययन गर्ने संयन्त्र पनि छैन। अहिलेलाई चौतर्फी दबाव भइकन पनि मानिसहरूको स्वास्थ्य हाम्रो सर्वोत्तम चिन्ता र प्राथमिकतामा छ।"
कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट प्रतिनिधित्व गर्ने सरकारका सचिव महेन्द्र गुरागाईँले अझै फाटफुट मात्रामा नयाँ प्रकार देखिँदा आफूहरूमा अनअराइभल खुला गर्ने 'आत्मविश्वास' आइनसकेको बताउँछन्।
उनको भनाइ छ, "केही दिन अन्तर्राष्ट्रिय प्रवृत्ति हेरेर निर्णय लिइनेछ।"
'व्यवसाय चौपट हुनसक्छ'
नेपालमा एकजना विदेशी पर्यटकले औसत एक साताभन्दा कम समय बिताउने र औसत दैनिक ५० डलरभन्दा केही बढी खर्च गर्ने गरेको पाइन्छ।
जसले गर्दा भिसा लिने कठिनाइदेखि नेपालमा क्वारन्टीन बस्नेजस्ता थप बोझ लिएर पर्यटकहरू नआउने व्यवसायीहरूको भनाइ पाइन्छ।
होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्य भन्छन्, "अहिलेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी क्वारन्टीन बस्नका लागि कोही पनि विदेशी पर्यटक नेपाल घुम्न आउन सक्ने अवस्था छैन।"
व्यवसायीहरू के गर्नुपर्ने ठान्छन् त?
हानका महासचिव शाक्यको भनाइ छ, "पर्यटकहरू आजका भोलि आउने होइनन्। तर हामीले परिपक्व मापदण्ड बनाउनु पर्यो। खोप लगाएकाहरूबारे मापदण्डमा व्यवस्था हुनुपर्यो। बाहिर पीसीआर जाँच गरेर आएकालाई विमानस्थलमै अर्को पीसीआर गरेर क्वारन्टीन बस्नु नपर्ने गराउनु पर्यो।"
तर आउँदो बसन्त याममा हिमाल चढ्नका लागि भने 'केही लामो समय बिताउने' खालका पर्यटकहरू आउनसक्ने व्यवसायीहरूले आशा गरेका छन्।
त्यसैगरी आन्तरिक वायुसेवा कम्पनीहरू छिट्टो विदेशी आउने माहोल नबनाइने हो भने आफूहरूको 'व्यवसायमा जोगिन नसक्ने अवस्था आउन लागेको' बताउँछन्।
वायुसेवा सञ्चालक सङ्घ-नेपालका महासचिव मनोज कार्की भन्छन्, "अहिले नेपालीहरू मात्र सस्तो मूल्यमा बोकेर उड्नु त हाम्रो सास चलेको मात्र हो। हाम्रो कमाइ हुने त डलरमा तिरिने भाडाबाट नै हो। विदेशी आउने माहोल नबने ठप्पै हुनसक्ने धारमा उड्डयन व्यवसाय चलेको छ।"
विदेशी यात्रुका लागि डलरमा हुने उडानको भाडादर नेपालीले तिर्ने भाडाको झण्डै साढे दुई गुणासम्म महङ्गो पर्ने गर्छ।