सृष्टि गोस्वामी: भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री

तस्बिर स्रोत, SRISHTI GOSWAMI
भारतको उत्तराखण्ड राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी एक किशोरी एक दिनका लागि राज्यको मुख्यमन्त्री बनेसँगै उनको पूरै भारतभरि चर्चा चुलिएको छ।
सृष्टि गोस्वामी राष्ट्रिय बालिका दिवसको अवसरमा आइतवार प्रतीकात्मक रूपमा उत्तराखण्डकी मुख्यमन्त्री बनेकी हुन्।
यससँगै उत्तराखण्डले प्रतीकात्मक रूपै भए पनि प्रथम महिला मुख्यमन्त्री पाएको हो।
उनले विधानसभाको सत्रमा मुख्यमन्त्रीको हैसियतले सरकारका अलगअलग विभागहरूले गरेका कार्यबारे जानकारी लिइन्।
त्यस क्रममा विभिन्न सरकारी निकायका अधिकारीहरूले आफूहरूले गरेका कामबारे प्रस्तुति दिए भने सृष्टिले त्यसमा आफ्नो सुझाव दिइन्।
आइतवार मध्याह्न १२ बजेदेखि आयोजित कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि उपस्थित थिए।
मुख्यमन्त्री बनाउनुको उद्देश्य के?

तस्बिर स्रोत, SRISHTI GOSWAMI
"महिला सशक्तीकरणबारे जागरुकता फैलाउनका लागि" उत्तराखण्ड सरकारले सृष्टिलाई एक दिनका लागि मुख्यमन्त्री बनाएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बताइन्।
सामाजिक सञ्जालमा पोस्ट गरिएको आफ्नो भनाइमा सृष्टिले भनेकी छन्, "एक दिनका लागि मुख्यमन्त्री बन्ने मौका पाएकामा म निकै खुसी छु। उत्तराखण्ड सरकारका अलगअलग विभागहरूको प्रस्तुति पछि म उनीहरूलाई आफ्नो सुझाव दिनेछु। म खासगरी बालिकाहरूको सुरक्षासँग जोडिएका सुझाव दिनेछु।"
उनी रुड्कीस्थित बीएमएम पीजी कलेजमा बीएससी कृषिकी छात्रा हुन्। उनका पिता गाउँमा पसल चलाउँछन् भने उनकी आमा बालबालिका हेरचाह केन्द्रमा काम गर्छिन्।
सृष्टिकी आमाले भनिन्, "मलाई निकै गर्व महसुस भइरहेको छ। छोरीहरू सबै कुरा गर्न सक्छन्। उनीहरूलाई खुलेर साथ दिनुहोस्। उनीहरूको समर्थन गर्नुहोस्। उनीहरू कोहीभन्दा कम छैनन्। उनीहरू कुनै पनि स्थान प्राप्त गर्न सक्छन्।"
महिला सशक्तीकरणको प्रश्न

तस्बिर स्रोत, SRISHTI GOSWAMI
उत्तराखण्डमा महिला सशक्तीकरण र अधिकारका विषयमा काम गर्ने सङ्गठन र अधिकारकर्मीहरूले सृष्टिलाई प्रतीकात्मक रूपमा एक दिनका लागि मुख्यमन्त्री बनाउने कदमको स्वागत गरे पनि उनीहरूले केही प्रश्न पनि सोधेका छन्।
"प्रतीकात्मक रूपमा महिलाहरूको सशक्तीकरणका यस्ता प्रयास आफ्नो स्थानमा जरुरी छन् तर वास्तविक रूपमा महिलाहरूको सशक्तीकरणको विषय ज्यादा चुनौतीपूर्ण छ। उत्तराखण्ड राज्य बनेपछि पछिल्लो २० वर्षमा यहाँ नौ जना मुख्यमन्त्री सत्तामा रहेका छन्। मुख्यमन्त्री पदका लागि कहिल्यै पनि कुनै पनि महिलाको नाम समेत लिइएको छैन जबकि साँच्चै भन्नुपर्दा उत्तराखण्डका पहाडहरूका असली भार महिलाहरूको काँधमा छ," कुमाउँ विश्वविद्यालयको डीएसबी क्याम्पसकी प्रथम महिला महासचिव रहिसकेकी भारती जोशीले भनिन्।
सन् २००१ मा सार्वजनिक गरिएको बलीवुड चलचित्र नायकमा देखाइए जस्तै वास्तविक जीवनमा एक दिनकी मुख्यमन्त्री बनेकी १९ वर्षकी सृष्टि गोस्वामी भने उत्साहित देखिन्छिन्।








