भारतका सबैभन्दा चर्चित यौन विज्ञको निधन

डा. महिन्दर वात्सा

तस्बिर स्रोत, Atul Loke/Panos

समाचारपत्रमा छापिएका स्तम्भका कारण भारतका सहरी क्षेत्रमा चर्चित बनेका एक जना यौन विज्ञको ९६ वर्षको उमेरमा निधन भएको छ।

डा. महिन्दर वात्सा एक दक्ष प्रसूति तथा स्त्रीरोग विशेषज्ञ थिए र उनले एक दशकभन्दा लामो समयसम्म आफ्नो प्रसिद्ध स्तम्भ 'आस्क द सेक्सपर्ट' लेखेका थिए।

उनी हजारौँ भारतीयहरूका यौनबारेका प्रश्नहरूको जवाफमा रसिक र स्पष्ट खालका सुझाव दिने गर्थे।

उनका परिवारले जारी गरेको विज्ञप्तिमा डा. वात्साले आफ्नै सर्तमा सम्मानजनक जीवन बाँचेको उल्लेख गरिएको छ। मृत्यु भएको समयमा उनलाई कुनै रोग भए वा नभएको प्रस्ट छैन।

हजारौँका चासोको प्रत्यक्ष जवाफ

८० वर्षको उमेरमा उनले यौनबारे परामर्श दिने आफ्नो लोकप्रिय स्तम्भ मुम्बई मिरर अखबारमा प्रकाशन गर्न थालेका थिए।

भारतको अधिकांश घरमा अझै यौनबारेको छलफल वर्जित हुँदा उनको स्तम्भप्रति ह्वात्तै चासो बढेको थियो भने त्यसप्रति विरोध पनि भएको थियो।

उक्त अखबारका सम्पादक मिनल बागेल भन्छिन्, "हामीले उक्त स्तम्भ नछाप्दासम्म, भारतीय सञ्चारमाध्यमले एकाध पटक मात्रै पुरुष र महिलाका यौनाङ्गहरूको नाम बुझाउने शब्दहरू लेखेका थिए।"

छाडापनको आरोप सहित मुद्दा र घृणायुक्त भएका पत्रहरूको सामना गर्नुपरेको बताउने उनले उक्त स्तम्भका कारण अखबारले पाएको दुखभन्दा त्यसले पुर्‍याएको लाभ धेरै रहेको बताइन्।

"मिररमा मात्रै उनले २० हजार पाठकका प्रश्नहरूको जवाफ दिएका थिए। यौन परामर्शदाताका रूपमा त्यो सङ्ख्या ४० हजारभन्दा बढी थियो। यसमा उनको कारणले आफ्नो जीवनमा नजिकबाट परिवर्तनको अनुभव गरेका मानिसको सङ्ख्या समावेश गरिएको छैन।"

डा. महिन्दर वात्सा

तस्बिर स्रोत, Atul Loke/Panos

डा. वात्सालाई सबैभन्दा पहिला सन् १९६० को दशकमा एउटा महिलासम्बन्धी म्यागजीनमा स्वास्थ्यसम्बन्धी स्तम्भ लेख्नका लागि भनिएको थियो। त्यस बेला उनको उमेर ४० वर्ष पुग्न लागेको थियो।

"मसँग खासै अनुभव थिएन, त्यो मैले स्वीकार्नुपर्छ," सन् २०१४ मा बीबीसीलाई दिएको अन्तरवार्तामा उनले भनेका थिए।

उनले तत्कालै आफ्ना पाठकहरूले सोधेका अधिकांश प्रश्नहरू यौन शिक्षाका अभावका कारण उब्जिएको बुझे।

त्यसपछि उनले दीर्घकालीन रूपमा नै त्यसका लागि अभियान थाले। सुरुमा भारतको परिवार नियोजन सङ्घ एफपीए र पछि आफ्नै संस्था काउन्सील अफ सेक्स एजुकेशन एण्ड प्यारेन्टहुड इन्टर्न्याश्नलमार्फत उनले काम अघि बढाएका थिए।

सन् १९७४ मा एफपीएआईमा परामर्शदाताका रूपमा काम गर्ने क्रममा उनले यौन परामर्श र शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्न उक्त संस्थालाई सहमत गराएका थिए।

'यौन सुखद चीज'

उनले लेख्न सुरु गर्दा यौनसम्बन्धी कुरा खुलेर गर्न वर्जित थियो र धेरैले उनको सुझाव अश्लील भएको महसुस गरेका थिए।

कतिपय स्वास्थ्यकर्मीले त्यो अवैज्ञानिक भएको तर्क पनि गरेका थिए।

तर एफपीएआईले उनलाई समर्थन गर्‍यो र भारतको पहिलो यौन शिक्षा, परामर्श र थेरापी केन्द्रको स्थापना गरियो।

डा. वात्साले बीबीसीसँगको अन्तरवार्तामा भनेका थिए,"यौन सुखद चीज हो तर कैयौँ लेखकहरू स्वास्थ्यमा केन्द्रित बन्दा गम्भीर बनिदिन्छन्।"

उनी स्वयं चाहिँ पाठकका चिन्ता र जिज्ञासाका जवाफ रसपूर्ण अनि मायालु पाराले दिने गर्थे।