कोरोना भाइरसः यूकेसँगको यात्रा प्रतिबन्ध हटाउन ईयूद्वारा सदस्य राष्ट्रहरूलाई आग्रह

तस्बिर स्रोत, EPA
युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको छ।
ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको एउटा बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो। सदस्य राष्ट्रहरूले त्यो मान्नैपर्ने बाध्यता चाहिँ छैन।
सीमा नियन्त्रणसम्बन्धी आ-आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन्।
यसअघि सप्ताहान्ततिर फ्रान्सले यूकेसँग जोडिएका सिमाना बन्द गर्दा दुई देशबीच सामान ओसारपसार गर्ने हजारौँ लरीहरू अलपत्र परे।
ईयूका सदस्य राष्ट्रबीच साझा नीतिको अभाव
लगभग ईयूका सबै २७ सदस्य राष्ट्रले यूकेबाट हुने यात्रामा अहिले प्रतिबन्ध लगाएका छन्।
साझा नीति अवलम्बन गर्ने प्रयासमा ईयूको आकस्मिक बैठकहरू बस्दै आएका छन्।
कोभिड-१९ को परीक्षण गराउने वा फर्केर एकान्तवासमा जाने प्रतिबद्धता जनाउने नागरिकलाई आ-आफ्नो देश फर्कन दिन ईयूका सदस्य राष्ट्रलाई युरोपेली आयोगले एउटा वक्तव्यमार्फत् सिफारिस गरेको छ।
यद्यपि अत्यावश्यक नपरेको अवस्थामा गरिने यात्राहरूलाई निरुत्साहित गर्नुपर्नेमा उसले जोड दिएको छ।

तस्बिर स्रोत, Reuters
ईयूभित्र यातायात क्षेत्रमा काम गर्ने लरी चालकजस्ता मानिसको हकमा यात्रा प्रतिबन्ध र अनिवार्य परीक्षणको व्यवस्था गर्न नहुने आयोगको भनाइ छ।
यूकेबाट फ्रान्स र ईयूका अरू सदस्य राष्ट्र जानका लागि चाहिँ कोरोनाभाइरस परीक्षण गराएको हुनुपर्ने उसको भनाइ छ।
फ्रान्स र यूकेबीच कस्तो स्थिति छ?
फ्रान्स र यूकेबीच भएको पछिल्लो सहमतिअनुसार दुई देशबीच कार्गो र केही यात्रुसेवा पुनः सञ्चालनमा आउने भएका छन्।
लरी चालक तथा ईयूका नागरिकले यात्रा गर्न पाउनेछन्। तर उनीहरूले कोरोनाभाइरस परीक्षण गराएको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ।

तस्बिर स्रोत, Reuters
हवाई, डुङ्गा तथा युरोस्टार रेलसेवा बुधवारदेखि पुनः सञ्चालनमा आउनेछन्।
अरू ककसले यात्रा प्रतिबन्ध लगाए?
यूकेबाट गरिने यात्राको हकमा युरोपभित्र मात्रै प्रतिबन्ध सामना गर्नुपरेको छैन, विश्वका ५० भन्दा बढी मुलुकले यात्रामाथि प्रतिबन्ध लगाएका छन्।
संयुक्त राज्य अमेरिकाले यूके र केही अरू देशमा पछिल्लो १४ दिनदेखि बस्दै आएका गैरअमेरिकी नागरिकमाथि प्रवेशमा रोक लगाएको छ।
साउदी अरब, कुवेत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन्।
डेनमार्कका साथै अस्ट्रेलिया, इटली र द नेदरल्यान्ड्समा पनि कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









