क्यानडामा भेटिएको ब्वाँसोको शिशुको परिरक्षित शरीर '५६ हजार वर्ष पुरानो'

ब्वाँसोको छाउरी

तस्बिर स्रोत, Government of Yukon via EurekAlert!

उत्तरी क्यानडामा भेटिएको ब्वाँसोको शिशुको ममी अर्थात्‌ परिरक्षित शरीर कम्तीमा ५६,००० वर्ष पहिलाको भएको वैज्ञानिकहरूले बताएका छन्।

यूकन क्षेत्रमा पर्ने डावसन नगरनजिकै दशौँ हजार वर्षदेखि जमिरहेको स्थानमा सुन उत्खनन गर्ने एक व्यक्तिले सन् २०१६ मा ब्वाँसोको पोथी बच्चाको उक्त ममी फेला पारेका थिए।

त्यसपछि स्थानीय ट्रोन्डेक ह्वेचइन समुदायका मानिसहरूले त्यसको नाम ज्हुर राखे। स्थानीय भाषामा ज्हुरको अर्थ ब्वाँसो हुन्छ।

वैज्ञानिकहरूका अनुसार यो "जानकारीमा भएकामध्ये ब्वाँसोको पूर्ण रूपमा परिरक्षित शरीर" हो। त्यसको छाला, रौँ र दाँत जस्ताको तस्तै छन्।

"मुख्यतः ऊ शत प्रतिशत जस्ताको तस्तै छे, नभएको भनेको उसका आँखा हुन्," प्रमुख लेखिका तथा आयोवाको डेमोइन विश्वविद्यालयस्थित एनाटमी विषयकी प्राध्यापक जुली मिचेनले युरेकएलर्ट साइन्स न्यूज वेबसाइटलाई बताएकी छन्।

विभिन्न विधिको प्रयोग गरी अध्ययन टोली उक्त शिशु ब्वाँसोको जीवन, उसको उमेर तथा मृत्यु निम्त्याउने सम्भावित खाना आदि पक्षबारे निर्क्योल गर्न सफल भएको छ।

शरीर

तस्बिर स्रोत, Government of Yukon via EurekAlert!

करेन्ट बायोलोजी नामक जर्नलमा सोमवार प्रकाशित अध्ययनअनुसार उक्त छाउरी र उसकी माउले माछासहितका "समुद्री वस्तु" खाएका थिए।

ब्वाँसोको डीएनएबाट प्राप्त डेटाको तुलना गरेर तथा त्यसको दाँतमा रहेको इनामेलको विश्लेषण गरेर अध्ययन टोलीले त्यो छाउरीको जन्म र मरण ५६,००० देखि ५७,००० हजार वर्षअघितिर भएको जनाएको छ।

यूकन वा छिमेकी अलास्का क्षेत्रमा तुलनात्मक रूपमा प्राचीन ब्वाँसाका जीवाशेष भेटिने गरे पनि ठूला स्तनधारी जनावरहरूको ममी पाउनु विरल भएको अध्ययनको निष्कर्ष छ।

एक्सरे

तस्बिर स्रोत, Government of Yukon via EurekAlert!

"हामीलाई लाग्छ ऊ [ब्वाँसोकी छाउरी] भ्वाङभित्र थिई र त्यो अचानक भत्किँदा ऊ त्यहीँ भित्र मरी," प्राध्यापक मिचेनले भनेकी छन्।

"हाम्रो डेटाले देखाएअनुसार ऊ भोकले मरेकी थिइन र मर्ने बेला ऊ झन्डै सात हप्ताकी थिई। अतः लामो समय उसलाई पीडा नभएको कुरा थाहा पाएर हामीलाई अलिकति सान्त्वना भएको छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजिप्टमा एकै ठाउँ तीन शताब्दी पुराना ३० वटा ममी