यी हुन् नयाँ अध्यादेश अनुसार बसेको संवैधानिक परिषद्‌को बैठकले सिफारिस गरेका विभिन्न आयोगका पदाधिकारी

संवैधानिक परिषद् बैठक

तस्बिर स्रोत, PM Secretariat

तस्बिरको क्याप्शन, गत साता नयाँ अध्याधेश जारी भएपछि संवैधानिक परिषद्को बैठक बसेको थियो

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याइएकै दिन गत मंसिर ३० गते साँझ बसेको उक्त परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित अन्य संवैधानिक आयोगका पदाधिकारी सिफारिस गरेको बुझिएको छ।

उक्त परिषद्का एकजना सदस्यले दिएको जानकारी अनुसार अख्तियारको प्रमुख आयुक्तमा भूतपूर्व गृहसचिव प्रेमकुमार राई सिफारिस भएका छन्।

उनलाई प्रधानमन्त्री ओलीको 'विश्वासपात्र कर्मचारी'को रूपमा चिनिन्थ्यो।

त्यस्तै आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल सिफारिस भएको ती सदस्यले जानकारी दिए।

चन्द संवैधानिक परिषद्‌मा सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवानिकट भनेर चिनिएका व्यक्ति हुन्।

देउवा प्रधानमन्त्री रहेका बेला चन्दलाई प्रहरी प्रमुख बनाइएको थियो तर पछि सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो।

यद्यपि अध्यादेश राष्ट्रपतिले स्वीकृत गर्नुअघि सोही दिन गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएको बैठकमा सहभागी भएका देउवा उक्त सिफारिस हुने बैठकमा सहभागी थिएनन्।

पदाधिकारी सिफारिस गर्ने बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीसहित सदस्यद्वय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए।

अख्तियारमा आयुक्त सिफारिस भएका किशोरकुमार सिलवाल पोखरा उच्च अदालतका कामु मुख्य न्यायाधीश हुन्।

परिषद्का सदस्य सभामुख अग्निप्रसाद सापकोटा पनि उक्त बैठकमा सहभागी थिएनन्।

अन्य आयोगमा को-को सिफारिस भए?

बीबीसीसँग कुराकानी गरेका ती सदस्यका अनुसार निर्वाचन आयोगका रिक्त आयुक्तहरूमा अधिवक्ता रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरलाई सिफारिस गरिएको छ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र सदस्यहरूको सिफारिस पनि उक्त बैठकले गरेको छ।

आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर र सदस्यहरूमा मनोज दुवाडी, सूर्य ढुङ्गेल, लिली बस्नेत, मिहिर ठाकुर सिफारिस भएको ती सदस्यले बताए।

त्यस्तै वित्त आयोगको रिक्त सदस्य पदमा जुद्धबहादुर गुरूङ र अमरबहादुर मिश्र सिफारिस भएका छन्।

महिला आयोगको अध्यक्षमा कमला पराजुली र सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा सिफारिस भएका छन्।

परिषद्‍ले मधेशी आयोग रिक्त सदस्यहरूमा जिवछ शाह, रेणुदेवी शाह र विजय गुप्तालाई सिफारिस गरेको छ।

यसैगरी आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापालाई सिफारिस गरिएको छ।

थारू आयोगमा रिक्त सदस्यहरूमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह चौधरी र भोलाराम थारूलाई सिफारिस गरिएको ती सदस्यले बताए।