केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा संसद् विघटन गर्न सिफारिस

तस्बिर स्रोत, PM Secretariat
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइतवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री वर्षमान पुनले बीबीसीलाई बताएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो।
नेपालको संविधानमा विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा वा प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा बाहेक संसद् विघटनसम्बन्धी स्पष्ट प्रावधान छैन।
सत्तारूढ नेकपामा विद्यमान आन्तरिक विवादका माझ प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव लगेका हुन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालले ओलीलाई पार्टी तथा सरकार स्वेच्छाचारी तथा एकपक्षीय ढङ्गमा चलाएको आरोप लगाउँदै आएका थिए।
तीन वर्षअघि मङ्सिरमा दुई चरणमा सम्पन्न निर्वाचनमा ओली नेतृत्वको तात्कालिक नेकपा एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका थिए। सरकार गठन भएको केही समयपछि ती दुई दलको एकीकरण भएको थियो।
ओलीले शनिवार प्रचण्डसँग भेटघाट गरेका थिए।

तस्बिर स्रोत, PM Secretariat
सत्तारूढ दल गम्भीर सङ्कटमा परेको देखिएका बेला ओली र प्रचण्डबीच भएको छलफलमा नेकपा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाले प्रधानमन्त्रीलाई उक्त अध्यादेश फिर्ता लिन दबाव दिएको थियो।
त्यसमा सहमति व्यक्ति गरेको बताइएको भए पनि प्रधानमन्त्रीले त्यसो नगरी संसद् विघटन गर्ने प्रस्ताव लगेका हुन्।

तस्बिर स्रोत, Reuters
के भन्छ संविधान?
नेपालको संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकालबारे उल्लेख गरिएको छ।
उक्त धाराको उपधारा (१) मा भनिएको छः यस संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ।
मन्त्रिपरिषद् गठनबारे उल्लेख भएको संविधानको धारा ७६ को उपधारा (७) मा भनिएको छः
उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनको मिति तोक्नेछ।
के छ दलभित्रको अवस्था?
झन्डै अढाई वर्षअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि फरकफरक पार्टीको नेतृत्वमा रहेका ओली र दाहाल दुवै एकीकृत दलका अध्यक्ष बने। तर अधिकार बाँडफाँटबारे बारम्बार उनीहरूबीच विवाद हुँदै आएको छ।
तेस्रो समूहको नेतृत्व गरिरहेका माधव नेपालसहितका नेताहरू प्रचण्डसँग नजिक हुँदा नेकपाको शक्तिशाली भनिएको स्थायी समिति र शीर्ष नेताहरू भएको सचिवालय दुवैमा प्रधानमन्त्री अल्पमतमा छन्।
नेपाल पक्षधर नेताहरू ओलीलाई नहटाई सच्चिन दबाव दिनुपर्ने पक्षमा देखिएपछि उनको राजीनामा माग्दै आएका प्रचण्डपक्षीय नेताहरूले त्यसलाई थाती राखेका थिए।
तर अध्यादेश प्रकरणपछि दलभित्र ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि फेरि देखिएको थियो।
नेकपामा सहमति र विवादको शृङ्खला
- असोज १७, २०७४: तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच छबुँदे सहमति, निर्वाचनमा सहकार्य गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा
- मंसिर २०७४: प्रतिनिधिसभा निर्वाचनमा एमाले-माओवादी केन्द्रको मोर्चालाई झन्डै दुईतिहाइ बहुमत, ६ प्रदेशमा संयुक्त सरकार
- फागुन ७, २०७४: एमाले-माओवादी केन्द्रबीच एकता अघि बढाउने लगायत सातबुँदे सहमति, एकीकृत पार्टीको नाम नेकपा राख्ने निश्चय
- जेठ ३, २०७५: पार्टी एकताको औपचारिक घोषणा, चुनाव चिह्नआदि विषयमा आठबुँदे निर्णय
- जेठ २०७६: आलोपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमतिबारे ओली र प्रचण्डबीच विवाद सुरु
- भदौ १, २०७६: पार्टीमा माधव नेपालको तेस्रो वरीयता खोसिएपछि ओली र नेपाल पक्षबीच तिक्तता सुरु
- मंसिर ४, २०७६: ओलीले नै पाँच वर्ष सरकार चलाउने सहमति, प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष
- असोज २५, २०७७: प्रचण्ड निकटस्थ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता
- कात्तिक ४, २०७७: ओली र प्रचण्डबीच चारबुँदे सहमतिपछि शाहीविरुद्ध प्रस्तुत अविश्वास प्रस्ताव फिर्ता
- कात्तिक २२, २०७७: पार्टीको बैठक बोलाउन लिखित माग लिएर प्रचण्डपक्षीय नेताहरू बालुवाटार पुगेपछि विवाद उत्कर्षमा
- पौष १, २०७७: मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको भोलिपल्ट नेकपाको स्थायी समितिको बैठक, उक्त अध्यादेश फिर्ता लिने र संसद्को विशेष अधिवेशन बोलाउन भन्दै नेकपाकै केही सांसदहरूले राष्ट्रपतिसमक्ष गरेको निवेदन फिर्ता लिने 'सर्वसम्मत निर्णय'











