नेकपा विवाद: सचिवालय बैठकमा प्रचण्डद्वारा चारवटा दस्तावेज पेस, प्रधानमन्त्री ओलीप्रति ‘असन्तुष्टि’ व्यक्त

तस्बिर स्रोत, Surya Thapa/Twitter
दलका शीर्ष नेताहरूबीच बढेको विवादका माझ शुक्रबारबाट सुरु भएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले चारवटा दस्तावेज पेस गरेका बताइएको छ।
त्यसमा प्रचण्ड सहित पाँच जना शीर्ष नेताले सचिवालयको बैठक गर्न आग्रह गर्दै प्रधानमन्त्री केपी ओलीलाई पठाएको पत्र र त्यसको जवाफमा अरू नेतालाई बोधार्थ दिँदै प्रधानमन्त्रीले प्रचण्डलाई पठाएको जवाफ पनि रहेको बताइएको छ।
नेकपाका एक नेताले बीबीसीलाई बताए अनुसार ओलीले पठाएको पत्रलाई प्रचण्डले दिएको प्रत्युत्तर र पार्टीको पछिल्लो विवाद र समाधानबारे चर्चा गरिएको राजनीतिक प्रतिवेदन पनि बैठकमा वितरण गरिएको छ।
उनका भनाईमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकताको प्रक्रिया, पार्टीभित्र उठेका समस्याहरू र त्यसमा विभिन्न पक्षका भनाई र पार्टी एकता सम्पन्न गर्न गर्नुपर्ने काम जस्ता विषय समेटिएको छ।
प्रतिवेदनमा प्रधानमन्त्रीले काम गर्न नसकेको भन्दै "प्रचुर असन्तुष्टि" जनाइएको छ।
ती प्रस्तावबारे के हुन्छ?
ती प्रस्तावबारे आगामी मंसिर ३ गते बस्ने सचिवालय बैठकमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताए।
प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबारको बैठकले पार्टी भित्र देखिएको संकट र त्यसको निवारणबारे कार्यसूची तय गरेर छलफल गर्ने निष्कर्ष निकालेको छ।
उनले भने, "त्यो एजेण्डामा छलफल गर्नका लागि अहिलेको बैठक सहमतिमा बस्न कार्यकारी अध्यक्ष सहित हामी पाँच जनाले गरेको अनुरोध पत्र, त्यसको जवाफमा अध्यक्ष केपी ओलीले अध्यक्ष प्रचण्डलाई लेख्नुभएको पत्र र पार्टीमा उत्पन्न संकटको प्रकृति र त्यसको समाधानको उपायका बारेमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्ताव सबै आजको बैठकमा वितरण गरिएको छ।"
यसअघि कार्यकारी अध्यक्ष प्रचण्ड सहित सचिवालयका पाँच सदस्यले पार्टी भित्र बढेको मतभेदबारे छलफल गर्न बैठक राख्न गरेका माग प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै आएका विवरण आएका थिए।
नेकपामा दुई अध्यक्षबीचको सहमतिमा पार्टीका महासचिवले बैठकको संयोजन गर्ने अभ्यास रहेको बताइन्छ।
पछिल्ला दिनहरूमा प्रचण्ड पक्षले विभिन्न गुटका बैठक गर्दै सरकार र आफूविरूद्ध षडयन्त्र गरेको आरोप प्रधानमन्त्रीले लगाउने गरेको विवरणहरू आइरहेका छन्।

तस्बिर स्रोत, Surya Thapa/Twitter
यसै हप्तामात्रै सार्वजनिक रूपमै प्रधानमन्त्री ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका थिए।
आरोप प्रत्यारोप
प्रचण्ड पक्षले चाहिँ ओलीले 'पार्टीको निर्णयको अवज्ञा गरिरहेको र बैठक बस्नै नमानेको' आरोप लगाइरहेका छन्।
अघिल्लो शुक्रबार सचिवालयको अनौपचारिक भनिएको बैठकपछि प्रचण्ड सहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई पत्र नै लेखेर बैठक गर्न माग गरेका थिए।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठको जवाफ पठाउँदै 'गुटबन्दी' गरिरहेको आरोप लगाएको विवरण आएका थिए।
उक्त पत्र प्रचण्डलाई साथ दिइरहेका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल अनि सचिवालय सदस्यहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि बोधार्थ दिइएको भनिएको छ।
ओलीको पत्रको जवाफमा प्रचण्डले पठाएका पत्रमा रहेका विवरण प्रकाशमा आइसकेको छैन।
प्रधानमन्त्री ओलीले ती एजेण्डाहरूमा "पहिला सचिवालय बैठकमा छलफल गरौँ र त्यसपछि मात्र के गर्ने टुङ्गो लाग्छ" भन्नेबाहेक अरू धारणा नराखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
उक्त कार्यसूचीमा शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँट सहितका विषयमा उत्पन्न विवाद हल गरेको यसअघिको स्थायी कमिटिको निर्णयको कार्यान्वयन, कोभिड-१९ र त्यसले पैदा गरेको स्वास्थ्य र आर्थिक संकटको सम्बोधन, कर्णाली प्रदेशमा मुख्यमन्त्री फेर्ने विषयलाई लिएर उत्पन्न विवाद, भारतीय गुप्तचर निकाय 'रअ' का प्रमुखको नेपाल भ्रमण लगायतका विषय समेटिएको उनको भनाइ छ।








