कोरोना भाइरस यूकेः नयाँ प्रकारबारे अध्ययन गर्दै विश्व स्वास्थ्य सङ्गठन

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

ब्रिटेनमा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार वा 'नयाँ भेरीअन्ट'बारे ब्रिटिश अधिकारीहरूसँग छलफल भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ।

ब्रिटिश सरकारका अनुसार यो नयाँ प्रकार अहिले लन्डनमा देखिएका अधिकांश सङ्क्रमितमा फेला परेको छ।

नयाँ प्रकारको कोरोनाभाइरस साविकको भन्दा ७० प्रतिशत धेरै सङ्क्रामक हुने ठानिएपछि त्यसको सङ्क्रमणको गति नियन्त्रण गर्न ब्रिटिश सरकारले राजधानी लन्डन तथा वरपरका क्षेत्रमा कडा लकडाउनको घोषणा गरेको छ।

क्रिसमस पर्वको बेला कोभिड नियन्त्रणका लागि गरिने कडाइ खुकुलो पारिने यसअघिको योजना अब उल्ट्याइएको छ।

इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस ह्विटीले नयाँ प्रकारको कोरोनाभाइरस थप घातक भएको चाहिँ कुनै प्रमाण फेला नपरेको बताएका छन्।

नयाँ म्यूटन्ट स्ट्रेन अर्थात् उत्परिवर्तित प्रकारको एउटा मामिला आफ्नो देशमा पनि भित्रिएको पाइएपछि नेदरल्यान्ड्सले ब्रिटेनबाट आउने यात्रुवाहक विमानसेवामा रोक लगाएको छ।

के भने प्रधानमन्त्री जोन्सनले?

प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ स्ट्रीटमा बोल्दै थप कडिकडाउका समाचार निराश पार्ने खालका भएपनि त्यसको विकल्प नभएको बताएका छन्।

"जब भाइरसले आफ्नो प्रकार बदल्छ तब हामीले पनि आफ्नो रक्षाका तरिका बदल्नुपर्छ," उनले भने।

क्रिसमस

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, क्रिसमस पर्वको अगाडि लकडाउनमा कडाइ गरिएको छ

अहिले अत्यन्त कठिन समय भएपनि खोपका कारण आगामी वर्षको ईस्टर पर्वको समयमा स्थिति निकै सुध्रिसक्ने उनले बताए।

प्रधानमन्त्री जोन्सनले नयाँ विश्लेषणहरूबाट नयाँ प्रकारको भाइरसले सङ्क्रमणको गति नाप्ने 'आर नम्बर' ०.४ को अनुपातले बढाइदिन सक्ने ठानिएको बताए।

अझै 'निकै अनिश्चय' बाँकी भएपनि यो नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशत छिटो फैलिन सक्ने ठानिएको पनि उनले बताए।

भाइरसमा यस्ता खालका परिवर्तन आउनु सामान्य मानिन्छ। सुरुमा वुहानमा देखा परेयता कोरोनाभाइरसमा हजारौँ परिवर्तन भइसकेको बताइन्छ।

लन्डनमा देखिएको पछिल्लो परिवर्तनले सङ्क्रमणलाई बढाइरहेका केही सङ्केत देखा परेको स्वास्थ्य संवाददाता निक ट्रिगलको भनाइ छ।

नोभेम्बरको मध्यसम्म लन्डनका २८ प्रतिशत मामिलामा यो नयाँ प्रकारको भाइरस देखिएको थियो भने अहिले त्यो सङ्ख्या ६० प्रतिशत नाघेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?