काठमाण्डूसहित देशैभरि असाध्य चिसो बढ्नुका यी हुन् प्रमुख तीन कारण

केही दिनयता राजधानी काठमाण्डू उपत्यकासहित देशका सबैजसो क्षेत्रमा चिसो निकै बढेको अनुभव गरेको धेरैले बताइरहेका छन्।

मौसमविद्हरूका अनुसार पनि देशका पहाडी र तराई दुवै क्षेत्रमा अहिले चिसो बढ्दो क्रममा रहेको छ।

शनिवार बिहान काठमाण्डूको न्यूनतम तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएको छ।

यद्यपि काठमाण्डूका हकमा यो तापक्रम अघिल्लो दिनको भन्दा केही बढी हो।

शुक्रवार काठमाण्डूमा १ दशमलव ६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

तरामा हुस्सु बढ्दो

महाशाखाका अनुसार अहिले तराइ क्षेत्रमा पनि बिहान बाक्लो हुस्सु लाग्ने क्रम बढेको छ।

त्यसले तापक्रम कम गर्नुका साथै भिजिबिलिटी पनि न्यून भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिवार सबैभन्दा कम भिजिबिलिटी भैरहवाको देखिएको छ। त्यहाँ ५० मिटरभन्दा कम भिजिबिलिटी रहेको थियो।

देशका तापक्रम मापन केन्द्रहरू रहेका विभिन्न क्षेत्रमध्ये शनिवार जुम्लाको तापक्रम सबैभन्दा कम रेकर्ड भएको छ।

त्यहाँ शनिवार बिहान माइनस ७ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।

चिसो बढ्नुका प्रमुख कारणहरू

मौसमविद्का अनुसार अहिले देशैभरी चिसो बढ्नुका विभिन्न कारणहरू रहेका छन्।

उनीहरू हरेक वर्ष यो याममा यसैगरी चिसो बढ्ने गरेको बताउँछन्।

महाशाखाले आगामी सोमवारदेखि पश्चिमी क्षेत्रमा थप चिसो बढ्ने पूर्वानुमान गरेको छ।

आगामी चौबीस घण्टामा पनि तापक्रममा हल्का गिरावट आउने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले आग्रह गरेको छ।

त्यस्तै बिहानीपख लाग्ने हुस्सुका कारण यातायात सेवा प्रभावित हुनसक्ने उसको पूर्वानुमान छ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले देशैभरि चिसो बढ्नुका प्रमुख तीन कारणहरू:

१. उत्तर-पश्चिमी वायुको प्रभाव

अहिले नेपालमा उत्तर-पश्चिम दिशाबाट आएको वायु सक्रिय रहेको छ।

उक्त वायुको प्रकृति सुक्खा र चिसो हुने भएकाले त्यसले तापक्रम निकै कम गराउन भूमिका खेल्छ।

यो हावा चलेका बेला त्यसलाई रोक्ने बादल पनि हुँदैन किनकी यसमा पानीका कणहरू पनि हुँदैनन्।

त्यसले आकाश सफा हुन्छ र चिसो झन् बढ्छ।

विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा उक्त वायुकै कारण अहिले चिसो ह्वात्तै बढेको हो।

यो वायुको प्रभाव आगामी सोमवारदेखि अझै बढ्नै पूर्वानुमान रहेको छ।

सोमवारदेखि केही दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका क्षेत्रमा चिसो थप बढ्नसक्ने देखिएको छ।

२. मौसमी कारण

हरेक वर्ष जाडो मौसममा दिनहरू छोटा हुने गर्छन्।

छोटा दिनको अर्थ हो- सूर्योदय ढिलो हुनु र सूर्यास्त चाँडै हुनु।

अहिले नेपालमा सूर्योदय ढिलो हुँदै गइरहेको छ। तर केही दिनदेखि सूर्यास्त जाडो हुने क्रम अब कम हुँदै गएको छ।

करिब एक मिनेट सूर्यास्त ढिलो भइसकेको छ। त्यसले गर्दा साँझ वा रातको समयको तापक्रम अब क्रमश: बढ्न थाल्छ।

तर सूर्योदय जाडो हुने क्रम सुरु नहुन्जेल बिहानको तापक्रम घट्ने क्रम रोकिँदैन।

बिहानीपख चिसो हुने क्रम अझै केहीदिन चल्ने देखिन्छ।

३. हुस्सु र कुहिरो

विशेषगरी तराइ तथा समथर उपत्यका क्षेत्रमा बिहान हुस्सु लाग्ने गर्छ।

यस्तो हुस्सुका कारण न्यूनतम भन्दा पनि अधिकतम तापक्रममा गिरावट आउँछ।

एकतर्फ उत्तर-पश्चिमी चिसो र सुक्खा वायुको प्रभावले न्यूनतम तापक्रम घट्नु र अर्कोतर्फ हुस्सुका कारण अधिकतम तापक्रम घट्नुले समथर क्षेत्रमा धेरै चिसो हुन गएको हो।

तराइमा एकाध दिनमै शीतलहर नै चलिहाल्ने जस्तो त देखिएको छैन।

तर हुस्सु बढ्दै गएकाले त्यो लामो समयसम्म रह्यो भने शीतलहर पनि चल्नसक्छ।

तराइ र उपत्यकाजस्ता समथर क्षेत्रमा चिसो बढ्नुमा अन्य कारणका साथै हुस्सुको पनि प्रमुख भूमिका रहन्छ।