तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेकपा विवाद: ओली-प्रचण्ड वार्तामा वामदेव गौतमको 'अर्थपूर्ण' उपस्थिति
पार्टी विवादका बीच नेकपाको कार्यकारी अध्यक्षको हैसियत पाएका पुष्पकमल दाहाल प्रचण्ड बारम्बार प्रधानमन्त्री निवास बालुवाटार पुग्ने गरेका थिए। तर शनिवार प्रधानमन्त्री केपी शर्मा ओली उनकै निवास पुगेर छलफल गरेका छन्।
नेकपा गम्भीर सङ्कटमा परेको देखिएका बेला ओली र प्रचण्डबीच भएको छलफलमा नेकपा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सुरुको १०-१५ मिनेट दुई अध्यक्षबीच केहीबेर छलफल भएपछि उपाध्यक्ष गौतम पुगेका थिए।
त्यसपछि दुवै अध्यक्षबीच भएको छलफलमा गौतम सहभागी थिए।
ओली र गौतमपछि प्रचण्ड-नेपाल छलफल
करिब एक घन्टा भएको प्रधानमन्त्रीसँगको छलफल लगत्तै प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छुट्टै परामर्श गरेका छन्
प्रचण्डलाई भेट्न नेता नेपाल उनकै निवास पुगेका थिए। उनीहरूबीचको छलफल पनि सकिएको छ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पार्टीमा देखिएको विवादबारे जारी छलफलको निरन्तरताको रूपमा दुवै अध्यक्षबीच वार्ता भएको बताए।
उनले भने, "पहिले बालुवाटारमा छलफल हुन्थ्यो आज खुमलटारमा भएको हो। विषय र अडान उही हो। सहमति भइसकेको छैन।"
उनका अनुसार प्रधानमन्त्रीले पार्टी बैठकमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेज फिर्ता लिन आग्रह गरेका छन् भने प्रचण्ड त्यसबारे बैठकमै छलफल गरेर टुङ्गो लगाउने अडानमै छन्।
पार्टीभित्रको विवाद निकै गहिरिएको देखिएका बेला दुई अध्यक्षबीच भएको छलफल निर्णायक मोडमा पुगेको ठानिएको छ।
कतिपयले उपाध्यक्ष गौतमको उपस्थितिलाई त्यसैको सङ्केत मानेका छन्।
'वामदेव गौतमको सहजीकरण'
प्रधानमन्त्री ओलीले हालैको स्थायी कमिटी बैठकमा नेता गौतमलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको समाचारहरू आएका थिए।
उनले यसअघि पनि त्यस्तै प्रस्ताव गरेका थिए। तर राष्ट्रिय सभाका सदस्य रहेका गौतमको निम्ति प्रधानमन्त्री बन्न संवैधानिक अप्ठेरो छ।
त्यसैले उनलाई कसरी र कहिले प्रधानमन्त्री बनाउने भन्ने विषयमा गौतमलाई नै साक्षी राखेर प्रधानमन्त्री ओलीले प्रचण्ड समक्ष 'निर्णायक प्रस्ताव' राखेका पो हुन् कि भन्ने अनुमान पनि गरिएको छ।
तर गौतमका एकजना सहयोगी पत्रकार विश्वमणि सुवेदीले 'त्यसबारे केही कुरा नभएको र दुई अध्यक्षबीच देखिएको विवाद हल गर्न सहजीकरण गरेको' जानकारी गौतमले दिएको बीबीसीलाई बताए।
खुमलटारबाट निस्किएर प्रधानमन्त्री विवादमा तटस्थ रहेका भनिएका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्य रामबहादुर थापाको सरकारी निवास पुगेका थिए।
'जबरजस्ती सरकार परिवर्तन गर्दा त्यसले अस्थिरता निम्त्याउँछ' भन्ने पक्षमा रहेका भनिएका गृहमन्त्री थापाले पार्टी बैठकमा प्रधानमन्त्रीलाई नै सहयोग पुग्ने खालको मत राख्ने गरेको समाचारहरू आउने गरेका छन्।
पछिल्लो विवादमा गौतम भने खुलेर प्रचण्डलाई साथ दिएको देखिएको छ। बैठक बोलाउन हस्ताक्षर गर्ने पाँचजना सचिवालय सदस्यमा उनी पनि छन्।