तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मन्त्रिपरिषद् बैठक सम्पन्न, चासो संवैधानिक परिषद्को बैठकमा
आकस्मिक रूपमा डाकिएको मन्त्रिपरिषद्को बैठक नियमित विषयमा सीमित भएर सकिएको एकजना मन्त्रीले जानकारी दिएका छन्।
संवैधानिक परिषद्लगत्तै बसेको बैठक नियमित भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।
कतिपयले संवैधानिक परिषद्को बैठक दोस्रो पटक पनि औपचारिक रूपमा हुन नसकेकाले 'त्यसको गाँठो फुकाउन कतै अध्यादेश ल्याइने त होइन?' भन्ने अनुमान र आशङ्का प्रवाह भएका थिए।
"तर त्यसबारे कुनै छलफल नै भएन," मन्त्री त्रिपाठीले हाँस्दै भने।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार सोमवार बैठक नभएकाले मङ्गलवार सरेको हो र त्यो नियमित थियो।
चासो संवैधानिक परिषद्मा
प्रधानमन्त्रीको नेतृत्वमा रहेको संवैधानिक परिषद्को बैठक दोस्रो पटक पनि बस्न विफल भएको थियो।
मङ्गलवार बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा सहभागी नभएकाले परिषद्को गणपूरक सङ्ख्या नपुगेपछि मङ्गलवार अपराह्ण पाँच बजेका निम्ति फेरि बैठक डाकिएको छ।
विभिन्न संवैधानिक निकायहरूमा नियुक्तिको निम्ति बैठक बसाउने प्रधानमन्त्रीको दोस्रो प्रयास विफल भएको हो।
कतिपयले नेकपाभित्रको विवादको असर परिषद्मा देखिएको र त्यसैकारण पूर्वमाओवादीतर्फका सभामुख सापकोटा सहभागी नभएको ठानेका छन्।
बीबीसीले सभामुख सापकोटासँग सम्पर्कको निम्ति गरेको प्रयास सफल हुन सकेन।
तर बैठकका विषयबारे आफूसँग परामर्श र छलफल नगरिएको भन्दै सभामुख सहभागी नभएको स्रोतलाई उद्धृत गर्दै समाचारहरू आएका छन्।
बिहान सहभागी नभएका सभामुख आजैको अर्को बैठकमा सहभागी हुनेबारे अन्योल नै छ।
के छ कानुनी व्यवस्था
संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठकमा अध्यक्षसहित अन्य चार सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।
परिषद्मा सदस्य रहेका प्रधानन्यायाधीश, प्रतिनिधिसभामा विपक्षी दलका नेता र राष्ट्रिय सभाका अध्यक्ष बिहान बालुवाटार पुगेका थिए।
सभामुख सापकोटाको अनुपस्थितिप्रति साङ्केतिक रूपमा असन्तुष्टि देखिनेगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले परिषद्को बैठकको निम्ति भेला भएका पदाधिकारीहरूको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, "विपक्षी दलका नेता उपस्थित, सभामुख अनुपस्थित।"
परिषद्मा सदस्य रहने उपसभामुखको पद रिक्त छ। त्यसैले सबै सदस्यको उपस्थिति अनिवार्य भएको हो।
पहिलो पटक डाकिएको बैठकमा सभामुखसँगै प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि अनुपस्थित थिए।
पार्टीभित्र संवैधानिक नियुक्तिका विषयमा छलफल नगरेको भन्दै प्रचण्डपक्ष प्रधानमन्त्रीसँग असन्तुष्ट रहेको विवरणहरू आइरहेका छन्।
नेकपाका एक अध्यक्ष प्रचण्डले विभिन्न 'असंवैधानिक प्रयास' गरेको भन्ने आरोप प्रधानमन्त्रीमाथी लिखित रूपमै लगाएका छन्।
पार्टी विभाजनको अध्यादेश, संसद् विघटन र सङ्कटकाल जस्ता विषय उनले पार्टी बैठकमा प्रस्तुत गरेको आफ्नो दस्तावेजमा उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले पनि लिखित जवाफ दिँदै खण्डन गरेका छन्।