कोरोना भाइरस महामारीः नेपाल कोभिड-१९ प्रभावित देशमध्ये ३४औँ स्थानमा

नेपाल

तस्बिर स्रोत, Reuters

विश्वभरि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या पाँच करोड नाघ्दा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख पुग्न लागेको छ।

कोरोनाभाइरस महामारीसम्बन्धी तथ्याङ्कको अभिलेख राख्दै आएको अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार संसारभरि १२.५७ लाख मानिसको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ।

नेपालमा १,१२६ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्न लागेको नेपाल कोरोनाभाइरस प्रभावित देशको सूचीमा ३४ औँ स्थानमा भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ।

तर धेरै देशमा पर्याप्त परीक्षण नगरिएकाले कोरोनाभाइरसबाट प्रभावित मानिसको सङ्ख्या अझै बढी हुनसक्ने बताइन्छ।

विश्वभरि एकचौथाइ सङ्क्रमितहरू महामारीको दोस्रो लहरमा थपिएको समाचारसंस्था रोएटर्सले जनाएको छ।

एक करोड २५ लाखभन्दा बढी सङ्क्रमित भेटिएको र तीमध्ये ३,०५,७०० जनाको मृत्यु भएको युरोप महादेशमा फेरि सङ्क्रमण व्यापक रूपमा फैलिएको छ। यो वर्षको आरम्भतिर पनि युरोप कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु थियो।

कोरोनाभाइरस

अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड पुग्न लागेको छ। अमेरिकामा तीन दिनदेखि दैनिक वृद्धि १,२५,००० रहेको छ।

अमेरिकामा राष्ट्रपति-निर्वाचित जो बाडइनले उक्त महामारी नियन्त्रण गर्न आक्रामक उपाय अवलम्बन गर्ने वाचा गरेका छन्। पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ को प्रकोपलाई कम आँक्ने गरेका थिए।

उनले भौतिक दूरी र मास्क लगाउने कुराको पनि विरोध गरेका थिए।

फ्रान्समा गत सातादेखि दोस्रो चरणको लकडाउन सुरु भएको छ।

स्पेन कोरोनाभाइरस

तस्बिर स्रोत, EPA

त्यहाँ डिसेम्बर १ सम्म विभिन्न गतिविधिमा रोक लगाइएको छ। मानिसहरूले काममा जानै पर्ने हुँदा, अत्यावश्यक सामान किन्न जाँदा, औषधोपचारका लागि र दैनिक एक घण्टा व्यायाम गर्नबाहेक घरबाट बाहिर निस्किन पाउँदैनन्।

युरोपमा यूकेमा सर्वाधिक मानिसको कोभिड-१९ का कारणले मृत्यु भएको छ।

कोरोनाभाइरसबाट नराम्ररी प्रभावित देशमध्ये अमेरिकापछि भारत र ब्रजिल दोस्रो र तेस्रो स्थानमा छन्।

दक्षिण एशियामा कोरोनाभाइरस. कुन देशमा कति सङ्क्रमित. दक्षिण एशियामा सबैभन्दा कम प्रभावित देश भुटान हो भने त्यसपछि माल्दिभ्स र श्रीलङ्का हुन्.

भारतमा अहिलेसम्म ८५.५३ लाख मानिसमा कोभिड-१९ पुष्टि भएको छ भने १,२६,६०० भन्दा केही बढी मानिसको मृत्यु भएको छ।

दक्षिण एशियामा भारतपछि सङ्क्रमितको सङ्ख्याका आधारमा बाङ्ग्लादेश, पाकिस्तान र नेपाल छन्।

सोमवार नेपालमा २,५७१ सङ्क्रमित थपिएको र १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

अहिले नेपालमा ३६,१७४ जनामा सक्रिय सङ्क्रमण छ भने १,९७,०२४ सङ्क्रमितमध्ये १,५९,७२४ जना निको भइसकेका छन्।

यसरी बढिरहेको कोरोनाभाइरस. नेपालमा कोभिड-१९ महामारी. .
Presentational white space
नेपालमा कोरोनाभाइरस सङ्क्रमण. १०० वटा नमुना परीक्षण गर्दा कतिवटामा सङ्क्रमण पुष्टि. केही महिनादेखि नेपालमा कोभिड-१९ पुष्टि दर उच्च.
Presentational white space

सोमवार काठमाण्डूमा १,१३६ जनासहित अतिप्रभावित राजधानी उपत्यकामा १,४२८ सङ्क्रमित थपिए।

अहिले काठमाण्डू उपत्यकामा १९,३८४ सक्रिय सङ्क्रमित छन्।

यो कुल सक्रिय सङ्क्रमितको आधाभन्दा बढी हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?