कोरोना भाइरस नेपाल: जाडो याममा 'बढ्ता फैलने चिन्ता', विज्ञहरूले सुझाए रोकथामका यस्ता उपाय
रुघाखोकीजस्ता समस्या धेरै देखा पर्ने जाडो याममा उस्तै लक्षण हुने कोरोनाभाइरसको सङ्क्रमण भएमा छुट्याउन कठिन हुने भएकाले स्वास्थ्य अधिकारी एवम् विज्ञहरूले विभिन्न उपाय सुझाएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकका अनुसार मौसमी फ्लूबाट बच्न सकिने उपाय सहज भएकाले त्यसबाट जोगिन सकेमा कोभिड-१९ का लक्षण छुट्याउन सघाउने देखिन्छ।
"कम्तीमा जोखिमयुक्त समूहमा रहेकाले फ्लूको खोप लगाउनु हितकर हुन्छ। दमका बिरामीलाई प्रत्येक तीन वर्षको अन्तरालमा दिइने निमोनियाविरुद्धको खोप यो बेला दिनु राम्रो हुन्छ," स्वास्थ्य मन्त्रालयअन्तर्गतको उक्त महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने।
"बाँकी सम्भावित समस्याको रोकथामका उपाय अनपाउनु नै जाडोमा कोरोनाभाइरसको थप जोखिमबाट बच्ने तरिका हो।"
जाडोमा किन 'थप जोखिम'?
संसारभरि कोरोनाभाइरसको स्वभावबारे अझै धेरै मतभिन्नता देखिए पनि यो तापक्रमसँग संवेदनशील हुने एकखाले प्रवृत्ति भएको बताइन्छ।
चीनमा पहिलो पटक यो भाइरस देखा पर्दा त्यहाँ हिउँद थियो।
तर यस भाइरसले महामारीको रूप लिएपछि नेपालमा पहिलो पटक जाडो याम आउन लागेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा. शेरबहादुर पुनले अन्य भाइरल सङ्क्रमण जाडोकै बेला बढी हुने गरेको बताउँछन्।
उनी भन्छन्, "कतिपय अध्ययनहरूले कम तापक्रममा कोरोनाभाइरस धेरै समय स्थिर रहने देखाएको छ।"
कुनै वस्तुको सतहमा लामो समय रहन सक्ने देखिनुले यसको जोखिम जाडोमा बढी हुने अर्को सङ्केत रहेको विज्ञहरू बताउँछन्।
अधिकारीहरूका अनुसार नेपालमा कार्तिक महिनाको दोस्रो साताबाट सङ्क्रमितको दैनिक वृद्धि स्थिरजस्तो देखिएको छ।
डा. पुन थप्छन्, "यदि अवस्था साँच्चिकै त्यस्तो हो र एउटा उत्कर्षबाट विस्तारै स्थिर सङ्क्रमण वा वृद्धिदर खस्किरहेको हो भने लगत्तै जाडोमा त्यो पुन: बढ्न सक्ने जोखिम हुन्छ।"
कसरी छुट्याउने?
अधिकारीहरूका अनुसार बर्सेनि दोहोरिने ए र बी समूहका फ्लूहरू नेपालमा देखा परिसकेका छन्।
महाशाखाका निर्देशक डा. पाण्डेले समुदायमा सङ्क्रमण गएका स्पष्ट सङ्केतहरू देखिएकाले जाडो याममा खासगरी जेष्ठ उमेर समूहका व्यक्तिहरूलाई सुरक्षित राख्ने चुनौती थप टड्कारो हुने बताउँछन्।
उनको भनाइ छ, "यतिखेर सबै उमेर समूहमा उल्लेख्य सङ्क्रमण देखिएको छ। राजधानी रहेको वाग्मती प्रदेशमा महिला-पुरुषमा त सङ्क्रमण बराबरजस्तो देखिन थालेको छ।"
"यात्रा नै नगरेका मानिसहरू झन् बढी सङ्क्रमित देखिन थालेका छन्। यी समुदायमा सङ्क्रमण गएको भन्ने सङ्केत हो।"
ज्येष्ठ उमेर समूहमा मृत्युदर समेत उच्च पाइन्छ। नेपालमा कोरोनाभाइरसको मृत्युदर ०.५७ रहे पनि उमेर समूह बढ्दै जाँदा त्यो ९ प्रतिशतभन्दा बढीसम्म पुगेको छ।
त्यसैले जाडो याममा झ्यालढोका थुनेर बस्ने यसअघिका अभ्यासको विकल्पका रूपमा कोठामा हावा आउजाउ हुने पूर्वाधार तयार पार्नुपर्ने विज्ञहरूको सुझाव पाइन्छ।
मौसमी रुघाखोकीसँग छुट्याउन सकिने केही उपायहरू सुझाउँदै उनले भने, "मौसमी रूघाखोकीमा नाकबाट पानी बग्ने क्रम देखिन्छ, हाच्छिउँ हुँदै सुरु हुन्छ भने कोरोनाभाइरसको हकमा सुक्खा खोकीबाट सुरु हुन्छ।"
"सामान्य रुघाखोकीका बेला ज्वरो खासै उच्च भएको पाइँदैन।"












