कोरोना भाइरस नेपाल: 'अस्पताल चाँडो पुर्‍याएको भए दाजुलाई बचाउन सकिन्थ्यो'

योगेश्वर भट्टराई

तस्बिर स्रोत, Bhattarai family

    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा

कोरोनाभाइरस सङ्क्रमणका कारण एकै परिवारका सदस्यहरूको मृत्यु हुने क्रम बढिरहँदा सोही पीडामा झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मा रहेको भट्टराई परिवार पनि परेको छ।

भट्टराई परिवारमा यति ठूलो वज्रपात पर्ला भन्ने कसैको कल्पनामा थिएन। तर विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणले भट्टराई परिवारका दुई छोरालाई परिवारबाट चुँडेर लग्यो।

अहिले उक्त परिवार शोकाकुल छ।

केही दिन अघि झापाको शिवसताक्षी नगरपालिका वडा नं २ का ३७ वर्षीय दयाराम भट्टराईलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो।

सङ्क्रमित भट्टराईको गत कात्तिक १४ गते विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भयो।

त्यसको ठिक चार महिनाअघि कोभिड-१९ कै कारण सोही घरका कान्छा छोरा योगेश्वरको कतारमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।

'बुवाको वार्षिकीको अघिल्लो दिन कान्छो भाइ लग्यो'

साउदी अरबमा रहेका विष्णुप्रसादका भाइ योगेश्वर बुवाको काजकिरिया गर्न गत साल नेपाल आएका थिए।

काजकिरिया सकेर उनी अर्को रोजगारीको गन्तव्य मुलुक कतार फर्के।

तर बुवाको वार्षिकीको अघिल्लो दिन योगेश्वरको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको खबर परिवारले सुन्नु पर्‍यो।

योगेश्वरका दाजु विष्णुप्रसाद भन्छन्, "बुवा बितेको वर्ष दिन पुग्ने अघिल्लो दिन भाइ नरहेको खबर सुनेपछि वज्रपात भयो।"

तीस वर्षीय योगेश्वर कतारको एउटा होटलमा नगद सङ्कलनमा काम गर्थे।

dayaram bhattarai

तस्बिर स्रोत, Bhattarai family

कामकै सिलसिलामा उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको परिवारका सदस्यले आशङ्का गरेका छन्।

मृत्यु हुनुभन्दा एक साताअघि परिवारसँग कुरा गर्दा ज्वरो आउने र टाउको दुख्ने समस्या योगेश्वरले सुनाउने गरेको विष्णुप्रसादले बताए।

उनले भने, 'भाइ सन्चो भएको खबर आउला भन्दाभन्दै मृत्युको खबर आयो।"

चार महिनापछि अर्को शोक

बुवा र कान्छो भाइको मृत्युको शोकबाट गुज्रिँदै गर्दा भट्टराई परिवारले पुनः अर्को वज्र खस्यो।

परिवारका जेठा छोरा ३७ वर्षीय दयारामको गत कात्तिक १४ गते कोरोनाभाइरसको सङ्क्रमणकै कारण मृत्यु भयो।

दयारामलाई पहिला पाचन प्रणालीमा समस्या आएको विष्णुप्रसादले बताए।

मृतक व्यवस्थापन

तस्बिर स्रोत, RSS

ज्वरो पनि आएकाले दमक अस्पताल लगेर जचाउँदा कोरोनाभाइरसको सङ्क्रमण छ वा छैन भनेर हेर्नुपर्छ भनेपछि दमक नगरपालिकाकै एउटा वडा कार्यालयमा गएर स्वाब दिए।

दुई दिनमा रिपोर्ट आउँदा सङ्क्रमण पुष्टि भएपछि दयाराम केही दिन घरमै आइसोलेशनमा बसे।

तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विराटनगरको नोबेल मेडिकल कलेजको अस्पताल लगेर उपचार गर्दा दयारामको त्यहीँ मृत्यु भएको विष्णुप्रसादले बताए।

उनले भने, "धेरै मान्छेले पहिला अस्पताल नलैजानु घरमै राख्नु भनेर सल्लाह दिए। त्यसै गर्‍यौँ। न सही गर्‍यौँ न गलत केही भन्न सकिएको छैन।"

'बेलामा अस्पतालमा पुर्‍याएको भए बाँच्ने आश थियो'

दयारामलाई कोरोनाभाइरस सङ्क्रमण भएपछि अरूको सल्लाह मानेर उच्च ज्वरो आउँदा पनि घरमै राखेका कारण सङ्क्रमण फोक्सोमा पुगेकाले दाजुलाई बचाउन नसकिएको सञ्चारकर्मी समेत रहेका भाइ रविन भट्टराईले बताए।

रविनले भने, "अस्पताल भर्ना गरेका बेला दाजुको शरीरमा अक्सिजनको मात्रा धेरै घटिसकेको थियो। समयमा अस्पताल ल्याएको भए अक्सिजनको मात्रा बढाउन सकिने अवस्था हुन्थ्यो। चिकित्सकहरूले त्यही नै भने।"

आफू विराटनगरमा कार्यरत रहेको र आफूले थाहा पाउँदा धेरै ढिलो भइसकेको रविनले बताए।

जुन बेला दयारामलाई सङ्क्रमण पुष्टि भयो त्यो बेला सोही घरका सदस्य सबैलाई पनि सङ्क्रमणका बारेमा थाहा नभएको रविनले बताए।

उनले भने, 'क-कसले के-के सल्लाह दिए कुन्नि, अस्पताल पुर्‍याउन ढिलो भयो। दाजुलाई बचाउन सकिएन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड भएर घरमै एकान्तवास बस्दा यसरी सावधान हुनुहोस्

नौ जनाको परीक्षण, दुई जना सङ्क्रमित

जेठो छोरा दयारामको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएपछि परिवारका नौ जना सदस्यको पीसीआर परीक्षण गरिएको भट्टराई परिवारकी साइँली बुहारी सरला घिमिरे भट्टराईले बताइन्।

उनका अनुसार अहिले मृतक दयारामकी आमा र उनकी श्रीमतीलाई सङ्क्रमण पुष्टि भएको छ।

उनीहरूलाई अलग्गै कोठामा राखेर काज किरिया गरिराखिएको सरलाले बताइन्।

कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने
कोरोनाभाइरस ब्यानर
Presentational white space

उनले भनिन्, "आमा र दिदी छुट्टै कोठामा बस्नुभएको छ। उहाँहरू स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर बस्नु भएको छ। मास्क, पन्जा लगाएर बस्नुभएको छ।"

'कसैलाई यस्तो ज्रपात नपरोस्'

आफ्ना परिवारका जवान दुई सदस्य कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु भएपछि भट्टराई परिवारले कसैलाई पनि यस्तो वज्रपात नपरोस् भन्दै कामना गरेका छन्।

उनीहरूले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन आग्रह गरेका छन्।

मृतक दयारामका भाइ योगेश्वरका दाजु विष्णुप्रसादले आफ्नो घरमा भएको घटना अरूका घरमा नघटोस् भन्दै सबैलाई सजग रहन आग्रह गरे।

उनले भने, "सावधानी अपनाउनै पर्छ। तर समाजको सङ्क्रमित वा सङ्क्रमितको परिवारलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्छ। हामीले भोगेजस्तो अरूले नभोगून्।"

मृतक दयारामका एक छोरा र योगेश्वरका एक छोरी छन्।