हन्ड्रेड विमिन: आवश्यक सुरक्षाका सामग्री र बिमा नहुँदा जोखिम मोलेर काम गर्दै स्वास्थ्य स्वयम्‌सेविका

    • Author, कृष्णमाया उपाध्याय
    • Role, बीबीसी न्यूज नेपाली, जुम्ला

कोरोनाभाइरस सङ्क्रमणबीच महिला स्वाथ्य स्वयम्‌सेविकाहरूले घरघरमा गएर सेवा दिँदै आएको बताएका छन्।

पहिला पहिला एकै ठाउँमा जम्मा गरेर गर्भवती, सुत्केरी महिला तथा पाँच वर्ष मुनिका बालबालिकासँग काम गर्दै आएका उनीहरू अहिले धेरैजना एकै ठाउँमा भेला हुन नमिल्ने भएपछि घरघरमा गएर सेवा दिँदै आएको बताउँछन्।

यसरी अग्रपङ्क्तिमा काम गर्दै गर्दा कतिपय महिला स्वास्थ्य स्वयम्‌सेविकाहरू कोरोनाभाइरसबाट सङ्क्रमित समेत हुन पुगेका छन्।

सङ्क्रमित हुँदा समेत आफ्नो खर्चमा उपचार गराउनु परेको उनीहरूले बताए।

जुम्लाकी एक महिला स्वास्थ्य स्वयम्‌सेविका मैना शाही "जोखिम मोलेर गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र पाँच वर्ष मुनिका बालबालिकासँग काम गर्दै गर्दा कतिबेला कोरोनाभाइरस सङ्क्रमण भयो भन्ने थाहै नपाएको" बताउँछिन्।

सरकारले स्वास्थ्य स्वयम्‌सेविकाहरूका लागि प्रोत्साहन भत्ता वा बिमाको व्यवस्था गरेको छैन।

मैनालाई पहिला रुघाखोकी लाग्यो। क्रमश: निमोनियाको लक्षण देखिन थालेपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नहुँदा बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गर्दागर्दै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो।

सुर्खेतस्थित प्रदेश अस्पतालको भेन्टिलेटरमा २३ दिन को उपचार पछि कोरोनाभाइरस सङ्क्रमण निको भयो।

अहिले उनी घर फर्किएर होम आइसोलेशनमा बसिरहेकी छन्।

'उपचार गर्दा धेरै खर्च भयो, तर यसको खर्च आफै बेहोर्नुपर्‍यो,' उनले भनिन्।

उनले भनिन्, "सरकारले महिला स्वास्थ्य स्वयम्‌सेविकालाई समुदायमा परिचालन गर्न निर्देशन दियो न सुरक्षाका लागि आवश्यक पर्ने सामग्री दियो न प्रोत्साहन भत्ता दियो। हाम्रो जीवनको सुरक्षाको लागि सरकारले केही नगरिदिँदा समस्या भएको छ।"

आफ्नो गाउँघरमा मातृ तथा शिशु मृत्युदरलाई कमी ल्याउनका लागि कोरोनाभाइरसका महामारीबीच विशेष सजगता अपनाउँदै निरन्तर रूपमा सेवा दिँदै आएको चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ की महिला स्वास्थ्य स्वयम्सेविका हजमा बिकले बताइन्।

"हरेक महिनामा गर्भवती तथा सुत्केरी महिला र पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य अवस्थाको विषयमा स्वास्थ्य संस्थाहरूलाई जानकारी गराउँदै आएका छौँ," उनले भनिन्।

"हाम्रै रिर्पोटका आधारमा स्वास्थ्य संस्थाहरूले तथ्याङ्क बनाएर काम गर्छन् तर हामीले कुनै पनि सुविधा नपाउँदा मन दुख्छ," उनले बताइन्।

"यस्तो महामारीका बेला पनि हामीलाई परिचालन गरिएको छ तर हामीसँग विशेष सुरक्षाका सामग्रीहरू छैन," उनले भनिन्।

जुम्लाको चन्दननाथ नगरपालिका ६ की अर्की महिला स्वास्थ्य स्वयम्‌सेविका मायादेवL रोकाया भन्छिन्, "अहिले पनि भिटामिन ए र जुकाको औषधि खुवाउन घरघरमै जाने गरेका छौँ तर सुरक्षाका सामग्रीहरू कुनै पनि उपलब्ध छैनन्।"

पहिला पहिला आफ्नै घरमा हरेक महिना गाउँघर क्लिनिक सञ्चालन हुँदै आएको भएपनि लकडाउन सुरु भएसँगै गाउँघर क्लिनिक सञ्चालनको काम सम्बन्धित स्वास्थ्य संस्थामा भइरहेको महिला स्वास्थ्य स्वयम सेविका सम्झना महतले बताइन्।

आफूहरूले स्वास्थ्य कार्यालयले दिएको निर्देशन अनुसार काम गर्दै आएको हुनाले अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमणबाट बच्न सफल भएको उनको भनाइ छ।

अति आवश्यक काम बाहेक घरबाट ननिस्कन र निस्कनै परेमा मास्क, पञ्जा, स्यानिटाइजरको प्रयोग गर्नुका साथै धेरै मानिसहरू एकै ठाउँमा भेला नहुने र सामाजिक दूरी कायम गर्न सकेमा कोरोनाभाइरस सङ्क्रमणबाट बच्न सकिने महिला स्वास्थ्य स्वयम्‌सेविकाहरूले बताएका छन्।

समुदाय स्तरमा स्वास्थ्य सम्बन्धी केही समस्या भइहालेमा मानिसहरू पहिलो पटक महिला स्वास्थ्य स्वयम्सेविकाको सम्पर्कमा आउने भएकाले आफुहरूले सेवा गरे अनुसारको सरकारले सुविधा नदिएको गुनासो उनीहरूको छ।

देशभरका ७ सय ५३ वटा स्थानीय तहका प्रत्येक वडामा एक एक जना महिला स्वाथ्य स्वयम्‌सेविकाहरू रहेको हुनाले उनीहरू मार्फत पनि स्वास्थ्य सचेतनाका सन्देशहरू गाउँगाउँमा पुग्ने गरेको अधिकारीहरूले बताएका छन्।