तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के खानेकुराको खाँदाको आवाजले स्वादमा फरक पार्छ?
आवाज 'बिर्सिएको स्वाद हो'।
अक्सफर्ड विद्यालयका प्रयोगात्मक मनोवैज्ञानिक चार्ल्स स्पेन्स भन्छन् हामी खानेकुराको स्वादको आनन्द मुख, नाक र आँखाले मात्रै होइन, कानले पनि लिन्छौँ।
चपाएर आवाज निकाल्दै खानेकुरा खाँदाको आनन्दले उनलाई सधैँ उत्साहित बनाउँछ।
उनी दुई दशकदेखि खाने समयमा हाम्रो मस्तिष्कले प्रत्येक ज्ञानेन्द्रीयबाट प्राप्त हुने सूचनालाई कसरी प्रशोधन गर्छ भनेर अध्ययन गरिरहेका छन्।
उनी भन्छन्, “खानाको आनन्द, प्याकेजिङ गर्दा, चम्चा प्लेटमा ठोक्किदाको आवाज वा हामीले खाइरहेको बेलाको सङ्गीत सबैले हाम्रो अनुभवलाई प्रभावित पार्छ। कुनैले कम र कुनैले धेरै मात्रै हो।”
‘ग्यास्ट्रोफिजिक्स: द न्यू साइन्स अफ इटिङ” नामक पुस्तकका लेखक उनी विश्वविद्यालयको एउटा अनुसन्धान प्रयोगशालाका निर्देशक पनि हुन्।
संसारभरका नामचलेका सेफहरूसँग काम गरेका उनले खानेकुरासँग एकभन्दा बढी ज्ञानेन्द्रीय जोडिएका अनुभव सृजना गराउने काम गरेका छन्।
खानेकुरासम्बन्धी परामर्शदाता एमान्डा माइल्स रिकेट्स भन्छिन्, “खानेकुराको गन्ध, स्वाद, स्वरूप र आवाजजस्ता कैयौँ कुराले हामीलाई खुशी बनाउँछ।”
उनका अनुसार चपाएर खाँदा जस्तो आनन्द अरू कुरामा छैन।
झुरुमझुरुम खानेकुराको अनुसन्धान
कुकिजदेखि बिहान नास्तामा प्रयोग हुने खानेकुरा र प्राकृतिक रूपमा उत्पादन हुने बिया भएका फलहरू चपाउनु पर्ने खानेकुरामा पर्छन्।
स्पेन्सले हामीले हाम्रो अवधारणा परिवर्तन गर्दा आलुको चिप्सको स्वाद फरक पर्छ कि पर्दैन भनेर अध्ययन गरेका थिए।
उनले चपाउँदाको विद्युतीय आवाजसम्म बनाए जसले गर्दा खाइरहेका व्यक्तिहरूलाई केही खानेकुरा चपाएर खानुपर्छ भन्ने अनुभूति होस।
अनुसन्धानमा सहभागी भएकाले एकै खालको आलुको चिप्स खाएपनि उनीहरूले कृत्रिम आवाज प्रयोग गरिएको बेला फरक स्वाद महसुस गरेको बताएका थिए।
त्यसबेला स्वाद थप मिठो अनुभव गरेको उनीहरूले बताए।
हार्वर्ड विश्वविद्यालयले स्पेन्सलाई 'आइजी नोबेल' भनिने पुरस्कारले पनि सम्मान गर्यो जुन प्रतिष्ठित नोबेल पुरस्कारको नक्कल हो।
तर यस्ता खानेकुरा पछाडिको विज्ञान गम्भीर रहेको छ।
स्पेन्सले सन् २००९ मा अनुसन्धान गर्दा त्यसमा चासो रहन्छ भन्ने विश्वास गर्न पनि गाह्रो भएपनि त्यसयता स्वाद र आवाजलाई जोडेर कैयौँ अनुसन्धान भएको बताउँछन्।
जति बढी आवाज, उति ताजा
“स्वाद दिने सामग्री भएपनि कसैलाई पनि नरम आलुको चिप्स मन पर्दैन्।”
स्पेन्सका अनुसार हामीलाई आवाज निकालेर खानुपर्ने खानेकुरा किन मन पर्छ भन्ने कुरा रहस्यपूर्ण छ।
आवाज निकालेर खानुपर्ने तरकारीहरू ताजा हुने भएकाले त्यसलाई स्वास्थ्यसँग पनि जोडिन्छ।
अनि त्यस्ता खानेकुरा बढी मात्रामा तेल हुने ठानिन्छ।
स्पेन्सका अनुसार हाम्रो मस्तिष्कको कम्तीमा ६० प्रतिशत क्षेत्रमा बोसो छ र मस्तिष्कले तागत दिने तेललाई रूचाउँछ।
तर परामर्शदाता रिकेट्स त्यो मान्दिनन्। उनी भन्छिन्, “अस्वस्थ्य र लत लगाउने खानाहरू त्यस्ता हुन्छन्।”
स्पेन्स हामीले केही खाने र स्वाद लिने गर्न थालेपछि मस्तिष्कले चासो राख्न छाड्ने टिप्पणी गर्छन्।
उनका भनाइमा आवाज निस्कने कुरा खाएको समयमा आवाजकै कारण मुखभित्र के छ भन्ने कुराले ध्यान खिच्ने गर्छ।
त्यसको अर्थ हामीले आवाज निस्कने खानेकुरा बढी रूचाउँछौ किनभने त्यसको स्वाद लामो समय रहन्छ।
स्पेन्स र उनको टोलीले खानेकुरा र सङ्गीतबीच सम्बन्धबारे पनि अध्ययन गरिरहेको छ।
उनीहरू गुलियो र अमिलो स्वाद उच्च फ्रिक्वेन्सी भएको सङ्गीतसँग र तीतो स्वादलाई कम फ्रिक्वेन्सी भएको सङ्गीतसँग तुलना गरेर अध्ययन गरिरहेका छन्।
“यदी तपाईँले गीत सुन्दै गर्दा एक कप कफी वा चकलेटको एउटा टुक्रा खानुभयो भने त्यसले स्वादलाई बढाउँछ, “ उनी भन्छन्।
रिकेट्स खानेकुरा उत्पादन उद्योगले खाने बानीमा एकभन्दा बढी ज्ञानेन्द्रीय जोडिएको स्वीकार गर्दै गएको बताउँछिन्।
त्यसबाट उपभोक्तालाई झुक्याएर खराब खाने बानीतर्फ तान्ने प्रयास हुनसक्ने भएपनि स्पेन्सका भनाइ ‘सङ्गीत र आवाजलाई मिसाएर अझ स्वस्थकर खाने अभ्यास अघि बढाउन' सकिन्छ।
“हामीले कम चिनी हालेर रमाइलो सङ्गीतका साथ स्वाद लिनसक्छौँ। कुनै रेस्टुराँमा स्वादै छुट्याउन नसकिने गरी बजाइने चर्का सङ्गीतले हाम्रो राम्ररी स्वाद लिने क्षमतालाई नै दबाइरहेको हुन्छ।”