श्रीलङ्काको समुद्री तटमा अलपत्र परेका १०० वटाभन्दा बढी ह्वेलको सकुशल उद्धार

अलपत्र परेकामध्ये चारवटा ह्वेलको मृत्यु भयो भने अरूको उद्धार गरियो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अलपत्र परेकामध्ये केही ह्वेलको मृत्यु भयो भने अरूको उद्धार गरियो

श्रीलङ्काको समुद्री तटमा अलपत्र परेका १०० वटाभन्दा बढी ह्वेललाई उद्धार गरी समुद्रमा नै फर्काइएको छ। उद्धारकार्य मङ्गलवार रातभरि गरिएको थियो।

पानादुरानजिकै समुद्री तटमा सामूहिक रूपमा आइपुगेकामध्ये तीनवटा पाइलट ह्वेल र एउटा डल्फिनको भने मृत्यु भएको छ।

पर्यावरण संरक्षण अधिकारी, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा श्रीलङ्ककाको जनसेनाले उद्धारकार्य सञ्चालन गरेको थियो।

श्रीलङ्कामा पहिलो पटक त्यति ठूलो सङ्ख्यामा ह्वेलहरू समुद्रको किनारामा अलपत्र परेको ठानिएको छ। ह्वेलहरू किन त्यसरी समुद्री तटमा आउँछन् भन्ने थाहा हुन सकेको छैन।

कसरी भयो उद्धार?

कोरोनाभाइरस महामारी फैलिन दिन लगाइएको निषेधाज्ञा अवज्ञा गर्दै स्थानीय गाउँलेहरू जलसेना र तटीय सुरक्षाकर्मीसँगै ती समुद्री जीवको उद्धार गर्न गएका थिए।

उनीहरूले सानो आकारका ह्वेलहरूलाई धकेल्दै गहिरो पानी भएको ठाउँमा पुर्‍याउन सघाए। त्यसपछि ह्वेलहरू आफैँ पौडी खेल्दै समुद्रमा फर्किए।

"यहाँका बासिन्दाहरू भेला भए र धेरै ह्वेललाई बचाए," मरीन जीववैज्ञानिक डा. आशा डि भोले समाचारसंस्थालाई बताइन्।

"तर केही ह्वेल पानीमा उत्रिन पनि निकै थाकेका थिए र समुद्रमा फर्किन सक्ने अवस्थामा थिएनन्। त्यसैले केहीको मृत्यु भयो।"

श्रीलङ्का ह्वेल

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सर्वसाधारणहरूले ह्वेलको उद्धारमा सहभागी हुन निषेधाज्ञा अवज्ञा गरेका थिए
श्रीलङ्का ह्वेल

तस्बिर स्रोत, EPA

कसरी पर्छन् अलपत्र?

ह्वेलहरू त्यसरी किन समूहमा समुद्रको तटमा पुग्छन् भन्ने वैज्ञानिकहरूलाई पनि स्पष्ट रूपमा थाहा छैन।

तर सिकार गर्न साना माछालाई पछ्याउने क्रममा ह्वेलहरू दिग्भ्रमित भएको हुनसक्ने अनुमान छ।

पाइलट ह्वेलहरू सामाजिक प्राणी हुन्। उनीहरू समूह बनाएर हिँड्छन् र आफ्नो समूहमा निरन्तर सञ्चार गर्छन्।

गत सेप्टेम्बर महिनामा अस्ट्रेलियाको टास्मेनिया द्वीपमा सयौँ ह्वेलहरू यसरी नै अलपत्र परेपछि मरेका थिए।