ह्वेलले सी लायन निलेको तस्बिर खिच्ने जीवविद् भन्छन्: जीवनकालकै दुर्लभ दृश्य

ह्वेल

तस्बिर स्रोत, Chase Dekker

एउटा ह्वेलले एउटा सी लायनलाई निलेको तस्बिर खिचेका चेस डेकर त्यो दुर्लभ दृश्य क्यामेरामा पहिलोपटक कैद भएको दाबी गर्छन्।

सत्ताइस वर्षीय फोटोग्राफर एवम् समुद्री जीवविद् डेकर क्यालिफोर्नियाको मोन्टेरे खाडीमा ह्वेल हेर्नेहरूले भरिएको डुङ्गामा थिए।

उनले त्यो घटनाको तस्बिर जुलाई २२ मा खिचेका हुन्।

"त्यो निकै ठूलो समूह थिएन, जम्मा तीन हम्पब्याक ह्वेल र झण्डै दुई सय सी लायनहरू थिए," डेकरले रेडियो वान न्यूजबिटसँग भने।

"हामीले एक सयवटासम्म ह्वेल तीन हजार वटा सी लायनसँग देखेका छौँ। त्यसैले यो अपत्यारिलो दृश्य हो।"

ह्वेल

तस्बिर स्रोत, Chase Dekker

ह्वेल आउनुअघि ती जनावरहरू एकखाले छिद्रे माछा खाइरहेका थिए। तर अचानक ती मध्येको एक ह्वेलको मुखमा पुग्यो।

"हामीले थुप्रैबेरसम्म त्यो दृश्य हेर्यौं। यसलाई मैले जीवनकालमा देखिने एउटा दुर्लभ दृश्यलाई विश्वास गर्न सकिरहेको छैन," डेकरले भने।

उनी विश्वस्त छन् कि त्यो सी लायन ह्वेलको मुखमा पुगेपछि सिङ्गै निलिए।

मुखभित्र तिखा काँडाहरू भएपनि हम्पब्याक ह्वेलको दाँत हुँदैन।

ह्वेलले सामान्यतया एक पटकमा पाँच सेकेन्डभन्दा कम पानीमाथि निस्केर खाना खानेगर्छ। तर यो घटनामा भने १५ सेकेन्डसम्म मुख खोलेर सी लायनलाई लखेटेको थियो।

ह्वेल

तस्बिर स्रोत, Chase Dekker

तस्बिरको क्याप्शन, चेस डेकरले हम्पब्याक ह्वेलले एउटा सी लायनलाई 'निलेको' आफूले खिचेको तस्बिर पहिलोपटक क्यामेरामा कैद भएको दाबी गरेका छन्

डेकरका अनुसार ह्वेल, सी लायन, डल्फिन र सार्कजस्ता समुद्रका शिकारीहरू एकैखालै माछा एकसाथ शिकार गर्छन्।

त्यसैले उनी ह्वेलको मुखमा पर्ने घटना दुर्लभ घटना भएको मान्छन्।

न्युजबिटसँग कुरा गर्दा डेकर ह्याम्मब्याक ह्वेलसँग पौडी खेल्ने प्रकृतिप्रेमीसँग टोङ्गातर्फ गइरहेका थिए। तर उनले त्यहाँ मानिसहरूका लागि कुनै जोखिम नभएको बताए।

"हामी हम्पब्याक्सहरूसँग पौडी खेल्छौं तर त्यो प्रजनन हुने क्षेत्र हो जहाँ उनीहरूले खाना खाँदैनन्," उनले भने।

"धेरैजसो त्यहाँ हुँदा उनीहरूले मुखै खोल्दैनन्।"