नेकपा विवाद: सत्तारूढ दलकै नेताका दृष्टिकोणमा किचलोका दुई मुख्य कारण के हुन्

तस्बिर स्रोत, PM SECRETARIAT
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्षबीचको मतभेद पुन: सतहमा आएपछि पार्टी एकताको भविष्यबारे गम्भीर प्रश्न उत्पन्न भएको पार्टीकै नेताहरूले बताएका छन्।
विवादका दुई प्रमुख जड- 'सहमति एक अंश पनि कार्यान्वयन नहुनु' र पदमा 'आफू निकट मान्छे राख्न हानथाप हुनु' रहेको नेकपाकै जिम्मेवार नेताहरूले बीबीसीलाई बताएका छन्।
गएको साउनमा शीर्ष नेताहरूबीच उत्पन्न विवाद हल गर्न गठन गरिएको कार्यदलले संसद्को बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री रहने, पार्टीको कार्यकारी अधिकार प्रचण्डले प्रयोग गर्ने, सरकारका कामकारबाही पार्टीको सल्लाहमा हुने, केन्द्र र प्रदेशमा मन्त्रिपरिषद्को पुनर्गठन गर्ने, पार्टी एकतामा केन्द्रित हुने जस्ता सुझाव दिएको थियो।
कार्यदलको सहमतिपछि लामो समयदेखिको विवाद समाधान हुने ठानिएको थियो।
सहमति 'एक अंश पनि कार्यान्वयन भएन'
नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयनमा नगएकाले अहिले समस्या देखिएको बताउँछन्।
उनले भने, “विगतमा भएका कतिपय सहमति कार्यान्वयनमा जानुपर्ने हो, त्यो भइरहेको छैन। कार्यदलले दिएका सुझावमध्ये कतिपयको कार्यान्वयनका लागि अध्यक्ष प्रचण्ड र महासचिवले सात दिनभित्र वा १० दिनभित्र गृहकार्य गरिसक्नुपर्ने भनिएको थियो। त्यसको एक अंश पनि कार्यान्वयन भएको छैन।”
तर त्यसलगत्तै राजदूत नियुक्तिदेखि मन्त्रिमण्डलमा हेरफेर र कर्णाली प्रदेशमा पूर्वमाओवादी पृष्ठभूमिका मुख्यमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याइएको विषयलाई लिएर नेकपाभित्र फेरि कलह चर्कियो।
आइतवार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूविरुद्ध अविश्वास प्रस्ताव विफल तुल्याउन साथ दिने नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूसँग भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठनको तयारी अघि बढाएको बताइएको थियो।
तर पार्टीभित्र चर्किएको विवादका माझ अध्यक्ष प्रचण्डले प्रदेशमा ओलीपक्षीय मन्त्री हटाउने उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि उनले त्यसलाई स्थगित गरेको बताइएको थियो।

तस्बिर स्रोत, RSS
आफू पक्षका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा हटाइए केन्द्रमा रहेका प्रचण्डनिकट मन्त्रीहरूलाई हटाउने चेतावनी प्रधानमन्त्री ओलीले दिएको बताइन्छ।
उपनेता नेम्वाङ पार्टीभित्र ओली र प्रचण्डलाई मिल्न नदिने शक्तिहरू रहेकाले गतिरोध आएको बताउँछन्।
उनले भने, “कर्णालीमा अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्छ भनिएको थियो र त्यो फिर्ता भइसकेकाले त्यहाँ हटाइएका प्रमुख सचेतकलाई यथास्थिति कायम गरिनुपर्छ र दुई जना अध्यक्षबीच कुराकानी हुनुपर्छ।”
भागबन्डाको किचलो
प्रचण्ड निकटस्थ मानिने नेता हरिबोल गजुरेलले ओली र प्रचण्डबीचका कुराकानीका अन्तर्वस्तु आफूले बुझ्न छाडेको बताए।
उनले भने, “उहाँहरू दुई जना कुरा गर्नुहुन्छ र सहमति भयो भन्नुहुन्छ। फेरि कुरा अरू नै आउन थाल्छ। फेरि एउटाले एक थोक र अर्कोले अर्को थोक भन्नुहुन्छ। सत्य नै पत्ता लगाउन गाह्रो हुन थाल्यो।”
स्थायी समिति सदस्य गजुरेलका अनुसार मन्त्रिपरिषद् पुनर्गठनको विषय ओली र प्रचण्डबीच विवादको मुख्य जड हो।
उनले भने, “अहिले सरकारमा आएर गाँठो पर्यो। ओलीजी केहीलाई राख्न खोज्नुहुन्छ, प्रचण्ड कमरेड केहीलाई राख्न खोज्नुहुन्छ। दुवै जना आ-आफ्ना पक्षधर नामका कुरामा केन्द्रित भएकाले सबै कुरा बिग्रिएको हो।”
उनले एकीकरणबाट नयाँ पार्टी गठन भएपनि नेकपा एमाले चलाए जस्तै प्रधानमन्त्री ओलीले व्यवहार गरेको र माओवादी चलाए जस्तै कार्यशैली प्रचण्डले देखाएको हुँदा समस्या समाधान हुन नसकिरहेको बताए।
उनले कतिपय राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिले नेकपाको फुट देख्न चाहेको भएपनि दुवै अध्यक्षहरूले आफूलाई रूपान्तरण गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए।
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै भूमिकामा रहेकाले बढी अग्रसरता ओलीले लिनुपर्ने उनको भनाइ छ।

तस्बिर स्रोत, Lokendra KC/Facebook
बैठकको माग
नेकपाका अर्का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्रीले पार्टीको संस्थागत निर्णयलाई सम्मान नगर्दा समस्याहरू देखा परिरहेको भन्दै व्यक्ति संस्था र राष्ट्रभन्दा माथि हुन नसक्ने बताए।
उनी भन्छन् “पार्टी विधि, पद्धति र संस्थागत निर्णयका आधारमा चल्छ तर त्यसरी नचल्नु आपत्तिजनक हो। तुरुन्त स्थायी समितिको बैठक बोलाइयोस् र नेताहरूले तथ्यसहित आफ्ना कुरा प्रस्तुत गर्न सकून्।”
प्रधानमन्त्री ओलीले अब पार्टी एकताबद्ध रहन सक्दैन भनेको आफूले नसुनेको भन्दै रावलले त्यसो भनिएको भए त्यो पदीय गरिमाविपरीत हुने धारणा राखे।
उनी भन्छन् “पार्टी फुटाउने विखण्डन गर्ने काम देश र नेकपा प्रतिको गद्दारी र अपराध हो। अतिक्रमित नेपाली भूभाग फर्काउन एकताबद्ध भएर लाग्ने बेलामा त्योभन्दा विपरीत काममा कोही पनि लाग्नु हुँदैन।”
संसदीय दलका उपनेता नेम्वाङ बैठक बस्ने कुरा ठूलो नभएको भन्दै समस्या बल्झाउने हिसाबले मात्रै बैठक राख्ने कुरा गर्न नहुने बताउँछन्।
उनी भन्छन्, “दुइटा अध्यक्षबाहेक समाधानको कुनै उपाय नै छैन। कतिजना दुईटा अध्यक्ष नमिलून् भन्नेमा लागेका छन्। को-को मलाई सम्झना छैन, तर यत्ति चाहिँ थाहा छ। दुई अध्यक्ष एक ठाउँमा उभिनु भनेको नेकपा एमाले र माओवादी एक ठाउँमा उभिनु हो। हामीले त्यो ठाउँबाट सुरु गरेका हौँ र समझदारीसाथ अघि बढ्नुपर्छ।”
लामो संवादहीनता अन्त्य गर्दै प्रचण्डले शनिवार प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए।

तस्बिर स्रोत, RSS
त्यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव र प्रमुख सचेतक हटाउने निर्णय फिर्ता लिने सहमति प्रचण्डसँग भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका थिए।
तर प्रचण्डका प्रेस संयोजकले ती सबै विषयमा सहमति खोज्ने जिम्मा प्रदेश सरकार र पार्टी कमिटीलाई दिने सहमति भएको भन्दै प्रेस नोट जारी गरेका थिए।
त्यसपछि दुवै अध्यक्षले त्यही बेहोरामा लिखित निर्देशन प्रदेशमा पठाएका थिए।
प्रधानमन्त्रीसँग शनिवार भएको छलफलमा कर्णाली प्रदेशको विवाद लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक डाक्नुपर्ने प्रस्ताव प्रचण्डले राखेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका थिए।
तर तत्कालै औपचारिकभन्दा पनि अनौपचारिक छलफलमार्फत् विवाद हल गर्ने प्रयास गरिने प्रधानमन्त्री निकटस्थ नेताहरू बताउँछन्।
प्रधानमन्त्री केपी ओली पक्षधर नेताहरू दुई अध्यक्षबीचको अविश्वास संवादबाट हल गरी समझदारी कायम गरेर अघि बढ्नुपर्ने पक्षमा आफूहरू रहेको बताउँछन्।
अध्यक्ष प्रचण्ड र उनलाई साथ दिइरहेका नेताहरूले संस्थागत छलफलका लागि पार्टीको स्थायी कमिटिको बैठक माग गरिरहेका छन्।
मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारीले निम्त्याएको विवाद र प्रधानमन्त्री ओली र भारतीय गुप्तचर निकायका प्रमुखबीचको भेटवार्तासँगै पछिल्लो विवाद सार्वजनिक भएको हो।
‘एकता गम्भीर मोडमा’
प्रधानमन्त्री ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताहरूसँग आफू र प्रचण्डबीच गहिरो मतभेद रहेको भन्दै थप मिलेर बस्न नसकिने अवस्था आएको धारणा राखेको समाचारहरू आएका छन्।
त्यसै0गरी प्रचण्डले पनि सचिवालयका आफूपक्षीय पाँच सदस्यलाई बोलाएर ओलीले पार्टी विभाजन गरेर बाटो लाग्न प्रस्ताव गरेको बताएको खबरहरूमा जनाइएको छ।
नेताहरूबीच बढेको तिक्ततालाई पुष्टि गर्दै पार्टी महासचिव विष्णु पौडेलले आइतवार सामाजिक सञ्जाल फेसबुकमा नेतृत्व तहमा अन्तरविरोध देखा परेको र पार्टी एकता गम्भीर सङ्कटको मोडमा आइपुगेको उल्लेख गरेका थिए।
प्रधानमन्त्री निकट ठानिएका पौडेलले पार्टी एकता भएको दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने भनिए पनि पार्टी एकताको काम पूरा नभएको बरु पार्टीको एकता र अविभाज्य अस्तित्वमाथि बारम्बार प्रश्न उठेको जनाएका थिए।
अध्यक्ष प्रचण्ड निकटस्थ नेता नारायणकाजी श्रेष्ठले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् नेकपाको विफलता र फुट उचित र सही नहुने भन्दै पार्टीको बैठक बसेर सबै पक्षबारे खुला छलफलका लागि आग्रह गरेका थिए।








