प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रअका प्रमुखको भेटबारे नेकपा 'अनभिज्ञ', अब 'छलफल हुने'

नारायणकाजी श्रेष्ठ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सत्तारूढ दल ओलीले बुधवार गरेको भेटवार्ताका विषयबारे अनभिज्ञ छ
    • Author, संजीव गिरी
    • Role, बीबीसी न्यूज नेपाली

रअ भनेर चिनिने भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलिसिस विङ (R&AW) का प्रमुख सामन्तकुमार गोयलसँग नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरेको भेटवार्ताका विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी जानकार नरहेको बताउँदै उक्त विषय पार्टीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

उनका अनुसार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अन्य कुनै वरिष्ठ नेता वा पार्टी सचिवालयमा यस विषयमा छलफल भएको वा जानकारी दिइएको छैन।

परराष्ट्र मन्त्रालयले समेत गोयलको भ्रमण आफ्नो जानकारीमा नभएको बताएको विवरण सार्वजनिक भएको थियो।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले बिहीवार एउटा प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओली र गोयलबीचको भेटका बारेमा जानकारी सार्वजनिक गरेका थिए।

आलोचना र संशय

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा उक्त विज्ञप्ति प्रेषित गरेपछि नेकपाका नेता र कार्यकर्ता तथा विपक्षी नेताहरूले पनि प्रधानमन्त्रीको चर्को आलोचना गरे।

धेरैले प्रधानमन्त्रीले कूटनीतिक आचारसंहिता पालना नगरेको टिप्पणी गरेका छन्।

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले आफूले सामान्यतता कूटनीतिक व्यक्ति वा विदेशका राजनीतिक नेताहरूसँग भेट्दा परराष्ट्र मन्त्रालयको औपचारिक प्रतिनिधि राखेर भेट्ने गरेको बताउँदै उक्त आचारसंहिता कार्यान्वयनमा धेरै जोड दिँदै आएको बताए।

उक्त भेटलाई असामान्यको सङ्ज्ञा दिँदै नेकपाको प्रवक्ता पनि रहेका श्रेष्ठले भने, "अहिले त नेपालको प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग यसरी भेट्नुपर्ने कारण के होला भन्ने प्रश्न आफैँ पनि गम्भीर रूपमा उठ्नु स्वाभाविक भएको छ। भेट किन भन्ने प्रश्न पनि छ भने भेट यसरी किन भन्ने प्रश्न पनि छ।"

"त्यसैले यसलाई सामान्य रूपमा लिने स्थिति त बनेन," उनले बीबीसीसँग भने, "यो विषयमा छलफल हुन्छ, हुनुपर्छ।"

गोप्य भेट

ओली

तस्बिर स्रोत, RSS

नेपालले गत मे महिनामा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै यो भारतबाट नेपालमा भएको "पहिलो उच्चस्तरीय भ्रमण" रहेको जानकारहरू बताउँछन्।

दुई देशबीचको सम्बन्ध 'सामान्य नरहेको अवस्थामा' गुप्तचर निकायका प्रमुख आफैँ नेपाल आएर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुको गहिरो अर्थ रहेको उनीहरूको मत छ।

'परराष्ट्र मन्त्रालयका अधिकारी समेत नराखी' गरिएको भनिएको गोप्य वार्ताले झन् सत्तारूढ दलका नेताहरूलाई नै झस्काइदिएको विश्लेषकहरू बताउँछन्।

भेटमा के भयो?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक प्रेस नोट जारी गर्दै भनेका छन्, ''भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ।"

"भेटका क्रममा उहाँ [गोयल] ले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो" प्रेस नोटमा भनिएको छ। (*यहाँ यसअघिको समाचार विवरण केही सच्चाइएको छ।- सम्पादक)

थापाका अनुसार गोयल ओलीलाई भेट्न बुधवार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए।

वक्तव्य सार्वजनिक हुनुअघि कुनै पनि सरकारी निकायले यस विषयमा केही प्रतिक्रिया जनाएका थिएनन्।

तर विभिन्न नेताहरूले आफूले गोयललाई नभेटेको भन्दै स्पष्टीकरण दिएका थिए।

किन असन्तुष्टि?

सत्तारूढ नेकपामा केही समयअघि मात्रै पार्टीमा देखिएको विवाद साम्य पार्ने क्रममा सरकारले गर्ने महत्त्वपूर्ण कार्य र निर्णयबारे पार्टीमा छलफल गरिने सहमति भएको थियो।

तर बिनाजानकारी विदेशी गुप्तचर निकायका प्रमुखसँगको बैठकले पार्टीभित्रकै नेताहरू अलमलमा परेको देखिन्छ।

गोयल नेपाल आएर राजनीतिक भेटघाटमा सक्रिय रहेको समाचार सार्वजनिक हुनासाथ सत्तारूढ नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भने त्यस्तो भेटवार्ता नगरेको बताइएको थियो।

नेकपा स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले त बिहीवार ट्विटमार्फत् आफ्नो विमति सार्वजनिक गरे।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उनले रअ प्रमुखसँग ओलीको जसरी र जस्तो समय अनि तरिकाले भेटवार्ता भयो त्यो आपत्तिजनक रहेको उल्लेख गरेका छन्।

किन उठ्यो कूटनीतिक मर्यादाको कुरा?

परराष्ट्र मामिलाका जानकारहरूले पनि ओलीको भेट कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन्।

पूर्वराजदूत दिनेश भट्टराईले भारतीय पक्षमा पछिल्लो समय नेपालमा चीनको प्रभाव बढेको भन्दै चिन्ता बढेको अनि नेपाल पक्षमा भने भारतसँग संवादको ढोका खुला गर्न चाहेको अवस्थामा भ्रमण भएको हुनसक्ने भए पनि यसले दीर्घकालीन रूपमा नेपाललाई प्रभाव पार्न सक्ने बताए।

"जुन हिसाबले बैठक भयो त्यसले प्रधानमन्त्रीले आफ्ना व्यक्तिगत समस्या बताउने अनि भारतले त्यसलाई हल गर्ने र त्यसका आधारमा लेनदेनका कुराकानी भएको हुनसक्ने आशङ्का गर्ने ठाउँ छ," उनले भने।

"त्यसो भएको हो भने तत्कालका लागि फाइदा भए पनि यसले दीर्घकालीन रूपमा समस्या उत्पन्न हुनसक्छ।"

अडिओ क्याप्शन सुरु हुँदैछ, रअ प्रमुखलाई प्रधानमन्त्रीले भेट्नुको अर्थ के

तर पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भने कूटनीति सोझो बाटोबाट नहिँड्ने बताउँदै पछिल्लो भ्रमणको मूल्याङ्कन परिणामबाट गर्नुपर्ने बताए।

यस अघि पनि नेपाल र भारतबीच सफल सैन्य कूटनीतिको अभ्यास भइसकेको बताउँदै उनले नेपाल भारत सम्बन्धमा देखिएको मनमुटाव र संवादहीनता तोड्नका लागि अर्को अभ्यास सुरु भएको हो भने यसको परिणामबाट मूल्याङ्कन गरिनुपर्ने उनको धारणा छ।

"नेपाल र भारतको सम्बन्धमा विगतमा औपचारिक र अनौपचारिक कूटनीतिक विधिहरूको प्रयोग हुँदै आएको थियो। त्यसलाई सर्वथा नौलो कूटनीतिक माध्यमको प्रयोग भइरहेको छ भनेर बुझ्नु उचित हुन्छ," बिहीवार साँझ बीबीसी नेपाली सेवाका लागि गनी अन्सारीले लिएको अन्तर्वार्तामा पाण्डेले भने।

तर भट्टराई भने कूटनीतिको दृश्य र अदृश्य रूप हुने भए पनि सबै देखिन नहुने बताउँछन्।

"यो नदेखिने खाले पर्‍यो," उनले भने।