चीन-भारत तनावः दुई देशबीच सीमा विवाद हुँदा यस्ता भ्रामक कुरा फैलिँदैछन्

सीमा विवादले भारतमा चीनविरोधी प्रदर्शनहरू हुने गरेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सीमा विवादले भारतमा चीनविरोधी प्रदर्शनहरू हुने गरेका छन्
    • Author, श्रुति मेनन र उपासना भट
    • Role, बीबीसी रीयालिटी चेक

गत जुन महिनामा भएको भिडन्तमा कम्तीमा २० जना भारतीय सैनिक मारिएको घटनापछि भारत र चीनबीच सीमा विवादलाई लिएर तनाव जारी छ।

तनाव मत्थर पार्न दुवै पक्षले वार्तालाई निरन्तरता दिइरहँदा दुई देशका सैनिक आमुनेसामुने भएको भन्दै भ्रामक सामग्रीहरू सामाजिक सञ्जालमा फैलिरहेका छन्।

तीमध्ये केहीलाई हामीले केलाएका छौँ।

दाबीः सीमामा पठाउन लागिएका चिनियाँ सैनिक रुँदै

वास्तविकताः असान्दर्भिक भिडिओ शेअर गरिएको

केही ताइवानी सञ्चारमाध्यमले त्यो भिडिओ गत सेप्टेम्बर महिनामा प्रयोग गरेका थिए जुन पछि गएर भारतमा भाइरल बन्यो।

चिनियाँ सैनिक किन रोएका हुन्?

भिडिओमा देखिएका चिनियाँ सैनिकहरूलाई सीमामा पठाउन लागिएकोले उनीहरू रोइरहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले खिसी गरे।

त्यो भिडिओ ३,००,००० भन्दा बढी पटक हेरिएको छ र भारतका जी न्यूजजस्ता प्रमुख सञ्चारमाध्यमले समेत त्यसलाई प्रयोग गरेका छन्।

एउटा चिनियाँ स्थानीय सञ्चारमाध्यमले वीच्याटमा सेप्टेम्बर १५ तारिखमा पोस्ट गरेअनुसार ती सैनिकहरू एउटा ब्यारेक जाँदै थिए र उनीहरूमध्ये पाँच जनाले तिब्बत क्षेत्रमा स्वयंसेवा गरेका थिए।

परिवारका सदस्यहरूसँग छुट्टिएपछि उनीहरू भावुक भएर रुन थालेको विवरणमा जनाइएको छ।

दाबीः भारतीय सैनिकहरू चिनियाँ लाउडस्पीकरबाट गीत सुनेर नाच्दै

वास्तविकताः सीमामा लाउडस्पीकरबारे केही उल्लेख गरिनुभन्दा पहिलाको भिडिओ

सेप्टेम्बर १६ तारिखमा भारतीय र चिनियाँ सञ्चारमाध्यमले चिनियाँ जनमुक्ति सेनाले सीमामा लाउडस्पीकर राखेको र भारतीय सेनाको “ध्यान भङ्ग गर्न” पञ्जाबी गीत बजाउँदै गरेको भन्ने समाचार आयो।

चौबीसै घण्टा भारतीय सेनाको निगरानी रहने क्षेत्रमा चिनियाँ सैनिकले लाउडस्पीकरहरू राखेको समाचारहरूमा जनाइएको थियो।

भारतीय सैनिक नाचेको भिडिओ

सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय र चिनियाँ दुवै तर्फका सञ्चारमाध्यमले समाचार लेखे। तर समाचारमा कुनै तस्बिर अथवा भिडिओ राखिएको थिएन।

त्यस्तो भएको थियो भनेर भारतीय सेनाले पुष्टि गरेको छैन।

तथापि पञ्जाबी गीतसङ्गीतमा भारतीय सैनिकहरू नाच्दै गरेको पुरानो भिडिओ भारतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शेअर गरिरहेका छन्।

गत सेप्टेम्बरमा भाइरल बनेको एउटा भिडिओमा पाँचजना सैनिक पञ्जाबी गीत सुनेर नाचिरहेको देखिन्छ।

लद्दाख क्षेत्रको भन्दै प्रयोगकर्ताले दाबी गरेको उक्त भिडिओ ८८,००० पटक हेरिएको छ।

दाबीः चीनले ठूलो आवाज भएको स्पीकरबाट गीत बजाउँदा भारतीय सैनिक घाइते

वास्तविकताः सीमामा त्यस्तो उपकरणको प्रयोग गरिएको प्रमाण छैन

यो चाहिँ अघिल्लो लाउडस्पीकरको भन्दा फरक प्रसङ्ग हो।

एक चिनियाँ ट्विटर प्रयोगकर्ताले ठूलो उपकरण देखिने भिडिओ शेअर गर्दै त्यो निकै ठूलो आवाजमा भारतीय शिविरका सैनिकहरूलाई लक्षित गरी गीत बजाउने उपकरण भएको तथा त्यसबाट केही भारतीय सैनिक बिरामी एवम् घाइते भएको दाबी समेत गरेका छन्।

साइरन

त्यो भिडिओ २,००,००० पटक हेरिएको छ र केही भारतीय सञ्चारमाध्यमले सोही दाबीसहित समाचार पनि बनाए।

खासमा चीनद्वारा निर्मित मोबाइल वार्निङ साइरनसम्बन्धी सन् २०१६ को मार्च महिनाको त्यो यूट्यूब भिडिओ हो।

आपत्कालमा सुरक्षा साइरनको रूपमा प्रयोग गर्नका लागि एउटा कम्पनीले त्यो उपकरण बनाएको थियो।

गीत बजाउनका लागि प्रयोग हुने लाउडस्पीकर त्यो हुँदै होइन।

दाबीः भारतीय सुरक्षाकर्मी सवार बस दुर्घटना सीमा तनावसँग सम्बन्धित

वास्तविकताः दुर्घटना भएको तर सीमा क्षेत्रमा होइन

गत सेप्टेम्बर २१ तारिखमा एक चिनियाँ ट्विटर प्रयोगकर्ताले "भारतले आफ्ना सैनिकहरूलाई आफैँलाई मार्नबाट जोगाउनु पर्ने भएकाले" चीनसँग वार्तामा बस्न भारत नआउने दाबी गर्दै एउटा भिडिओ प्रेषित गरे।

भिडिओमा नदीमा डुबिरहेको एउटा सैनिक बस र नजिकै सैनिकहरू उभिएको देखिन्छ।

“लद्दाखमा भारतीय सैनिकको घातक प्रयत्न” भनेर भिडिओमा उल्लेख छ।

भारत दुर्घटना

त्यो भिडिओ ५,००० पटक हेरिएको छ।

हुन त त्यो भिडिओ नक्कली होइन, तर भारत-चीन सीमामा भएको घटनासँग यसको सम्बन्ध छैन।

गत सेप्टेम्बरमा छत्तीसगढको बिजापुर जिल्लास्थित एउटा नदीमा भारतीय सुरक्षाकर्मीको बस खसेको थियो। त्यहीँ घटनाको त्यो भिडिओ हो।

त्यो दुर्घटनामा कसैको पनि ज्यान नगएको भारतीय सुरक्षाकर्मीले त्यति बेलै बताएका थिए।

(बीबीसी मनिटरिङले गरेको थप खोजसहित)

Banner
Reality Check branding