कोरोना भाइरस परीक्षण: अस्पतालमा शय्यानजिकै गरिने जाँचले 'सङ्क्रमण फैलिन रोक्न सक्छ'

तस्बिर स्रोत, zetat/Getty Images
अस्पताल भर्ना हुन लागेका वा भएका बिरामीमा गरिने 'र्यापिड बेडसाइट टेस्ट' भनिने द्रुत परीक्षणले अस्पतालभित्र फैलिने कोरोनाभाइरस सङ्क्रमण घटाउन सहयोग गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।
वैज्ञानिकहरूले उक्त द्रुत परीक्षण विधिको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्। उक्त विधिले दुई घण्टामा नतिजा देखाएको थियो।
सर्वस्वीकार्य परीक्षण विधिमा सङ्कलित नमुना प्रयोगशालामा पठाउनुपर्छ। तर त्यसका लागि लामो समय लाग्छ।
अध्ययनकर्ताहरूले "त्यसको अर्थ द्रुत परीक्षण गरिएका बिरामीहरूलाई सङ्क्रमण देखिनेबित्तिकै आइसोलेशनमा राख्न सकिने" बताएका छन्। त्यसले सम्भवत: भाइरस फैलिने क्रमलाई घटाउनेछ।
कसरी गरियो अनुसन्धान?
उनीहरूले यूकेको न्याश्नल हेल्थ सर्भिसलाई चाँडै यस्तो परीक्षण बढाउन आह्वान गरेका छन्।
उक्त अध्ययन प्रतिवेदन 'द लान्सि रेस्परटरी मेडिसन' मा प्रकाशित भएको छ।
गत मार्च र एप्रिलमा साउथह्याम्पटक जेनरल हस्पिटलका वैज्ञानिकहरूले कोरोनाभाइरसको लक्षण देखिएका ५०० मानिसमा उक्त विधिबाट परीक्षण गरेका थिए।
उक्त परीक्षण बिरामी बसेका शय्यानजिकै गरिएको थियो र एउटा वार्डमा एउटै उपकरण प्रयोग गरिएको थियो।
उनीहरूले उक्त 'बेडसाइड र्यापिड टेस्ट'को नतिजालाई नाक वा घाँटीको स्वाब दिएर परीक्षण गरिएका करिब ५०० बिरामीसँग तुलना गरेर हेरेका थिए।
ती बिरामीको परीक्षणका लागि नमुना एउटा छुट्टै प्रयोगशालामा पठाइएको थियो।
शय्यानजिकै परीक्षण गरिएका बिरामीलाई स्वाब दिएर त्यसको नतिजा पर्खिने बिरामीहरूभन्दा औसतमा एक दिनअगाडि नै कोरोनाभाइरसका लागि छुट्ट्याइएका आइसोलेशन वार्डमा सार्न सकिने उक्त अध्ययनले देखाएको छ।


- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


के छन् यो परीक्षण विधिका विशेषता?
प्रारम्भिक दिनहरूमा स्वाब लिएर गरिने परीक्षणको नतिजा आउन औसतमा २१ घण्टा लाग्ने गरेको वैज्ञानिकहरूले पाएका छन्।
त्यसले गर्दा बिरामीहरूले अस्पतालमा सही मार्गदर्शन पाउन नसकेको देखिएको छ।
तर उनीहरूले हालैका महिनाहरूमा कैयौँ अस्पतालहरूमा यस्तो परीक्षणमा पनि सुधार आएको बताएका छन्।
"पोइन्ट-अफ-केअर" भनिने द्रुत गतिमा परीक्षण गरिने विधि अझै पनि कैयौँ लाभहरू भएको उनीहरूको तर्क छ।
यसबाट स्वाब प्रयोगशालामा पठाउने, त्यसलाई परीक्षण र विश्लेषण गर्ने, नतिजा क्लिनिकल समूहलाई पठाएर त्यसलाई हेर्नेलगायतको समय बचाउन सकिने उनीहरूको दाबी छ।
के भन्छन् अनुसन्धानकर्ता?
उक्त अध्ययन गर्ने डा. ट्रिस्टन विलियम क्लर्कले बीबीसीसँग भने, "द्रुत परीक्षणमा बिरामी सबैभन्दा उपयुक्त वार्डमा जाऊन् भनेर अस्पतालमा भर्ना गर्ने एउटै समूहले प्राय: बिरामीको परीक्षण गर्छ र नतिजाहरू हेर्ने गर्छ। त्यसको अर्थ कामहरू निकै चाँडो हुन्छन्।"
उनी यस्तो परीक्षण महँगो हुनसक्ने तर चाँडै वार्डहरूमा बिरामी सार्न सकिने कुराले त्यसको फाइदा धेरै रहेको बताउँछन्।
वोरिक मेडिकल स्कूलका प्राध्यापक लरेन्स योङ उक्त अनुसन्धानलाई "एउटा रोमाञ्चक विकास" भन्छन्।
उनी भन्छन्, "द्रुत रूपमा सङ्क्रमितको पहिचान गर्न सकिने भन्ने यो खालको दृष्टिकोणको अर्थ त्यस्ता सङ्क्रमितलाई चाँडै अन्य सङ्क्रमण नभएका बिरामीलाई सङ्क्रमण हुनबाट बचाउनु हो। यसको अर्थ सङ्क्रमितले चाँडै उपयुक्त उपचार पाउनु पनि हो।"









