शिशुकक्षाका विद्यार्थीलाई विष दिने चिनियाँ शिक्षिकालाई मृत्युदण्ड सुनाइयो

चीन

चीनमा एउटा शिशुकक्षाका २५ विद्यार्थीलाई विष दिएको र एक जनाको ज्यान लिएको अभियोग लागेकी एक शिक्षिकालाई मृत्युदण्ड सुनाइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि वाङ युनलाई पक्राउ गरिएको थियो।

अदालतका अनुसार वाङले आफ्नी एक सहकर्मीको जिम्मामा भएका विद्यार्थीहरूको खानामा सोडीअम नाईट्राईट मिसाइदिएको ठहर गरेको छ।

ती सहकर्मीसँग विवाद भएपछि प्रतिशोध लिन उनले त्यसो गरेको बताइएको छ।

अदालतले वाङलाई "अनैतिक र दुष्ट" भनेको छ।

कसरी भयो घटना?

गत वर्ष मार्च महिनामा उक्त घटना भएपछि पूरै चीन स्तब्ध भएको थियो। यसले विश्वभरि समाचारमा स्थान पायो।

त्यतिबेला प्रकाशित विवरणमा खाना खाएपछि २३ बालबालिकालाई बान्ता भएको र उनीहरू अचेत भएको उल्लेख छ।

ती शिक्षिकाले विष हालेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरेको थियो।

सोमवार स्थानीय अदालतले उक्त मुद्दा टुङ्ग्याउँदै उनलाई मृत्युदण्ड सुनाएको ग्लोबल टाईम्स पत्रिकाले प्रकाशित गरेको समाचारमा उल्लेख छ।

Presentational grey line
Presentational grey line

विद्यार्थी व्यवस्थापनसम्बन्धी विषयमा आफ्नी सहकर्मीसँग विवाद भएपछि ती शिक्षिकाले "अर्की शिक्षिकाका विद्यार्थीको खानामा नाईट्राईट हालिदिएको" ठहर भएको उक्त पत्रिकाले जनाएको छ।

सोडीअम नाईट्राईट प्रायः मासु प्रशोधन गर्न प्रयोग गरिन्छ।

तर ठूलो मात्रामा प्रयोग गर्दा उक्त रसायन विषाक्त हुन्छ।

के भन्यो अदालतले?

अदालतका अनुसार वाङले त्यसअघि पहिला पनि मानिसलाई विष दिएको बताएको छ।

उसका अनुसार अनलाइन माध्यमबाट नाईट्राईट किनेर उनले आफ्नै पतिलाई हालिदिएकी थिइन्। उनी सामान्य घाइते मात्र भएका थिए।

विद्यालयमा भएको घटनामा मृत्यु भएका शिशुबारे थप जानकारी प्राप्त भएको छैन।

ग्लोबल टाईम्सका अनुसार अदालतले "वाङ अनैतिक र दुष्ट भएको र उनले गरेका अपराधका परिणामहरू अत्यन्तै गम्भीर भएका तथा उनी गम्भीर दण्डका लागि योग्य भएको" सुनाएको थियो।

चीनमा कति जनालाई मृत्युदण्ड दिइन्छ भन्ने कुनै तथ्याङ्क सरकारले उपलब्ध गराउँदैन।

तर मानवाधिकारको क्षेत्रमा सक्रिय सङ्गठनहरूले त्यहाँ बर्सेनि हजारौँ मानिसलाई मृत्युदण्ड दिइने दाबी गरेका छन्।

त्यहाँ विषालु सुई दिएर वा गोली हानेर मृत्युदण्ड दिइन्छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?
भिडिओ क्याप्शन सुरु हुँदैछ, लकडाउनपछि वुहान