चीन: हत्याको अभियोग लागेका व्यक्तिलाई २७ वर्षपछि सफाइ

तस्बिर स्रोत, Getty Images
हत्याको अभियोगमा चीनको पूर्वी क्षेत्रमा २७ वर्षदेखि जेल सजाय भोगिरहेका एक व्यक्तिलाई निर्दोष ठहर गरेर रिहा गरिएको छ।
प्रहरीले आफूलाई यातना दिएर सन् १९९३ मा दुई युवाको हत्या गरेको स्वीकार गर्न बाध्य पारेको जाङ युख्वानले बताएका छन्।
जीयाङ्सी प्रान्तस्थित जेलमा ९,७७८ दिन काटेका उनी चीनमा विनाअपराध सबैभन्दा लामो समयसम्म थुनामा परेका व्यक्ति हुन्।
उनी विरुद्धको मुद्दा पुनः खुला गरेका अभियोजनकर्ताहरूले उनको स्वीकारोक्तिमा समनता नदेखिएको र मूल अपराधसँग मेल नखाएको बताएका छन्।
एउटा उच्च अदालतले उनको दोष प्रमाणित गर्न पर्याप्त प्रमाणहरू नभएको पाएसँगै उनी मुक्त भएका छन्।
पर्यवेक्षकहरूका अनुसार चीन गलत रूपमा लगाइएका अभियोग उल्टाउन इच्छुक देखिन्छ तर त्यो राजनीतिक मुद्दामा नभएर आपराधिक मुद्दामा मात्रै केन्द्रित छ।
पुनर्मिलन
चिनियाँ सञ्चारमाध्यममा देखाइएका भिडिओमा ८३ वर्षीया आमा र पूर्वपत्नीसँग जाङको भावनात्मक पुनर्मिलन देख्न सकिन्छ। उनलाई मङ्गलवार रिहा गरिएको थियो।
जाङ र उनकी पूर्वपत्नी सङ सीअवन्युका दुई छोरा छन्। उनीहरूले ११ वर्ष अघि सम्बन्धविच्छेद गरेका थिए।
त्यसपछि अर्को विवाह गरे पनि सङले आफ्ना पूर्वपतिको मुद्दा पुनरवलोकनसम्बन्धी विषयमा सहयोग गरिरहेकी थिइन्।
"अदालतको फैसला सुन्दा म निकै उत्साहित भएको थिएँ," उनले भनिन्।
अदालतका अनुसार गलत अभियोगमा जेल परेको विषयमा उनी क्षतिपूर्ति माग गर्नका लागि योग्य छन्।
"म उनीसँग क्षतिपूर्ति रकमबारे छलफल गर्नेछु," उनका वकिल वाङ फेइले चाइना डेलीलाई बताए।
सन् १९९३ मा जीन्सीयाङ काउन्टीस्थित एउटा बाँधमा दुई युवाको शव फेला परेसँगै जाङसँग कानुनी सोधपुछ सुरु गरिएको थियो।
उनी ती दुई मृतकका छिमेकी थिए र उनलाई मुख्य अभियुक्तका रूपमा हेरिएको थियो।
फैसला
सन् १९९५ को ज्यानुअरीमा जियाङ्सी प्रान्तको राजधानी नान्चाङ्गस्थित एउटा अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो।
तर उनले दुई वर्ष सजाय काटेपछि भने उक्त फैसलालाई आजीवन कारावासमा परिणत गर्न अनुमति दियो।
जाङका अनुसार प्रहरीले उनलाई सोधपुछका क्रममा यातना दिने गर्थे। तर उनले अदालतमा आफू निर्दोष रहेको बताइरहे।
सन् २०१९ को मार्च महिनामा उच्च अदालत उक्त मुद्दा फेरि हेर्न सहमत भयो र जुलाईमा प्रान्तीय अभियोजनकर्ताहरूले प्रमाणको कमीका आधारमा उनलाई रिहा गर्न सिफारिस गरे।
एउटा वक्तव्यमा उच्च अदालतका न्यायाधीश टीएन गान्लीनले भने: "हामीले प्राप्त गरेको सामग्री समीक्षा गर्दा जाङलाई दोषी प्रमाणित गर्ने स्पष्ट प्रमाण भेटिएन। त्यस कारण हामीले उनलाई रिहा गरिनुपर्ने अभियोजनकर्ताको सुझाव स्वीकार गरेका छौँ।"
सन् १९९३ मा मारिएका दुई युवाका हत्याराबारे भने हालसम्म पत्ता लागेको छैन।









