तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल-चीन सीमाः चिनियाँ दूतावास भन्छ, 'हुम्लानजिकै बनाइएका भवनको प्रयोजन आवासीय '
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
काठमाण्डूस्थित चिनियाँ दूतावासले नेपाल-चीन सीमा क्षेत्रनजिकै आफ्नो देशको भूमिमा निर्मित भवनहरू स्थानीय बासिन्दाका लागि भएको बताएको छ।
नेपालको स्थानीय तहका अधिकारीहरूले विगतमा आफूहरूले उपभोग गरिरहेको हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा चिनियाँ पक्षले यस वर्ष नौसहित ११ वटा भवन बनाएको बताएपछि यसै साता हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययन गरेको थियो।
तर काठमाण्डूस्थित चिनियाँ दूतावासले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको र ती भवनहरू चिनियाँ भूमिमा नै बनेको दाबी गरेको छ।
बुधवार नेपालको परराष्ट्र मन्त्रालयले ती भवनहरू नेपाली भूभागमा नबनेको सरकारी अभिलेखहरूले प्रमाणित गरेको जनाएको थियो।
मन्त्रालयका अनुसार उक्त स्थानमा भवन बनाइएका समाचार प्रकाशमा आएपछि विक्रम संवत् २०७३ सालमा नेपालको अन्तरमन्त्रालय टोलीले स्थगलगत अध्ययन गरी सीमाभन्दा करिब एक किलोमिटर भित्र चिनियाँ भूभागमा भवन बनेको निष्कर्ष निकालेको थियो।
भवनको प्रयोजन
काठमाण्डूस्थित चिनियाँ दूतावासका प्रवक्ताले ती भवनहरू सर्वसाधारणका लागि बनाइएको प्रतिक्रिया दिएका छन्।
यसअघि नाम्खा गाउँपालिकाका अध्यक्षले व्यापारिक प्रयोजनका लागि ती भवनहरू बनेको एक चिनियाँ प्रहरीले आफूलाई बताएको जानकारी दिएका थिए।
बीबीसीलाई इमेलमा जवाफ दिँदै चिनियाँ राजदूतावासका प्रवक्ता चाङ सूले भने, “मैले बुझेसम्म यी स्थानीय मानिसहरूका लागि बनाइएका आवासहरू हुन्।”
प्रवक्ता चाङ सूले चीनले सीमाका विषयमा नेपाल सरकारसँग राम्रो संवाद गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि मित्रवत् संवाद र सहमतिबाट दुई देशले समन्वय गरेर अघि बढ्ने बताए।
स्थानीय जनप्रतिनिधिले विगतमा आफूहरूले उपभोग गरिरहेको क्षेत्रमा ती भवन बनेको र विगतमा सडक निर्माण, पशुहरूको चरनलगायतका प्रयोजनका लागि आफूहरू त्यसतर्फ बिनाअवरोध आउजाउ गरेको बताइरहेका छन्।
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङका अनुसार केही वर्षअघि दुईवटा मात्रै भवन बनाउँदा स्थानीय चिनियाँ अधिकारीले पशु क्वारन्टीनका लागि ती संरचनाहरू निर्माण गरिएको जानकारी दिएका थिए।
यसै हप्ता स्थलगत अध्ययनमा गएको टोलीमा पनि सहभागी रहेका तामाङले भने, “सुरुमा भवन बनेको बेला पशुहरूलाई खोप लगाउने ठाउँ भनेको थियो। अहिले खाली घरहरू मात्रै देखिन्छ। केही प्रहरीहरू मात्रै बसेका छन् र चिनियाँ सैनिक पनि त्यहाँ बसेको छैनन्। त्यही भएर किन बनाइयो बुझ्न सकिएको छैन।”
धार्मिक र पर्यटकीय महत्व
भवनहरू बनेका ठाउँनजिकै रहेको स्थानलाई हुम्लाका स्थानीय बासिन्दाहरू लिमी लाप्चा भन्ने गर्छन् जहाँबाट तिब्बतमा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कैलाश-मानसरोवर प्रष्टसँग देखिन्छ।
चिनियाँ भवनहरू निर्माण भएको ठाउँको बीबीसीलाई प्राप्त तस्बिरमा पनि भवनहरूको पृष्ठभूमिमा कैलाश पर्वत देखिन्छ।
हुम्लाबाट पदयात्रीहरू लिमी लाप्चामा कैलाश-मानसरोवर दर्शन गर्न पुग्ने तर त्यहाँ कुनै होटल र सुविधा नभएकाले वरै तुम्लिङ भन्ने ठाउँमा बास बस्ने गरेको वडाध्यक्ष तामाङ बताउँछन्।
लिमी लाप्चा चिनियाँ भवनहरू रहेको स्थानबाट झन्डै एक किलोमिटरको दूरीमा रहेको बताइन्छ।
भवनहरू बनेको ठाउँबाट सबैभन्दा नजिक भनिएको नेपाल चीन १२ नम्बर सीमास्तम्भ ५,००० मिटरभन्दा बढी उचाइमा रहेको लाप्चा भन्ज्याङमा छ।
यसअघि हराइरहेको भनिएको नेपाल चीन सीमास्तम्भ नम्बर ११ हिउँले पुरिएको अवस्थामा बुधवार भेटिएको र अब त्यसकै आधारमा प्राविधिक अध्ययन गरेर ती भवनहरू कहाँ बनेका हुन् निर्क्योल गर्न सजिलो हुने गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ बताउँछन्।
कैलाश-मानसरोवर जाने र महँगो शुल्क तिर्न सक्ने पर्यटकहरूलाई लक्षित गरी चिनियाँ पक्षले ती भवनहरू बनाएको हुनसक्ने सुरक्षा मामिलामा दखल राख्ने एक विज्ञले नाम उल्लेख नगर्ने सर्तमा बताए।
चीनको सुरक्षा चासो
तर आफ्नो सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै चीनले ती भवनहरू बनाएको हुनसक्ने ठान्नेहरू पनि छन्।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा किन ती भवन बनाइयो भन्नेभन्दा पनि ती भवन नेपाली भूभागमा बनेका हुन या होइनन् भन्ने प्रश्न महत्त्वपूर्ण भएको तर्क गर्छन्।
उनले भने, “यदि दशगजाभित्र बनेको छ वा दशगजामा बनेको छ वा हाम्रो भूमिमा बनेको छ भने त्यो अन्तर्राष्ट्रिय सीमासम्बन्धी मान्यताविपरीत भयो। आफ्नो भूमिमा बनाएको छ भने उनीहरूले आफ्नो क्षेत्रमा भवनहरू बनाउन सक्छन्।"
“हल्लैहल्लाको भरमा तथ्यविपरीत कुनै पनि धारणा बनाउनुहुँदैन। भारत वा चीन कसैको बारेमा पनि भ्रम छर्नुहुँदैन।”
नेपाल र चीन दुवैले उत्तरी सीमा क्षेत्रमार्फत् नेपाल हुँदै भारत जाने तिब्बती शरणार्थीको प्रवेशमा कडाइ गरेपछि कतिपय सीमानाकामा रहेका पास हुँदै कठिन यात्रा गरेर उनीहरू गैरकानुनी रूपमा नेपाल प्रवेश गरेको देखिन्छ।
इँटाबाट निर्मित र प्लास्टर गरिएका भवनहरूमा सोलार जोडिएको र त्यस क्षेत्रलाई पर्खाल लगाएर बेरिएको आइतवार स्थलगत अध्ययनमा लालुङ्जोङ गएको नेपाली टोलीका एक सदस्यले बताएका थिए।
उक्त टोलीलाई चिनियाँ सेनाले आफ्नो देशको भूमिमा वार्ता हुन नसक्ने र वार्ता गर्ने नै भए दुई देशको सीमाबिन्दुमा जानुपर्ने बताएको थियो।
त्यसपछि चिनियाँ सुरक्षाकर्मीसँग वार्ता नै नगरी नेपाली पक्ष फर्किएको थियो।
राज्यको उपस्थिति
उत्तर र पश्चिम दिशामा तिब्बततर्फ सीमा रहेको नाम्खा वडा नम्बर ६ मा सरकारको उपस्थिति लगभग शून्य रहेको र त्यहाँ टेलिफोनको पनि पहुँच नरहेको वडाअध्यक्ष तामाङले बताए।
उक्त वडामा जाङ, हल्जी र तिल गाउँहरू छन्। हल्जी हुम्ला सदरमुकामबाट ५० कोस टाढा छ।
झन्डै १,१०० जनसङ्ख्या रहेको त्यहाँका वडाका युवाहरू तीन घण्टासम्म टिपर चढेर काम गर्न चीनको सीमा क्षेत्रमा जाने गर्छन्।
हाल कोरोनाभाइरसको महामारीसँगै त्यो क्रम पनि भङ्ग भएको बताइन्छ।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले सीमा चीनसँग जोडिएपनि त्यहाँ सरकारको उपस्थिति शून्य रहेको र सुरक्षा चौकी बनाउन पटकपटक सरकारसँग आफूले माग गरेको बीबीसीलाई यसै हप्ता बताएका थिए।
सिमिकोट-लिमी-हिल्साको वैकल्पिक मार्ग हुँदै उक्त क्षेत्रलाई कैलाश-मानसरोवर पर्यटनको हिस्सा बनाउन सकिने आवाज स्थानीय स्तरमा उठ्ने गरेको छ।
त्यसैअनुसार स्थानीय समुदायले चीनले अहिले भवन बनाएको ठाउँ नजिकसम्म झन्डै ४० किलोमिटर लामो सडक निर्माण गरेको थियो। हुम्ला सदरमुकाम सिमीकोटबाट लिमी जोड्ने १०५ किलोमिटर सडक पनि बनेको छ।
तर वर्षमा एकचोटि सीमासम्म चिनियाँ पक्षले समान ल्याइदिने र त्यसको मूल्य पनि सस्तो पर्ने भएकाले लिमीवासीहरूले आफैँले बनाएको सडकको प्रयोग गर्ने गरेको गाउँपालिका अध्यक्ष तामाङ बताउँछन्।
उक्त क्षेत्र लिमी उपत्यकामा पर्छ र त्यसलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सन् २०१० मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय केन्द्र इसिमोडले गराएको एउटा अध्ययनमा उल्लेख छ।