अस्ट्रेलियाको टापुमा सयौँको सङ्ख्यामा ह्वेल अलपत्र, धेरैको मृत्यु

तस्बिर स्रोत, BILAL RASHID/REUTERS
अस्ट्रेलियाको तास्मानिया द्वीपमा ठूलो सङ्ख्यामा ह्वेलहरू समुद्री तटमा आएर अलपत्र परेको उद्धारकर्ताहरूले बताएका छन्।
सोमवारयता उक्त द्वीपको पश्चिमी तटमा झन्डै ४७० वटा ह्वेल फेला परेका छन्।
अहिले देखा परेको नयाँ समूहमा भएका २०० मध्ये अधिकांश ह्वेल मरिसकेको जस्तो देखिएको अधिकारीहरूले बुधवार बताएका छन्।
उनीहरूका अनुसार उद्धारकर्ताहरूले थोरै पानी भएको ठाउँमा अलपत्र परेका ह्वेललाई जोगाउन सङ्घर्ष गरिरहेका छन्।
पहिला फेला परेको समूहका २५ वटा ह्वेललाई मङ्गलवार उद्धार गरिएको थियो। तर तीमध्ये केहीलाई छालले फेरि तटतिर ल्याइदिएको अधिकारीहरूले बताएका छन्।
के भन्छ सरकारी निकाय?
एउटा सरकारी निकायका अधिकारी निक डेकाले मृत ह्वेलको सङ्ख्या बढेकोमा आफूहरू निराश भएको तर बुधवार उद्धारकर्ताहरूले अरू ह्वेललाई सुरक्षित स्थानतिर पठाउने आशा गरिएको बताए।
हेलिकप्टरबाट मङ्गलवार पहिलो स्थानबाट १० किलोमिटर पर ह्वेलको अर्को समूह देखियो। ती सबै ह्वेल एउटै बथानको भएको अनुमान गरिएको छ।
"आकाशबाट हेर्दा उद्धार आवश्यक पर्छ जस्तो लागेको थिएन। तर परीक्षणका लागि हामी डुङ्गा पठाउँदैछौँ," डेकाले भने।
पहिलो समूहमा भएका कम्तीमा ९० वटा ह्वेल मरिसकेका छन्।

तस्बिर स्रोत, Bilal Rashid / Reuters
ती ह्वेलहरू किन त्यहाँ पुगे भन्ने कुरा स्पष्ट हुन सकेको छैन।
तर वैज्ञानिकहरूका अनुसार पाइलट ह्वेलहरूमा बलियो सामाजिक सम्बन्ध हुन्छ।
कसरी पुगे तटमा?
यो प्रजातिको ह्वेलको आकार सानो हुन्छ र प्रायः समुद्री तटमा पुग्छ। एउटा वयस्क पाइलट ह्वेल सात मिटर लामो र तीन टन गह्रुङ्गो हुनसक्छ।
अस्ट्रेलियन एन्टार्क्टिक डिभिजनले अहिले अलपत्र परेका ह्वेलको सङ्ख्या सर्वाधिक हो कि हैन भनेर अभिलेखको अध्ययन गरिरहेको जनाएको छ।
"यो सबैभन्दा ठूलो हो जस्तो मलाई लाग्छ ...। योभन्दा ठूलो सङ्ख्यामा अलपत्र परेको मलाई सम्झना छैन," सदर्न क्रस यूनिभर्सिटीको ह्वेल रिसर्च ग्रूपका प्राध्यापक पिटर ह्यारिसनले बीबीसीलाई बताए।
तास्मानियामा यसअघि सन् १९३५ मा २९४ वटा र सन् २००९ मा २०० वटा पाइलट ह्वेल फसेका थिए।
अस्ट्रेलियामा त्यसरी ह्वेल अलपत्र पर्दा ८० प्रतिशतभन्दा बढी घटना तास्मानियामा हुन्छ।

तस्बिर स्रोत, TASMANIA GOVERNMENT
वैज्ञानिकहरूका अनुसार उद्धार कार्य केही दिनसम्म चल्नेछ।
यो क्षेत्रमा ह्वेलहरू तटीय क्षेत्रमा पुग्नुलाई सामान्य रूपमा हेरिन्छ। तर ठूला आकारका ह्वेलहरू भने तटीय क्षेत्रमा धेरै दशकमा पहिलो पटक देखिएको हो।
कसरी गरिँदैछ उद्धार?
तालिमप्राप्त ४० उद्धारकर्ताको एउटा टोलीले विभिन्न उपकरणको सहयोगले मङ्गलवार बिहान केही ह्वेललाई कम पानी भएको ठाउँबाट गहिरो पानी भएको ठाउँतिर पुर्याउन सुरु गरेका थिए।
ह्वेलहरू पानीमा सहज रूपमा चल्न थालेपछि अन्ततः तिनलाई सुरक्षित स्थानमा पठाइने उनीहरूको भनाइ छ।
छालका कारण उक्त कार्य चुनौतीपूर्ण हुन जाने जीवविज्ञ डाक्रिस क्यार्लीअनले सञ्चारकर्मीहरूलाई बताए।
ती ह्वेललाई चलायमान बनाउन डुङ्गाहरूको प्रयोग गर्नुपर्ने हुनसक्ने बताइएको छ। तर उनका अनुसार धेरै ह्वेल निकै ठूलो वा असहज स्थानमा फसेका हुनसक्छन्।
यसअघिका उद्धारकार्यको अनुभवका आधारमा पाइलट ह्वेल तीनदेखि चार दिनसम्म बाँच्न सक्ने थाहा भएको उनले बताए।

तस्बिर स्रोत, TASMANIA POLICE
ह्वेलहरू किन तटतिर जान्छन्?
यसको स्पष्ट कारण थाहा हुन नसकेको वैज्ञानिकहरू बताउँछन्।
अस्ट्रेलिया र न्यूजील्यान्ड वरपर विभिन्न प्रजातिका ह्वेलहरू मौसमका कारण बसाइँ सर्छन्। त्यसो गर्दा एउटा बथानमा १,००० वटासम्म ह्वेल हुन्छन्।
अनुसन्धानकर्ताहरूका अनुसार उनीहरू एउटा नेतालाई पछ्याउँछन् जसले गर्दा पूरा समूह नै तटमा पुग्ने सम्भावना रहन्छ।
"यो एउटा वा दुइटा ह्वेलको दुर्भाग्यका कारण भएको हुनसक्छ। पाइलट ह्वेल सामाजिक प्राणी हुन् र अरू पनि पछिपछि लागेको हुन सक्छ," डा. क्यार्लीअनले भने।
न्यूजील्यान्डमा सन् २०१८ मा यस्तै घटनामा परेर एक हप्ताको समयमा २०० भन्दा बढी ह्वेलको मृत्यु भएको थियो।
नदीमा फसेको समुद्र फर्कियो
यसैबीच अस्ट्रेलियामै बाटो बिराएर धेरै गोहीहरू भएको एउटा नदीमा पुगेको एउटा हम्पब्याक ह्वेल सुरक्षित रूपमा समुद्र फर्किन सफल भएको छ।

तस्बिर स्रोत, PArks Australia
उक्त ह्वेल पहिलो पटक एक हप्ताअघि उत्तरी क्षेत्रमा देखा परेको थियो।
उक्त ह्वेल कम पानी भएको स्थानमा फस्न सक्ने वा डुङ्गासँग ठोक्किन सक्ने चिन्ता उत्पन्न भएको थियो।
क्याकडू राष्ट्रिय निकुञ्जस्थित नदीमा हम्पब्याक ह्वेल फेला परेको पहिलो पटक थाहा भएको बताइन्छ।








