कोरोना भाइरस नेपाल: दैनिक सङ्क्रमणमा नयाँ उच्च सङ्ख्या, आठ जनाको मृत्यु

तस्बिर स्रोत, GETTY CREATIVE
बुधवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,५३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो एकै दिन पुष्टि गरिएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।
सो अवधिमा आठ जनाको मृत्यु भएको उसको तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५८,००० नाघेको छ।
सरकारका अनुसार अहिलेसम्म ३७९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
काठमाण्डू र सिराहामा सबैभन्दा बढी थपिए
सङ्क्रमितमध्ये २६४ अर्थात् एकतिहाइभन्दा बढी महिला छन्। केही सातादेखि सङ्क्रमण भएका महिलाको सङ्ख्या बढेको तथ्याङ्कले देखाउँछ।
सबैभन्दा बढी काठमाण्डू जिल्लामा ६५२ जना सङ्क्रमित थपिएका हुन्।
भक्तपुरमा २५ र ललितपुरमा ६० गरी काठमाण्डू उपत्यकाका जिल्लामा ७३७ जना थपिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। उपत्यकामा भेटिएका सङ्क्रमितमध्ये २६४ महिला छन्।
सिराहामा २७४ जना सङ्क्रमित थपिएका छन्।
त्यसैगरी सुनसरीमा ७०, मोरङमा ३५, सप्तरीमा ४४, मकवानपुरमा ४९, कास्कीमा ३२, बाँकेमा ४४, रूपन्देहीमा ४५ र सल्यानमा ३३ जनामा कोभिड-१९ पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मृतक कुन जिल्लाका?
बुधवार मृत्यु भएकामध्ये सुनसरीका ७० वर्षीय पुरुष, सप्तरीका ३५ वर्षीय पुरुष, कास्कीका ७० वर्षीय पुरुष र बाराकी ४६ वर्षीया महिला रहेकी छन्।
दुई जनाको मृत्यु भएको काठमाण्डूमा ७१ र ७४ वर्षीया महिलाहरू एवम् काभ्रेपलान्चोकका ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुष रहेका छन्।

अहिले देशभरि १६,२४८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८,५४१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।
त्यसमा पनि काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा १०,४९४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताए।
डा. गौतमका अनुसार सो अवधिमा सङ्क्रमितमध्ये थप १,०६८ जना कोभिड-१९ मुक्त भएका छन्।
अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।
मङ्गलवार सङ्क्रमितको सङ्ख्यामा सर्वाधिक वृद्धि हुनुको साथै थप ११ जनाको मृत्यु भएको थियो भने सोमवार मन्त्रालयले १,१७० जनामा सङ्क्रमण र १५ जनाको मृत्यु पुष्टि गरेको थियो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










