तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत-चीन सीमा विवादः दुई देशले कसरी तनाव मत्थर पारे
- Author, विकास पाण्डे
- Role, बीबीसी न्यूज, दिल्ली
हिमाली क्षेत्रको सीमासम्बन्धी महिनौँदेखिको विवादपछि दुई छिमेकी भारत र चीनले केही दिनअघि आफ्ना सेनाहरू छिट्टै पछि हट्ने घोषणा गरेर धेरैलाई आश्चर्यमा पारे।
रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशङ्कर र उनका चिनियाँ समकक्षी वाङ यीबीच तारन्तारको वार्तापछि संयुक्त घोषणा आयो।
परमाणुशक्तिसम्पन्न दुई देशबीच वाक्युद्ध चर्किरहेकै बेला सेनाहरू छिट्टै पछि हट्ने घोषणा आएको हो।
दिल्लीले युद्धका लागि उक्सायो भने "चिनियाँ फौजले भारतीय फौजलाई तत्कालै ठूलो झट्का दिने र उनीहरूलाई परास्त गर्ने" भनेर गत हप्ताको आरम्भतिर चिनियाँ सरकारी स्वामित्वको ग्लोबल टाइम्सले लेख्यो।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्न देश दृढ सङ्कल्पित रहेको कुरामा "कुनै शङ्का गर्न नपर्ने" बताए।
यी अभिव्यक्तिले दुई देशका फौजहरू आमुन्नेसामुन्ने रहेको वास्तविकतालाई प्रतिविम्बित गरे।
गत जुन महिनामा लद्दाखको गलवानउपत्यकामा दुई देशका सेनाबीच हिंसात्मक झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए।
आफ्नो पक्ष कोही हताहत भए वा नभएको विषयमा चीनले अहिलेसम्म केही बताएको छैन।
दुवै देशले अझै सो क्षेत्रमा ठूलो सङ्ख्यामा फौज परिचालन गरिरहेका छन्।
एस जयशङ्करको भूमिका कस्तो?
उसोभए कुन कुराले दुई देशलाई तनाव मत्थर पार्न लगायो, जुन कुरा हुने थोरैले मात्र अपेक्षा गरेका थिए?
विल्सन सेन्टर थिङ्क ट्याङ्कका उपनिर्देशक माइकल कुगलम्यानसहित धेरैलाई लागेको थियो कि दुवै देश भिडन्तका लागि तयार छन्, तर उनीहरूलाई यो पनि लागेको थियो कि सीमित खालको युद्ध भए पनि त्यो विकल्प चाहिँ होइन।
"त्यो दुवै देश र व्यापक क्षेत्रका लागि भयावह हुन सक्थ्यो। अर्थतन्त्रका कारण युद्धको जोखिम मोल्न एकदमै खतरनाक हुनसक्थ्यो," उनले थपे।
एस जयशङ्कर बेइजिङका लागि राजदूत रहिसक्नु र चिनियाँ कूटनीतिज्ञहरूसँग उनको राम्रो सम्बन्ध हुनुले पनि यसमा सहयोग गर्यो।
कुगलम्यानका अनुसार त्यसले गतिरोध अन्त्य गरायो। महत्त्वपूर्ण कूटनीतिक वार्ताहरूमा व्यक्तिगत सम्बन्धले पनि प्रायः भूमिका खेल्ने गरेको उनको बुझाइ छ।
मौसमले पनि त्यसमा केही भूमिका निर्वाह गर्यो। जाडोयाममा गल्वान उपत्यकामा बस्न निकै गाह्रो हुन्छ।
भारतीय सेनाका अवकाशप्राप्त सैनिक अधिकारी विनोद भाटियाका अनुसार दुवै देशका फौजले एकदमै कठिन स्थितिमा काम गरिरहेका छन्, तर "रहन चाहने वा नचाहने सोधियो भने दुवैका फौज त्यहाँ रहन चाहदैनन्।"
"भारतले यही कुराको फाइदा उठाउन चाहेको हुनसक्छ," लेफ्टिनेन्ट जेनरल भाटियाले थपे।
दुवै देशले हाल अरू समस्यासँग पनि जुझ्नुपरेको छ। भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दो छ भने अर्थतन्त्र सङ्कटमा परिरहेको छ।
सैन्य मुठभेडले ती समस्याबाट पार पाउने उसको क्षमतालाई प्रभावित पार्न सक्छ।
अर्कोतिर चीन संयुक्त राज्य अमेरिकासहित विभिन्न देशसँग तनाव छ भने हङ्कङमा ल्याइएको विवादास्पद सुरक्षा कानुनको विषयसँग ऊ जुझिरहेको छ।
शान्ति कति छिटो पुनर्स्थापित हुन सक्ला?
विश्लेषकहरू भन्छन् - त्यसबारे पूर्वानुमान गर्न गाह्रो छ।
अमेरिकाको वाशिङ्टनस्थित स्टिमसन सेन्टर थिङ्क ट्याङ्ककी निर्देशक युन सनका अनुसार दुवै देशले पछिल्लो घोषणाबारे विस्तृत रूपमा खुलाएका छैनन्।
पहिलो कुरा वास्तविक सीमारेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) बारे घोषणामा केही उल्लेख गरिएको छैन।
"एलएसीसँग जोडिएका थुप्रै ठाउँमा विवाद छ जहाँ सेना अझै तैनाथ छन्। अतः यी विषयलाई सम्बोधन गर्नेबारे स्पष्टता देखिँदैन," उनी थप्छिन्।
तनाव अन्त्य हुन समय लाग्ने र अहिलेको अवस्था हेर्दा त्यसका लागि लामो समय लाग्न सक्ने भाटियाको ठम्याइ छ।
"त्यो क्षेत्र एकदमै ठूलो छ र समझदारीमा पुग्न कमान्डरहरूलाई समय लाग्नेछ।"
निर्देशक यनका अनुसार दुवै देश यथास्थितिमा रहन चाहन्छन् र त्यो कुरा एकदमै जटिल छ किनकि दुवै देशले यथास्थितिलाई आफ्नै तरिकाले परिभाषित गर्छन्।
"भारतले दाबी गर्दै आएका क्षेत्रमा चिनियाँ फौज पुगिसकेका छन् र उनीहरूले ती ठाउँ छोड्ने वा नछोड्ने स्पष्ट भइसकेको छैन।"
तनाव कति छिटो अन्त्य हुन्छ भन्ने कुरा कुन कुराले तनाव निम्त्यायो भन्नेमा पनि निर्भर गर्छ।
हुन त दशकौँदेखि सुल्झिन नसकेका विवादित विषय केही दिनमै सुल्झिने कुरा हुँदैन।
"तर यो राम्रो थालनी हो। वार्ता हुँदै नहुनुभन्दा हुनु राम्रो हो, तर हामी सावधानीपूर्वक आशावादी हुनुपर्छ," कुगलम्यान भन्छन्।