कोरोना भाइरस नेपाल: थपिए एक हजारभन्दा बढी सङ्क्रमित, आधाभन्दा बढी काठमाण्डू उपत्यकामा

तस्बिर स्रोत, GETTY CREATIVE
शनिवार अपराह्णदेखि आइतवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १०३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।
सो अवधिमा नौ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५४,००० नाघेको छ। अहिलेसम्म नेपालमा एक चिनियाँ र एक भारतीय नागरिकसहित ३४५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये ३८,६९७ जना कोभिड-१९ मुक्त भएको प्रमाणित भएका छन्।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या उच्च छ।
अहिले देशभरि १५,११७ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७,३८७ जना घरमै र ७,७२९ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
सरकारले शनिवार भदौ २७ गते १,२०१ जनामा सङ्क्रमण र १४ जनाको मृत्यु पुष्टि गरेको थियो।

को हुन् सङ्क्रमित र मृतक?
सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका छन्।
मृतकमध्ये तीन महिला र छ पुरुष छन्। तीमध्ये दुई महिला र पाँच पुरुष काठमाण्डूका हुन्।
मृतकहरूको उमेर ४५ देखि ७० वर्ष भएको मन्त्रालयले जनाएको छ।

थपिएका सङ्क्रमितमध्ये ३६५ महिला र ६६४ जना पुरुष छन्।
काठमाण्डू जिल्लामा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी उपत्यकामा ५९७ जनामा सङ्क्रमण पुष्टि भएको छ।
त्यसैगरी मोरङमा ७१, धादिङमा ३४, बर्दियामा ६१ र रूपन्देहीमा ३१ जनामा पनि कोभिड-१९ देखिएको छ।
अहिले काठमाण्डू उपत्यकामा ६,००० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
देशभरि भएका सङ्क्रमितमध्ये सिकिस्त बिरामी परेका १६९ जनालाई सघन उपचार उपलब्ध गराउनुपरेको र २३ जनालाई भेन्टिलेटरमा राखिएको मन्त्रालयले जनाएको छ।
सघन उपचार आवश्यक परेका र भेन्टिलेटरमा भएका बिरामीहरूको सङ्ख्या वाग्मती प्रदेशमा सर्वाधिक छ।
के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा ९,१६५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताए।
सो अवधिमा १,१७३ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भए।
अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।
गत भदौ २५ गते मन्त्रालयले १,४५४ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो। त्यो नै अहिलेसम्म एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।
अब २,००० रुपैयाँमा पीसीआर
मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन प्रयोग गरिने पीसीआर परीक्षणको शुल्क दोस्रो पटक घटाएको छ।
अहिले ४,४०० रुपैयाँमा हुँदै आएको परीक्षण अब २,००० रुपैयाँमा गरिने प्रवक्ता डा. गौतमले बताए।
"हाल पीसीआर परिक्षणका लागि आवश्यक पर्ने सामग्रीको मूल्य घटेकाले पहिलेको शुल्कमा घटाउनेगरी निर्णय गरिएको हो," उनले भने।
पहिला पीसीआर परीक्षणका लागि १० प्रतिशत सेवाशुल्कसहित ६,०५० रुपैयाँ तोकिएको थियो।
अहिले देशभरिका ३४ वटा सरकारी र १३ वटा निजी प्रयोगशालामा शुल्क तिरेर परीक्षण गर्न पाइने व्यवस्था छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










