कोरोना भाइरस नेपालः ४१ जिल्लामा निषेधाज्ञा, के कोरोनाभाइरसविरुद्ध रणनीति परिवर्तन गर्ने बेला भएको हो

काठमाण्डू

तस्बिर स्रोत, RSS

कोरोनाभाइरस सङ्क्रमणलाई लिएर काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा बुधवार राति १२ बजेदेखि निषेधाज्ञा कार्यान्वयनमा आएको छ।

गृह मन्त्रालयका अनुसार हाल देशका आधाभन्दा बढी जिल्लाले निषेधाज्ञा जारी गरेका छन्।

काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लासहित बिहीवारसम्म ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए।

सङ्घीय सरकारले देशव्यापी लकडाउनलाई साउन पहिलो हप्तादेखि खुकुलो पारेपछि सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा उल्लेख वृद्धि देखिएको छ।

रणनीति परिवर्तन

धेरै सङ्क्रमित देखिन थालेका जिल्लामा सङ्घीय राजधानी काठमाण्डू पनि रहेको छ।

कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले विभिन्न गतिविधि गर्न/गराउन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जारी गरेको आदेशमा उल्लेख गरिएको छ।

जनस्वास्थ्यविद्‌हरू 'ट्रान्समिसन चेन ब्रेक' गर्न अर्थात्‌ सङ्क्रमण सर्ने बाटो रोक्नका लागि निषेधाज्ञा वा लकडाउन राम्रो विकल्प भए पनि हालसम्म अपनाइँदै आएको रणनीतिमा केही परिवर्तन ल्याउनुपर्ने सुझाउँछन्।

पूर्वस्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेती भन्छन्, "केही हदसम्म आर्थिक गतिविधिलाई पनि निरन्तरता दिँदै हामीले ठाउँविशेष रणनीति अख्तियार गर्नुपर्ने हुन्छ।"

काठमाण्डू

तस्बिर स्रोत, RSS

त्यसमा जनस्वास्थ्यविद्‌ डा. सुरेश तिवारी पनि सहमत छन्, "जहाँ आगो लागेको हो त्यही पानी खन्याउने हो। आगो नलागेको ठाउँमा पानी हाल्नु हुँदैन, इपिडिमियोजीमा पनि यही सिद्धान्त हो।"

"जहाँ दुई सय वा सोभन्दा बढी सक्रिय सङ्क्रमित छन् त्यहाँ मानिसहरूको गतिविधिलाई निषेध गरौँ र वरपरका जिल्ला चनाखो होऊँ भन्ने कुरा हामीले सुरुदेखि भन्दै आएको हो।"

लकडाउन वा निषेधाज्ञाका बेला र त्यसपछि गरिने काम महत्त्वपूर्ण भएको अर्का जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्तको तर्क छ।

विगतमा लकडाउनपछिका गतिविधिलाई व्यवस्थित गर्ने सन्दर्भमा चुकेको उनको ठम्याइ छ।

कन्ट्याक्ट ट्रेसिङ

तनहुँ

तस्बिर स्रोत, RSS

"भविष्यमा सधैँ लकडाउन वा निषेधाज्ञाको अवस्थामा रहिरहन त सम्भव हुँदैन। अब पनि निषेधाज्ञा खुलेर पहिला जस्तै भयो भने त यो चक्र चलिरहन्छ।"

"त्यसैले अब चाहिँ कडाइका साथ सामाजिक दूरी कायम गराउने, बढीभन्दा बढी कन्ट्याक्ट ट्रेसिङ्ग गरी सङ्क्रमणको उच्च जोखिममा रहेकाहरूको परीक्षण गर्ने र आइसोलेशनको पर्याप्त तयारी हुनुपर्छ," वन्तले थपे।

जनस्वास्थ्यविद्‌ तिवारीका अनुसार कोरोनाभाइरस महामारीसँग जुझ्ने क्रममा नेपालका लागि देखिएको सबैभन्दा ठूलो चुनौती भनेको कन्ट्याक्ट ट्रेसिङ्ग हो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

"एउटा सङ्क्रमितले विगत पाँच-सात दिन कति जनाको सम्पर्क रहे भन्ने कुरासम्म नै हामी प्रभावकारी ढङ्गले पुग्न सकिरहेका छैनौँ।"

"समाजका विभिन्न तप्काहरूलाई समेटर राष्ट्रिय सञ्जाल बनाई तल्लो तहसम्म पुर्‍याउने तीनै तहका सरकारले एकीकृत रूपमा अघि बढ्ने तथा सामाजिक दूरीलाई कायम गराउँदै साबुनपानीले हात धुने काम गराइराख्यौँ भने यसलाई नियन्त्रण गर्न सक्छौँ," तिवारीले थपे।

खासगरी पछिल्लो पटक लकडाउनलाई खुकुलो गरिएपछि मानिसहरूले जनस्वास्थ्यसम्बन्धी सुरक्षाका उपायहरूलाई गम्भीरतापूर्वक नलिएको सरकारी अधिकारी तथा जनस्वास्थ्यविद्‌हरू बताउँछन्।

केही दिनअघि पर्सा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरूले लकडाउनकै समयावधिमा र लकडाउन खुकुलो पारिएपछि सामाजिक दूरी कायम नगर्ने मास्क नलगाउने र अनावश्यक रूपम भिडभाड गर्ने प्रवृत्तिले जोखिम थपिएको बताएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस नेापल: प्लाज्मा थेरापी के हो?