भारत विमान दुर्घटना: एअर इन्डिया एक्सप्रेस जेटको 'ब्ल्याक बक्स' भेटियो

विमानमा १९० मानिसहरू थिए र मृत्युको सङ्ख्या उच्च नहुनुलाई एक अधिकारीले 'चमत्कार' भएको बताए।

तस्बिर स्रोत, EPA

दक्षिण भारतको केरला राज्यमा शुक्रवार साँझ दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' फेला परेको भारतका उड्डयनमन्त्री हरदिप सिंह पुरीले बताएका छन्।

क्यालिकट विमानस्थलमा अवतरणका क्रममा दुबईबाट आएको विमान दुई टुक्रा हुनेगरी भएको उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।

शनिवार दुर्घटनास्थलको भ्रमण गरेका मन्त्री पुरीले उडानका विवरणहरू रहने फ्लाइट डेटा रेकर्डर र विमानचालकबीच हुने संवाद रेकर्ड हुने ककपिट भ्वाइस रेकर्डर फेला परेको जनाउँदै अनुसन्धानका लागि ती महत्त्वपूर्ण हुने बताए।

उनले प्रमुख विमानचालकको प्रशंसा गरेका छन्।

कोरोनाभाइरस महामारी फैलिएपछि यूएईमा अलपत्र परेका भारतीय नागरिकहरूलाई लिएर आएको एअर इन्डिया एक्सप्रेसको उक्त विमानका दुवै चालकको दुर्घटनामा ज्यान गएको छ।

अहिले १५० भन्दा बढी यात्रुहरू अस्पतालमा छन्।

उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको थियो।

तर दुर्घटनाको कारण अझै स्पष्ट नभएको मन्त्री पुरीले बताए।

'चमत्कार'

विमान चालकदलका सदस्यसहित १९० मानिस थिए। दुई टुक्रा भए पनि विमानमा आगो लागेको थिएन।

मृत्युको सङ्ख्या उच्च नहुनुलाई एक अधिकारीले 'चमत्कार' भएको बताएका छन्।

यद्यपि यस दुर्घटनालाई यो दशककै भारतको खराब यात्रुवाहक विमान दुर्घटना मानिएको छ।

दुर्घटनालगत्तै पुगेका उद्धारकर्मीहरूलाई अहिले क्वारन्टीनमा बस्न भनिएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

मृतकमध्ये एक जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफूलाई 'पीडा भएको' ट्वीट गरेका छन्।

दुर्घटना

दुर्घटना हुँदा विमानस्थल भएको क्षेत्रमा वर्षा भइरहेको थियो।

वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए। दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा स्थानीय समयानुसार साँझ १९:४० मा दुर्घटना भएको थियो।

दुर्घटनाग्रस्त एअर इण्डियाको विमान

तस्बिर स्रोत, EPA

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले एउटा ट्वीट गर्दै उक्त विमान "ठूलो वर्षाको अवस्थामा धावनमार्गमा ठोक्किएको, त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेको र दुई टुक्रा भएको" उल्लेख गरेका छन्।

उनले उक्त दुर्घटनाबारे भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले जाँचबुझ गर्ने बताए।

केरलामा अहिले मनसुन चलिरहेको छ।

दुर्घटनाबारे के भन्छन् अधिकारीहरू?

भारतको राष्ट्रिय विपद्सम्बन्धी काम गर्ने निकायका महानिर्देशक एसएन प्रधानले क्यालिकट विमानस्थलमा "टेबलटप" धावनमार्ग रहेको र विमान चिप्लिएपछि एउटा खोँचमा खसेको बताए।

उनले खोँचमा खस्दा विमानको तल्लो भाग ठोक्किएर दुई टुक्रा भएको र विमानको अग्रभाग "नराम्ररी क्षतविक्षत र ध्वस्त" भएको बताए।

उड्डयनमन्त्री पुरीले डीडी न्यूजसँग बोल्दै सुरुमा विमानमा आगो नलाग्दै केही यात्रुहरूलाई उद्धार गर्न सकिएको बताए। उनका अनुसार कैयौँ यात्रुहरूलाई भने त्यत्तिकै छोड्नुपरेको थियो।

Map

भारतमा मनसुनयाममा पहिला पनि विमानहरू दुर्घटनामा परेका छन्।

सन् २०१० मे महिनामा एअर इन्डिया एक्सप्रेसको विमान मङ्ग्लोरमा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुनँदा १५८ जनाको मृत्यु भएको थियो।

मङ्ग्लोरमै गत वर्ष जुलाई महिनामा पनि एउटा विमान दुर्घटनामा परेको थियो। तर त्यसमा कसैको पनि मृत्यु भएन।