कोरोना भाइरस नेपालः थप तीन जनाको मृत्यु, काठमाण्डू उपत्यकामा ४८ सहित देशभरि २७४ जनामा सङ्क्रमण पुष्टि

तस्बिर स्रोत, RSS
नेपालका विभिन्न जिल्लामा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण र थप तीन जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ।
यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,५४७ पुगेको छ।
अहिलेसम्म ५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा २२७ जना निको भएसँगै अहिलेसम्म १४,२४८ जना रोगमुक्त भएका छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,२२७ व्यक्ति देशभरि छन्।
को हुन्मृतक?
अहिले पुष्टि भएका तीन जनाको मृत्यु बुधवार भएको हो।
मृत्यु हुनेहरूमा मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष, पर्साको वीरगन्ज महानगरपालिकाका ७० र ६८ वर्षीय पुरुष रहेका छन्।
मोरङका पुरुषको धरानमा भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको र निज भारत आवतजावत गरिरहने व्यक्ति भएको बताइएको छ।
पर्साका ७० वर्षीय पुरुष भने मुटु तथा मधुमेहको बिरामी रहेको र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि साउन ८ देखि उपचाररत रहेको बताइएको छ।
अर्का पुरुषमा भने मिर्गौलाको समस्या रहेको र झाडापखालाको उपचारका अस्पताल भर्ना भएका थिए।

प्रदेश १ मा पहिलो मृत्यु
प्रदेश १ को बासिन्दाको कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक मृत्यु भएको हो।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको बुधबार साँझ मृत्यु भएको हो।
ज्वरो आएर उपचारका लागि केही दिनअघि कोशी अस्पताल विराटनगर पुगेका उनलाई चिकित्सकले कोरोनाभाइरसको लक्षण देखिएको भन्दै स्वाब सङ्कलन गरेका थिए।
कोशी अस्पतालकै आइसोलेशनमा रहेका उनको बुधबार दिउँसो सङ्क्रमण पुष्टि भएको थियो।
उनको स्वास्थ्य जटिल बन्दै गएपछि थप उपचारका लागि लगिएको र त्यहाँ आईसीयूमा भर्ना गरेलगत्तै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी दुई महिनाअघि भारतबाट आएर क्वारन्टीनमा पीसीआर परीक्षण गराउँदा नेगेटिभ आएपछि उनी घर फर्किएको बताइएको छ।
सीमाक्षेत्रमै घर भएका कारण पछि उनी भारततर्फ गएको र उतै सङ्क्रमित भएर फर्किएको हुनसक्ने बताइएको छ।
बिहीवार थपिएका १८ जनासहित प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ९९३ पुगेको छ। तीमध्ये ७८९ जना निको भएर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैबीच कोशी अस्पतालका चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि बिहीवारदेखि बहिरङ्ग सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताए।
के छ काठमाण्डूको स्थिति?
काठमाण्डू उपत्यकामा बिहीवार ४८ जना सङ्क्रमित थपिएका छन्।
तीमध्ये भक्तपुरमा पाँच जना, ललितपुरमा दुई जना र अन्य ४१ जना काठमाण्डूका रहेका छन्।
कुल सङ्क्रमितको सङ्ख्या काठमाण्डूमा ३९० जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५५ जना पुगेको छ।
बुधवार १५ जना र मङ्गलवार ५३ जना सङ्क्रमित थपिएका थिए।

पर्साको अवस्था के छ?
पर्सामा थप ४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्यकर्मी, प्रहरी, सेना लगायतलाई सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले बताए।
तीमध्ये नारायणी अस्पतालका नौ जना स्वास्थ्यकर्मी र एक एम्बुलेन्स चालक पनि रहेको बताइएको छ।
अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ६,३०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
कुल पीसीआर परीक्षणको सङ्ख्या ३,६४,६४८ रहेको छ।
अहिले देशभरिका क्वारन्टीनमा १३,००० भन्दा बढी मानिस क्वारन्टीनमा छन्।
तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा सर्वाधिक सङ्ख्यामा छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ










