कोरोना भाइरस नेपाल: घरमै आइसोलेशनमा बसेका सङ्क्रमितको अनुभव

वीरेन्द्रनगर
तस्बिरको क्याप्शन, वीरेन्द्रनगर नगरपालिकाले आइसोलेशनका रूपमा प्रयोग गरिहेको बसपार्क
    • Author, प्रकाश पन्त
    • Role, बीबीसी न्यूज नेपाली

सुर्खेत वीरेन्द्रनगरका टेकबहादुर थापा यतिबेला 'होम आइसोलेशन'मा बसेर कोरोनाभाइरस सङ्क्रमणविरुद्ध सङ्घर्ष गरिरहेका छन्।

शङ्का लागेर चेक गर्दा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि ११ दिनदेखि घरमै आइसोलेशनमा बसेर उपचार गरिरहेको उनले बताए।

उनी भन्छन्, "सरकारले बनाएको आइसोलेशनमा नगएर होम आइसोलेशनमा बस्दा धेरै सजिलो भएको छ।"

उच्च सुरक्षा सावधानी अपनाएर बसिरहेको दाबी गर्ने उनले पीसीआरमा कोरोनाभाइरसको सङ्क्रमण देखिए पनि आफूमा गम्भीर लक्षण नदेखिएको बताए।

'होम आइसोलेशन'

कोभिड-१९ पुष्टि भएका सुर्खेतकै भीमप्रसाद शर्मा रूपाखेती पनि अहिले घरमै अलग्गिएर बसेका छन्।

परीक्षणको परिणाममा सङ्क्रमण देखिएपछि वीरेन्द्रनगर नगरपालिकाले बनाएको आइसोलेशनमा बस्न गएको भए पनि त्यहाँ बस्न नसकेर घर आएको बताउँछन्।

बसपार्कमा बनाइएका आइसोलेशनमा बस्दा फोहोर र दुर्गन्धले झनै बिरामी पर्ने सक्ने उनको भनाइ छ।

उनी भन्छन्, "बसपार्कको आइसोलेशनमा बसिरहेकाहरूको कुरा सुन्दा र त्यहाँको दुरवस्था देख्दा बस्न मन नलागेकोले होम आइसोलेशन रोजेँ।"

वीरेन्द्रनगर नगरपालिकाले निर्माण सम्पन्न भएपनि प्रयोगमा आउन नसकेको बसपार्कलाई अहिले आइसोलेशनको रूपमा प्रयोग गरेको छ।

व्यापारिक प्रयोजनको लागि बनाइएका शटरहरूमा सङ्क्रमितलाई राखेर उपचार तथा हेरचाह गर्ने व्यवस्था मिलाएको छ।

घरमै बसेर उपचार गर्ने मौका

जनस्वास्थ्य कार्यालयका अनुसार सुर्खेतमा अहिले १३ जना होम आइसोलेशनमा बसिरहेको र अरू दुई जना निको भइसकेका छन्।

सरकारले गत असार १५ गते कोभिड -१९ सम्बन्धी स्वास्थ्य निर्देशिका जारी गदै सङ्क्रमण पुष्टि भएका तर लक्षण र चिह्न नभएका व्यक्ति 'होम आइसोलेशन'मा बस्न सक्ने व्यवस्था गरेको थियो।

कोरोना विशेष अस्पता

उक्त व्यवस्थाअनुसार भीमप्रसाद र टेकबहादुरजस्ता कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूले घरमै बसेर उपचार गर्ने मौका पाएका हुन्।

घरमै बसेको हुनाले सङ्क्रमण पुष्टि भएपनि आफूहरूलाई कोरोनाभाइरस सङ्क्रमण भए जस्तो नलागेको उनीहरू बताउँछन्।

बाहिर बसेको भए सायद धेरै तनाव हुन्थ्यो होला, टेकबहादुर थापा भन्छन्, तर घरमै बसेको हुनाले त्यस्तो अनुभूति भएको छैन।

सामाजिक दूरी कायम गरेर आफन्तसँग कुराकानी हुने भएकोले तनाव खेप्नुनपरेको र समय बिताउन पनि निकै सजिलो भएको छ।

अलग्गै कोठमा बसेर सुरक्षाका सबै नियमहरू पूर्ण रूपमा पालना गर्दा घरका सदस्यलाई सर्छ कि भन्ने चिन्ता पनि नभएको उनीहरू बताउँछन्।

सङ्क्रमित आफन्तको उपचार तथा हेरचाह गरिरहेका परिवारका सदस्य पनि सावधानी अपनाएको हुँदा नसर्नेमा ढुक्क छन्।

सङ्क्रमितलाई खाना, खाजा, तातोपानी दिँदा अनिवार्य रूपमा स्यानिटाईजर, मास्कजस्ता सुरक्षाका साधन प्रयोग गदै आएको आफन्त बताउँछन्।

घरमै आइपुग्दा सामान्य

कोरोनाभाइरस घरसम्म नपुग्दा जति डरत्रास थियो अहिले पुगेपछि त्यस्तो सबै हराएको शान्ति न्यौपाने बताउँछिन्।

पतिको हेरचाहमा तल्लीन शान्ति भन्छिन्, "आफूलाई नपर्दासम्म मात्रै डरत्रास हुँदो रहेछ, परेपछि सबै सामान्य लाग्दो रहेछ।"

'होम आइसोलेशन'मा बसेकाहरूले शक्तिवर्धक र पोषिलो खानेकुरा खाने गरेका छन्।

अदुवा, बेसार, फलफूल खाएपनि औषधि भने खानु नपरेको उनीहरूले बताए।

विश्वास नै छैन

कोरोनाभाइरससँग सम्बन्धित कुनै लक्षण नदेखिएकोले सङ्क्रमण भएको भन्ने विश्वास पनि नलागेको कतिपय बताउँछन्।

पीसीआर जाँच गर्दा सङ्क्रमण पुष्टि भए पनि कुनै खालको अप्ठ्यारो नभएकोले सङ्क्रमण भएको भनेर आफूलाई विश्वासै नलागेको भीमप्रसाद शर्मा रूपाखेती बताउँछन्।

उनी भन्छन्, "पीसीआर रिपोर्ट पोजिटिभ आएको खबर थाहा हुँदा अलिकति चिन्ता लागेको लागेको थियो, तर स्वास्थ्यकर्मीको सल्लाह, परिवार र आफन्तको हौसलाले गर्दा आत्मबल बढेको छ।"

सामाजिक दूरी कायम गरेर आफन्त र छोराछोरीसँग कुराकानी गर्ने, गीतहरू सुन्ने, सामाजिक सञ्जाल हेर्ने अनि समाचार पढेर समय बिताउने गर्छन्।

एक्लै बस्दा अत्यास

तीन साता 'होम आइसोलेशन'मा बसेर निको भएकी प्रदेश अस्पताल सुर्खेतकी नर्सिङ निरीक्षक बिन्दु कँडेल सङ्क्रमण देखिँदा केही तनाव भएपनि घरमै बसेर उपचार गर्दा त्यस्तो तनाव हटेको बताउँछिन्।

उनी भन्छिन्, "एक्लै कोठामा बस्दा अत्यास त लाग्दो रहेछ, तर तनाव भने हुँदो रहेनछ।"

होम आइसोलेशनमा बसिरहेका केहीले भने आफूहरू सुविधायुक्त आइसोलेशनमा जान चाहे पनि नपाएको गुनासो पोखे।

वीरेन्द्रनगर
तस्बिरको क्याप्शन, वीरेन्द्रनगर उपत्यका

पहुँच नहुनेलाई बसपार्क र पहुँच हुनेलाई प्रदेश अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्ने गरिएको उनीहरूको आरोप छ।

पहुँच हुनेहरू (स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, मन्त्री, नेताहरूका आफन्त र उनीहरूले सिफारिस गरेका व्यक्तिहरू) लाई प्रदेश अस्पतालको आइसोलेशन र पहुँच नहुनेहरूलाई बसपार्कको आइसोलेशनमा राखिने उनीहरूको आरोप छ।

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा आउन नसकेको बसपार्कलाई आइसोलेशन बनाएको छ।

तर त्यहाँ बसेका सङ्क्रमितहरू न्यूनतम सुविधा पनि आफूहरूले पाउन नसकेको गुनासो गरिरहेका छन्।

उनीहरू भन्छन्, "हावा छिर्ने भेन्टिलेशन छैन। माथिबाट आउने टिनको तातो र तलबाट आउने सिमेन्टको चिसोले हैरान बनाउँछ। लामखुट्टे पनि धेरै छन्।"

निर्देशिकाको व्यवस्था

स्वास्थ्य मन्त्रालयले कोभिड -१९ सम्बन्धी बनाएको आइसोलेशन व्यवस्थापन निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण भएका सङ्क्रमितलाई होम आइसोलेशनमा राख्न सकिने व्यवस्था गरिएको छ।

तर होम आइसोलेशनमा बस्ने सङ्क्रमितले उपचार अवधिभरि बाहिर ननिस्किने, खानपानमा विशेष सावधानी अपनाउनुपर्ने, शौचालय, हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिले मास्क प्रयोग गर्नुपर्ने, दिनमा कम्तीमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्नुपर्ने सहितका १४ वटा कुराहरू पालना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

होम आइसोलेशजमा बस्नेहरूलाई वडा जनप्रतिनिधि र स्वास्थ्यकर्मीले निरन्तर निगरानी गर्ने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए।

"मनपरी ढङ्गले कसैले पनि बस्न पाउँदैन," उनले भने, निर्देशिकामा उल्लेख भएका सर्तहरू पालना गर्ने गरी लिखित प्रतिबद्धता पूरा गरेपछि मात्रै 'होम आइसोलेशन'मा बस्न दिने गरिएको छ।

घरमै बसेर कोरोनाभाइरस विरुद्ध लडिरहेका सङ्क्रमितहरूले श्वासप्रश्वासमा कठिनाइ भए, छाती दुखे, ओठ तथा अनुहार नीलो देखिए, होस हराए र अन्य कुनै जटिल अवस्था देखिए तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गरेर उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर