लोप हुने खतरामा परेका सारस अहिले बच्चा कोरल्दैछन्, तर लुम्बिनी क्षेत्रमा मात्र सीमित

    • Author, माधव नेपाल
    • Role, बीबीसी न्यूज नेपाली, बुटवल

आईयूसीएनले सङ्कटापन्न पक्षीको सूचीमा राखेको सारसले अहिले नेपालको लुम्बिनी क्षेत्रमा धमाधम बच्चा कोरलिरहेको छ।

विज्ञहरूका अनुसार सारसले बच्चा कोरल्न एकान्त खोज्ने हुँदा अहिले धानखेतीको बीचमा ओथारो बसेको देखिन्छ।

नेपाल सरकारले संरक्षित पक्षीको सूचीमा राखेको सारस उड्ने प्रजातिका चरामध्ये सबैभन्दा अग्लो चरा मानिन्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार केही वर्ष अगाडिसम्म चितवनसहित त्यस पश्चिम तराईका सबै जिल्लामा देखिने सारसहरू अहिले लुम्बिनी क्षेत्रवरिपरि मात्र सीमित भएको पाइन्छ।

बच्चा कोरल्न दुई महिना

विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार वर्षायाम सारसले बच्चा कोरल्ने समय हो।

प्राचीन संस्कृत साहित्य तथा बौद्धकथाहरूमा पनि वर्णित ती चराहरू अहिले धानखेत र सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोरल्न बसेको देखिन्छ।

"सारसहरू यति बेला बच्चा कोरल्न बसेका छन्। यिनलाई बच्चा कोरल्न करिब दुई महिना लाग्छ," श्रेष्ठ भन्छन्।

विज्ञहरूका अनुसार सारसले एक बर्षमा बढीमा दुईवटा मात्र अण्डा पार्छ। पक्षीविद् हेमसागर बराल सारसहरू अहिले नेपालमा बाँच्नकै लागि सङ्घर्ष गरेको अवस्थामा रहेको बताउँछन्।

उनका अनुसार पहिला बर्दिया जिल्लामा यिनीहरूको राम्रो सङ्ख्या थियो तर अहिले छैन। बाँके र कञ्चनपुरमा पनि केही सङ्ख्यामा देखिएका छन्, तर ती सारस भारतबाट आएका हुन्।

नेपालमा सारसको सङ्ख्या ४००-७०० को हाराहारीमा रहेको अनुमान गरिएको छ।

सरकारी तथ्याङ्कका अनुसार ती मध्ये ९० प्रतिशतभन्दा बढी चरा कपिलवस्तु, रूपन्देही तथा नवलपरासीमा छन्।

प्रेमको प्रतीक

सारसलाई प्रेमको प्रतीकका रूपमा हेरिने गरेको छ।

पक्षीविद् बरालका अनुसार एक पटक जोडी बनेका सारसका भालेपोथी हत्तपत्त छुट्टिएको पाइँदैन।

"पोथी मरे पनि भाले अर्कोसँग लाग्दैन भन्ने कुरा छ, तर त्यसको अध्ययन भएको छैन," उनी भन्छन्।

सिमसार क्षेत्र एकान्त तथा शान्त ठाउँमा बस्न रुचाउने सारसको संरक्षणको लागि गुँड व्यवस्थापनमा ध्यान नपुर्‍याए यो चरा नेपालबाट नै लोप हुन सक्ने खतरा रहेको विज्ञहरूको भनाइ छ।

सारसको बसोबासको लागि आवश्यक पर्ने क्षेत्रहरू खुम्चिँदै गएपछि पछिल्लो पटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाले सारसको संरक्षणको लागि योजना बनाएर काम गर्नै तयारी गरेको विभागका अधिकारीहरू बताउँछन्।

तर संरक्षणको काम पर्याप्त नभएको विज्ञहरू बताउँछन्।