कोरोना भाइरस भारत: ‘प्रधानमन्त्री मोदीज्यू कृपया पुरुषहरूलाई घरको काममा सघाउन लगाइदिनुस्’

भारतमा घरको काम निकै कठिन हुने गर्छ। पश्चिमा देशहरूमा जस्तो भारतका घरघरमा भाँडा माझ्ने, सफाइ गर्ने वा लुगा धुने मेशीन कमै प्रचलित छन्।

त्यसैले भाँडा आफैँले माझ्नुपर्छ, लुगा हातैले धोएर बाहिर सुकाउनु पर्छ अनि कुचोले घर भित्रबाहिर आफैँ सफा गर्नुपर्छ। त्योबाहेक केटाकेटी तथा वृद्धवृद्धा अनि खाँचो परेकाहरूको स्याहार आफैँ गर्नुपर्छ।

दशौँ लाख मध्यम वर्गीय परिवारहरूमा कैयन् त्यस्ता घरायसी काम गर्न पैसा तिरेर मान्छे राखिन्छ - खाना पकाउने, सफाइ गर्ने तथा बालबच्चा स्याहार गर्ने। तर जब राष्ट्रव्यापी लकडाउनका कारण ती मानिस काममा आउन सकेनन् भने के हुन्छ?

जबाफ हो घरभित्र बढ्ने झगडा र तनाव। एउटा यस्तै मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तक्षेप गर्न आग्रह गरिएको छ।

चेन्ज डट ओआरजी नामक वेबसाइटमा प्रकाशित उक्त निवेदनमा सोधिएको छ, "के कुचोमा यो महिलाले मात्र प्रयोग गर्ने भनेर लेखिएको हुन्छ?"

"अनि वाशिङ् मेशीन वा ग्यास स्टोभमा नी? उसोभए किन अधिकांश पुरुष आफ्नो भागको घरभित्र गरिने काम गर्दैनन्!"

सो निवेदनकी लेखक सुवर्ना घोष घरबाटै कार्यालयको काम गर्दागर्दै पनि खाना पकाउने, सरसफाइ गर्ने तथा लुगा धुने काम थपिएपछि आजित भएकी थिइन्। उनी चाहन्छिन् प्रधानमन्त्रीले आफ्नो आगामी सम्बोधनमा यो विषय समेटुन् र पुरुषहरूलाई घरको काम बराबरी गर्न प्रेरित गरुन्।

"यो आधारभूत प्रश्न हो। किन यसबारे पर्याप्त चर्चा भइरहेका छैनन्," उनले लेखेकी छन्।

व्यापक समर्थन

घोषको निवेदनमा करिब सात लाख हस्ताक्षर जुटिसकेको छ। यसले भारतभरिका घरपरिवारमा विद्यमान लैङ्गिक असमानता झल्काउँछ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विवरणअनुसार सन् २०१८ मा भारतका शहरी क्षेत्रमा प्रतिदिन महिलाहरूले ३१२ मिनेट घरधन्दामा बिताए। पुरुषले केवल २९ मिनेट। ग्रामीण क्षेत्रमा महिलाले २९१ मिनेट तथा पुरुषले ३२ मिनेट घरधन्दामा बिताएको पाइयो।

मुम्बईस्थित घोषको घरमा पनि अवस्था फरक थिएन। बीबीसीसँग कुरा गर्दै उनले उक्त निवेदन आफ्नै अनुभव तथा आफू वरपरका महिलाहरूको अनुभवमा आधारित छ भनिन्।

उनको घरमा पनि घरधन्दाको जिम्मा उनकै काँधमा छ। "खाना पकाउने, सरसफाइ गर्ने, लुगा धुने, कोठा मिलाउने र बाँकी सबै काम म नै गर्छु।"

उनका श्रीमान ब्याङ्कमा काम गर्छन् र घरको काम गर्न रुचि राख्दैनन्। बरु उनका किशोरकिशोरी छोरा र छोरीले कहिलेकाहीँ सघाउँछन्।

घोष एउटा परोपकारी संस्था सञ्चालन गर्छिन् जसले प्रजनन न्यायका क्षेत्रमा काम गर्छ। लकडाउनका बेला उनैमाथि बोझ थपियो।

"त्यसले कम्तीमा एप्रिल महिनामा मेरो काममा असर गर्‍यो। म निकै थाकेकी हुन्थेँ। परिवारभित्र मैले धेरैपटक गुनासो गरेँ। जब मैले गुनासो गर्थेँ उनीहरूले त्यसो भए काम नगर भन्थे," उनले भनिन्।

त्यो सुझाव मानेर उनले मे को सुरुतिर तीनदिनसम्म घरको कुनै काम गरिनन्।

"तर त्यसपछि नमाझिएका भाँडाको रास जम्मा भयो र धुनुपर्ने लुगाको थुप्रो लाग्यो," उनले बताइन्।

उनी रिसाएको थाहा पाएर उनका श्रीमान र छोराछोरीले सरसफाइ गरे।

"मेरो श्रीमानले पनि सघाउन थाल्नुभयो। मलाई असर परिरहेको वहाँले बोध गर्नुभयो," उनले भनिन्। "हाम्रा पुरुषहरू पनि संस्कृती र समाजको पीडित हुन्। उनीहरूलाई घरधन्दा गर्न सिकाइँदैन। उनीहरूलाई सिकाउनु जरुरी छ।"

भारतजस्तै पितृसत्तात्मक समाजहरूमा छोरीलाई सानैदेखि घरसम्हाल्न सिकाइन्छ। जब उनीहरूले ठूलो भएपछि बाहिर काम गर्न थाल्छन् अनि उनीहरूको काँधमा दोहोरो जिम्मेवारी आइपर्छ।

"सानो हुँदा जहिले पनि मैले नै घरमा आमालाई भान्छामा सघाउँथे। मेरा भाइले आफैँ पस्केर समेत खाँदैनथे," फेसबुकमा आफ्ना अनुभव बाँड्न गरिएको आग्रहमा पल्लवी सरीनले लेखिन्।

ज-जसले घरमा बराबरी काम हुन्छ भनेर लेखे उनीहरूको परिवार या त विदेशमा बसिसकेका थिए या त त्यहाँका पुरुष पश्चिमी देशमा बसेर फर्किएका थिए। नत्रभने सबैको उस्तै कहानी थियो।

"घरधन्दा अझैपनि महिलाकै काम मानिन्छ," उपासना भाट लेख्छिन्। "यदि पुरुषले काम गर्छु भने पनि यदि सासुससुरा सहित बसिएको छ भने कतिले मान्छन्? त्यसो भएको दिन वास्तवमै प्रगतीशील हुनेछ। मलाई थाहा छ कैयन् घरमा अरूबेला काम सघाएपनि बाबुआमा आएका बेला पुरुषले सिन्को भाँच्दैनन्।"

यस्ता घरधन्दाको आर्थिक गणना पनि गरिँदैन। महिलाले परिवारप्रतिको स्नेहका कारण यसो गरेको ठानिन्छ।

हुर्कँदै गर्दा घोषले सोचेकी थिइन् उनी उनकी आमा वा काकीहरूजस्तो घरधन्दामा व्यस्त रहने छैनन्।

तर जब विवाह भयो त्यतिखेर घरमा काम गर्न राखिएका मानिसहरूका कारण यो समस्या आंशिक रूपमा लुकेर रह्यो।

तर जब लकडाउन भयो लुकेर बसेका यी समस्या अकस्मात् देखा परे।

"लकडाउनले यी भिन्नतामाथि प्रकाश पारिदियो। तर यसले मलाई यो समस्यासँग जुझ्ने मौका पनि दियो," उनी भन्छिन्।

त्यसैले उनले प्रधानमन्त्रीलाई निवेदन लेखिन्।

उनको घर वरपरका महिलाले पनि उस्तै समस्या बेहोरेको बताएका थिए। तर पुरुषले काम सघाउनुपर्छ भन्ने बारे तिनले अचम्म माने।

"कैयनले सोधे त्यो कसरी हुनसक्छ? कसरी पुरुषले खाना पकाउन वा सफाइ गर्न सक्लान्। बरु धेरैले त श्रीमानको तारिफ गर्दै आफूले जस्तो बनाएपनि विना गुनासो खाइदिने गरेको सुनाए," उनले भनिन्।

घरभित्रको यो विषय सामना गर्न चुनौतीपूर्ण रहेको उनले पाइन्।

"जब प्रश्न आफ्नै श्रीमान वा दाजुभाइसँग जोडिन्छ, त्यो कसरी सोध्न सकिन्छ? तर व्यक्तिगत भनेको राजनीतिक पनि हो - मैले असल श्रीमतीको भूमिका निर्वाह गर्नुका साथै यस विषयबारे चर्चा पनि गर्न जरूरी हुन्छ।"

जब घोषले श्रीमानलाई आफूले प्रधानमन्त्रीलाई निवेदन गर्न लागेको सुनाइन् उनले समर्थन गरे।

"उनका साथीहरूले ठट्टा गरेका थिए। उनीहरूले मेरो श्रीमानलाई बरु घरधन्दा सघाइदिएको भए हुने भन्दै प्रधानमन्त्रीसम्म कुरा पुर्‍याइएको भने!"

घोषको निवेदनप्रति कैयन् मानिसले सामाजिक सञ्जालमा आलोचना पनि गरेका छन्। कतिपयले यस्तो हलुका मामिलामा प्रधानमन्त्रीलाई झञ्झटमा पारिदिएको भनेका छन्।

मैले घोषलाई के अब प्रधानमन्त्रीले घरधन्दाबारे सम्बोधन गर्लान् त भनेर सोधेँ।

घोषले जबाफमा भनिन्, "म आशावादी छु। महिलामाझ पनि प्रधानमन्त्री मोदीको विशाल समर्थक समूह छ। त्यसैले महिलाका निम्ति महत्त्वपूर्ण सवालमा पनि उनले बोल्नुपर्छ। जब बर्खा लाग्दा उनले रुघाखोकीबारे बोल्नुहुन्छ भने लैङ्गिक समानताबारे किन हुँदैन?"