कोरोना भाइरस: अनिश्चितकालीन निषेधाज्ञापश्चात् कस्तो छ वीरगञ्जको अवस्था

कोरोनाभाइरस परीक्षण
तस्बिरको क्याप्शन, व्यापक परीक्षण गर्नुपर्ने माग बढेको छ
    • Author, माधुरी महतो
    • Role, बीबीसी न्यूज नेपाली, वीरगञ्ज

वीरगञ्जमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको तथा अन्यत्र यात्रा नगरेकाहरूमा समेत सङ्क्रमण देखिन थालेपछि पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा लागु गरिएको छ।

कोरोनाभाइरस सङ्क्रमण कतै समुदायस्तरमै फैलिएको त होइन भन्ने प्रदेश २ का अधिकारीहरूले आशङ्का गरेका छन्।

त्यसैसँग जुध्न शनिवारदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

निषेधाज्ञापश्चात् वीरगञ्जको मेनरोड, टोल, बस्ती तथा बजार सुनसान बनेको छ।

लक्षण सहितका सङ्क्रमित

वीरगञ्जमा केही दिन यता कोरोनाभाइरसको लक्षण सहितका सङ्क्रमितको सङ्ख्या बढ्दै गएको, तीन दिनमै तीनजना सङ्क्रमितको मृत्यु भएको तथा आइसोलेसनमा रहेका केही सङ्क्रमितको अवस्था गम्भीर देखिएकोले वीरगन्ज महानगरपालिका क्षेत्रभरिमा निषेधाज्ञा लगाइएको उनले बताएका छन्।

लकडाउन खुल्ला भएपछि मानिसहरूले हल्का ढङ्गले लिँदै लापरवाही गरेकाले पनि धेरै सङ्क्रमित भेटिएका स्थानमा आवतजावत रोकेर सिल समेत गरिएको छ।

निषेधाज्ञा जारी भएपछि महानगर क्षेत्रमा अत्यावश्यक उपचार सेवा बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको उनले बताए।

नारायणी अस्पताल

औषधी र अस्पताल बाहेकका अन्य सबै पसल, बजार, उद्योग व्यवसाय पूर्ण रूपमै बन्द गरिएको छ।

निषेधाज्ञा लागु भएका अवधिमा नेपालकै अन्य जिल्लाबाट पनि मानिस र सवारीसधानको आवागमन पूर्ण रुपमा रोकिएको साथै सीमा नाकाबाट पनि कोही लुकीछिपी नेपाल प्रवेश नगरुन् भन्ने उद्देश्यले कडाइ गरिएको बताइएको छ।

हरेक स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन बढाइएको तथा आवश्यक परेका स्थानमा नेपाली सेना समेत परिचालन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

परीक्षण विस्तार गरिने

अब वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा पाँच हजार जनाको पीसीआर परीक्षण गर्ने बस्नेतले जानकारी दिए।

हालसम्म पर्सा जिल्लामा सात जनाको कोभिड-१९ बाट ज्यान गइसकेको छ।

चार जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको र बाँकी तीन जनाको अन्य अस्पतालहरूमा मृत्यु भएको हो।

नारायणी कोभिड अस्थायी अस्पतालका डा. उदयनारायण सिंहले हालैका दिनमा पाइएका सङ्क्रमितहरूमध्ये अधिकाशंमा कोरोनाभाइरसको कुनै न कुनै लक्षण देखिएका छन्।

उनका अनुसार सङ्क्रमितहरूमा ज्वरो आउने, पखाला लाग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, जिउ दुख्ने र निमोनिया हुने जस्ता लक्षण देखिएका छन्।

वीरगञ्ज लकडाउन

उनीहरूमध्ये हाल चार जनाको अवस्था गम्भीर रहेकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको डा. सिंहले बताए।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार हाल त्यहाँको हाल आइसोलेसनमा ७५ जना सङ्क्रमित उपचाररत रहेको र तीमध्ये ४४ प्रतिशत सङ्क्रमितहरूमा लक्षण देखिएको छ।

साउन पहिलो साता यता सङ्क्रमण पुष्टि भएका मध्ये अधिकांश क्वारन्टीन बाहिरका र स्वेच्छाले परीक्षण गराएकाहरू रहेकाले पर्सामा अब सङ्क्रमण समुदायस्तरमै फैलिसकेको अवस्था देखिएको उनी बताउँछन्।

पछिल्लो अवस्थाका कारण वीरगञ्जका सरकारी र निजी अस्पतालहरूमा शुक्रवारदेखि आकस्मिक उपचार बाहेकका अरू सबै उपचार र सेवा बन्द गरिएको छ।

देशभर कोरोनाभाइरस सङ्क्रमण हुनेको सङ्ख्या घट्दै गएको सरकारी तथ्याङ्कले देखाएपनि प्रदेश नं २ का पर्सा, बारा, रौतहट, सप्तरी लगायतका जिल्लाहरूमा भने समुदायस्तरमा कोरोनाभाइरस सङ्क्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

सङ्क्रमितहरूमा उद्योगी व्यवसायी, पसले, अस्पतालका स्वास्थ्यकर्मी, उपचार गराउन आएका बिरामी लगायत क्वारन्टीन बाहिरका व्यक्तिहरू पनि रहेको उपाध्यायले बताएका छन्।

"अहिलेको अवस्थालाई हेर्दा समुदायमा परीक्षणको दर बढाएर जतिसक्दो सबै ठाउँमा परीक्षण गर्नुपर्छ," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: कोभिड-१९ बाट मृत्यु भएकाको 'मलामी' बनेको नेपाली सेना

मेयरको गुनासो

वीरगञ्ज महानगरका मेयर विजय सरावगीको एक घर एक पीसीआर जाँच गर्ने योजना केन्द्र सरकारको अनुमति नपाउँदा अन्यौलमा रहेको बताइएको छ।

वीरगञ्ज लकडाउन

महानगरपालिकाले ५०,००० घरका एक-एक जनाको परीक्षण गर्ने योजना बनाएको र त्यसका लागि ३५ जना स्वास्थ्यकर्मीलाई तालिम दिएर स्वाब सङ्कलन केन्द्र समेत तोकिएको भएपनि केन्द्र सरकारको अवरोधका कारण योजना अलपत्र परेको मेयर सरावगीको गुनासो छ।

स्थानीय समितिमार्फत् स्वीकृतीका लागि केन्द्रीय संयन्त्र, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई समन्वय र सहयोगका लागि पत्राचार गरिएको तर उक्त विषयमा माथिल्लो निकायले कुनै निर्देशन अहिलेसम्म नदिएको उनले बताए ।

सर्वसाधारणको चिन्ता

पर्साका सर्वसाधारण नागरिकले सङ्घ, प्रदेश र स्थानीय सरकारमाझ समन्वय र सहकार्यको कमीका कारण कोरोनाभाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै चर्को आलोचना गरिरहेका छन्।

अधिकांशले सामाजिक सञ्जालमार्फत् आफनो चिन्ता र आक्रोश पोखिरहेको पाइएको छ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या घट्दै गएको बारामा समुदायस्तरमा गरिएको परीक्षणका क्रममा एकैदिन ४६ जनामा सङ्क्रमण देखिएपछि त्यहाँको सङ्क्रमित क्षेत्रमा निषेधाज्ञा जारी गरी सम्पर्क पहिचानको काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

बारामा हालसम्मका सङ्क्रमित सङ्ख्या १८२ मध्ये अहिले भने ५२ जना आइसोलेसनमा उपचाररत रहेको उनले जानकारी दिए।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर