कोरोना भाइरस नेपाल: 'समुदायमा सङ्क्रमण फैलिएको हुन सक्ने' प्रदेशको भनाइ, केन्द्र भन्छ: 'यकिन गर्न बाँकी'

तस्बिर स्रोत, REUTERS
लकडाउन अन्त्य भएको घोषणा लगत्तै विभिन्न जिल्लामा कोरोनाभाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएको सङ्केत पाइएको स्वास्थ्य अधिकारीले बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले "केही जिल्लाहरूमा समुदायस्तरमा सङ्क्रमण फैलिएको जस्तो सङ्केत" पाइएको भए पनि हालसम्म त्यसलाई पुष्टि गर्ने आधार नभेटिएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार त्यसबारे यकिन गर्न थप परीक्षण, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी र अनुसन्धान जारी छ।
प्रदेश नं २ का कतिपय जिल्लाका प्रशासकले कोरोनाभाइरसको जोखिम बढेको भन्दै निषेधाज्ञा जारी गरेका छन्।
के भन्छन् स्थानीय स्वास्थ्य अधिकारी?
बीबीसी न्यूज नेपालीकी वीरगञ्जस्थित समाचारदाता माधुरी महतोलाई स्थानीय स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार बारा, पर्सा र सप्तरी लगायतका जिल्लाहरूमा अहिले 'ट्राभल हिस्ट्री' नभएका र सङ्क्रमितको सम्पर्कमा नआएका केही व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ।
नारायणी अस्पतालका मेडीकल सुपरीटेन्डेण्ट मदन उपाध्यायले भने, “जति पनि अहिले नयाँ सङ्क्रमित देखिएका छन् ती सबै आफैँले शङ्का लागेर चेकजाँचका लागि आएको र सङ्क्रमण देखिएको हो।"
"अधिकांश समुदायस्तरकै हो तर यकिन गर्नका लागि समुदायस्तरमा केही हजार पीसीआर परीक्षण गर्न आवश्यक देखिएको छ। तर समुदायमा फैलिएको भन्न सकिन्छ।”

तस्बिर स्रोत, RSS
यसै साता पर्सामा दुई जनाको कोभिड-१९ का कारण निधन भइसकेको पुष्टि भएको छ।
पर्साको स्थानीय प्रशासनले शनिवार बिहानदेखि निषेधाज्ञा जारी गरिसकेको छ।
त्यस्तै सप्तरीमा पनि एकजना व्यक्तिको कोरोनाभाइरसका कारण मृत्यु भएपछि समुदायस्तरमा गरिएको परीक्षणमा केही व्यक्तिमा सङ्क्रमण पाइएपछि त्यहाँ पनि निषेधाज्ञा जारी गरिएको छ।
प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीले सप्तरीमा "समुदायस्तरमा सङ्क्रमण फैलिएको जस्तो देखिएको" तर त्यसबारे यकिन गर्न बाँकी रहेको बताए।
उनले प्रदेशका विभिन्न जिल्लामा समुदायस्तरमा सामूहिक रूपमा पीसीआर परीक्षण गर्न थालिएको तर प्रदेशसँग पर्याप्त स्रोत र साधन नभएको गुनासो गरे।
उनले सङ्घीय स्वास्थ्य मन्त्रालयलाई परीक्षण बढाउन आवश्यक स्रोत र साधनहरू उपलब्ध गराउन माग गरेको बताए।
सङ्घीय अधिकारीको भनाइ
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम समुदायस्तरमा सङ्क्रमण देखिएको सङ्केत पाइएको खबरहरू आएपछि मन्त्रालयले त्यसबारे थप अनुसन्धान गरिरहेको बताउँछन्।
उनले भने, "समुदायकै व्यक्तिहरू पनि विदेशबाट आएकासँग सम्पर्कमा गएका हुन सक्छन्। त्यसका लागि थप यकिन गर्न अनुसन्धान भइरहेको छ।"
"त्यसको जानकारी आएपछि मात्र समुदायमा फैलिएको हो वा होइन भन्न सकिन्छ।"

तस्बिर स्रोत, RSS
मन्त्रालयका अधिकारीका अनुसार अहिले सरकारले विदेशबाट आएकाहरूलाई नै ध्यानमा राखेर परीक्षणहरू गरिरहेको छ।
देशभरि ४५,००० जनाको समुदायस्तरमा पनि परीक्षण गर्ने कार्य सुरु गरिएको पनि उनीहरूको भनाइ छ।
तर काठमाण्डू उपत्यकाभित्र समुदायस्तरमा करिब ५,००० जनाको परीक्षण गर्दा त्यसमा तीन जनामा मात्र सङ्क्रमण भेटिएको उनीहरूको दाबी छ।
अन्य क्षेत्रको भने सबै परीक्षण नतिजा आइनसकेको बताइएको छ।

तस्बिर स्रोत, RSS
अब नाकामा परीक्षण
गौतमका अनुसार काठमाण्डू उपत्यकामा सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै सरकारले बाहिरबाट उपत्यका भित्रिने मानिसको परीक्षण गर्न लागेको छ।
शुक्रवार साँझ बीबीसीसँग उनले भने, "अब शनिवार र आइतवार यता नागढुङ्गा र साँगा नाकामा आउने मान्छेको १०,००० जनाको नमुना लिन लागेका छौँ।"
"जहाँ जरुरी पर्छ त्यहाँ हामी लिन्छौँ। उनीहरूको सबैको पीसीआर परीक्षण हुन्छ।"
मन्त्रालयले समुदायस्तरमा परीक्षण बढाउनका लागि परीक्षणको मापदण्डमा परिमार्जनको प्रक्रिया पनि सुरु गरिसकेको बताइएको छ।








