कोरोना भाइरस अमेरिका: सल्लाहविपरीत राष्ट्रपति डोनल्ड ट्रम्प भन्छन्, 'मास्क अनिवार्य गर्न सकिँदैन'

तस्बिर स्रोत, EPA
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथाम गर्नका लागि अमेरिकी नागरिकहरूलाई मास्क लगाउने आदेश नदिने वाचा गरेका छन्।
देशका प्रमुख सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले राज्य र स्थानीय नेताहरूलाई मानिसहरूलाई मास्क लगाउन प्रेरित गर्न यथासम्भव प्रयत्न गर्न आग्रह गरेपश्चात् ट्रम्पको यस्तो भनाइ आएको हो।
डा. फाउसीले मास्क लगाउनु "वास्तवमै महत्त्वपूर्ण रहेको" र "हामी सबैले त्यसलाई प्रयोग गर्नुपर्छ" भनेका थिए।
मास्क लगाउने कुरा अमेरिकामा निकै राजनीतीकरण भएको विषय बनेको छ।
राज्यहरूमा नियम
अधिकांश राज्यका गभर्नरहरूले अहिले घरबाहिर मास्क लगाउनुपर्ने नियमलाई अनिवार्य गरेका छन्।
त्यस्तो आदेश दिनेहरूमा रिपब्लिकन पार्टीबाट चुनिएकै गभर्नरहरू पनि छन्।
पहिले मास्क लगाउन अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले गत शनिवार सार्वजनिक रूपमा पहिलो पटक मास्क लगाएका थिए।
तर शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै उनले मास्क लगाउनैपर्छ भन्ने नियम देशभरि लागु गर्ने कुरामा आफू सहमत नभएको बताए।

तस्बिर स्रोत, Reuters
उनले नागरिकसँग "निश्चित स्वतन्त्रता" हुनुपर्ने भन्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्।
आग्रह
यसै साताको सुरुमा अमेरिकाको जनस्वास्थ्य निकाय सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले एउटा सूचना निकाल्दै सबैलाई मास्क लगाउन आह्वान गरेको थियो।
"हामी कोभिड-१९ विरुद्ध रक्षाहीन छैनौँ," सीडीसीका निर्देशक रोबर्ट आर रेड्फील्डले भने, "कपडाबाट बनेका मास्क सबैभन्दा शक्तिशाली हतियार हुन् जसले गर्दा कोरोनाभाइरसको विस्तारलाई हामी कम गर्न सक्छौँ, विशेषगरी समुदायस्तरमा सबैले त्यसलाई लगाएमा।"
दक्षिणी राज्य जोर्जामा रिपब्लिकन गभर्नर ब्रायन केम्पले त्यहाँका बासिन्दालाई आगामी महिनासम्म मास्क लगाउन आग्रह गरेका छन्।
अघिल्लो दिन उनले एट्लान्टाका नगरप्रमुख किशा लान्स बटम्सले मास्कलाई अनिवार्य गर्दा उनीविरुद्ध कानुनी कारबाही गरेपनि यस्तो आग्रह गरेका हुन्।
बटम्स चाहिँ आफैँ कोरोनाभाइरस सङ्क्रमित भएका छन्।
घरभित्र पनि मास्क लगाउन आग्रह
ओक्लाहोमा नगररका अधिकारीहरूले चाहिँ घरभित्र पनि अनिवार्य मास्क लगाउनमा जोड दिएका छन्। तर त्यहाँ राज्यभरि मास्कलाई अनिवार्य गरिएको छैन।

तस्बिर स्रोत, Reuters
अमेरिकाका दक्षिणी राज्यहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने क्रम बढिरहेको छ।
कोभिड-१९ सँग लड्न अधिकारीहरूलाई सहयोग गर्नका लागि टेक्सस र क्यालिफोर्नियामा सयौँ सैन्य स्वास्थ्य अधिकारीहरूलाई खटाइएको छ।
टेक्सस र एरिजोनामा शवहरू राख्नका लागि चिस्याउने सुविधा भएका ट्रकहरू पनि पठाइएको छ।
पछिल्ला साताहरूमा फ्लोरिडाका अस्पतालहरूमा आइसीयूहरू भरिएका छन् र उनीहरूले थप बिरामी भर्ना लिन नसकिने जनाएका छन्।
कतिपय राज्यहरूमा कोरोनाभाइरस परीक्षणको दायरा बढाउन माग बढिरहेको छ।
पिटस्बर्ग, पेन्सल्भेनिया राज्यले सङ्क्रमणको शङ्का लागेकाहरूलाई परीक्षण केन्द्रको साटो १४ दिनको होम आइसोलेशनमा जान भनिएको छ।
विद्यालय कहिले खुल्छन्?
परीक्षणका लागि सामग्रीको अभाव भएकाले हवाईमा भने बाहिरबाट आएकाहरूलाई दुई साताको क्वारन्टीन कम्तीमा एक महिनासम्म जारी राखिनेछ।
यसैबेला टेक्सस र क्यालिफोर्नियाजस्ता ठूलो जनघनत्व भएका राज्यहरूमा लाखौँ बालबालिकाहरूलाई नयाँ शैक्षिक वर्षका लागि उनीहरूलाई विद्यालय नजान भनिएको छ।
शिक्षा र कहिले विद्यालय खुल्छन् भन्ने विषय अमेरिकामा अर्को निकै राजनीतीकरण भएको विषय बनेको छ।
विद्यालय खोल्नेबारेको नयाँ सीडीसी मार्गनिर्देशन यसै साता सार्वजनिक हुन लागेको छ तर अमेरिकी सञ्चारमाध्यमहरूले उक्त मिति पछि सरेको जनाएका छन्।
अमेरिका लगातार रूपमा महामारीको विश्वव्यापी केन्द्रबिन्दु बनिरहेको छ।
त्यहाँ हालसम्म ३६ लाखभन्दा बढी सङ्क्रमित पाइएका छन् भने एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। त्यो विश्वकै सबैभन्दा धेरै मृत्यु हो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?























