कोरोना भाइरस: अवस्था झन् झन् खराब हुनसक्ने डब्ल्यूएचओको चेतावनी

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरससँग जुझ्ने विषयमा 'थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको' बताए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरससँग जुझ्ने विषयमा 'थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको' बताए

सरकारहरूले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोनाभाइरस महामारी 'खराबमाथि खराब' हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले 'थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको' बताए।

प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए।

गेहब्रेयससले के भने?

सोमवार जिनिभामा बोल्दै डा गेहब्रेयससले 'नेताहरूको मिश्रित सन्देशले' उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए।

"यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन," उनले भने।

उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

"निकट भविष्यमा पुरानो सामान्य अवस्था फर्कने देखिँदैन।"

उनले चेतावनी दिँदै भने: "यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ। त्यो भनेको खराब, खराब र खराब हुनु हो।"

अमेरिकी देशहरूमा केन्द्रविन्दु

उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्दु बनेका छन्।

डब्ल्यूएचओको आपत्कालीन सेवा सम्बन्धी निर्देशक डा माइक रायनका अनुसार अमेरिकी देशहरूमा खुकुलो पारिएको लकडाउनका उपायले केही ठाउँमा 'व्यापक सङ्क्रमण' फैलाएको थियो।

उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्द बनेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्दु बनेका छन्

ल्याटिन अमेरिकामा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढी कोरोनाभाइरससँग जोडिएका मृत्यु पुष्टि भएका छन्।

आधाजसो ती मृत्यु ब्राजिलमा भएको छ जहाँ राष्ट्रपति जइर बोल्सोनारूले भाइरससँग जुझ्ने कडा उपायहरूको विरोध गरेका थिए।

त्यहाँ जाँच नै कम भएकाले त्यस्तो सङ्ख्या अझै उच्च हुनसक्ने ठानिएको छ।

अमेरिकामा उच्च प्रभाव

संयुक्त राज्य अमेरिकामा एकातर्फ सङ्क्रमितहरू बढिरहँदा अर्कोतर्फ राष्ट्रपति डोनल्ड ट्रम्प र स्वास्थ्य विज्ञहरूबीच तनाव देखिएको छ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म ३३ लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने १,३५,००० भन्दा बढीको भाइरसका कारण मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ।

सङ्क्रमितको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएपछि अमेरिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य क्यालिफोर्नियामा पुन: कडा प्रतिबन्धका नियम लागु गरिएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?

गभर्नर ग्याभिन न्युसमले रेष्टुराँ, बार, मनोरञ्जन स्थल, चिडियाखाना र सङ्ग्रहालयजस्ता भवनपरिसरभित्रका गतिविधि तत्काल लागु हुनेगरी बन्द गर्न लगाएका छन्।

महामारीबाट उच्च प्रभावित अमेरिकाका विभिन्न क्षेत्रमा गिर्जाघर, व्यायामशाला र शैलुनहरू समेत बन्द गरिनेछन्।

पछिल्ला दुई सातामा क्यालिफोर्नियामा परीक्षण गरिएकामध्ये सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले वृद्धि भएको छ।

आइतवार फ्लोरिडामा एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका थिए।

इङ्ग्ल्याण्डमा 'मास्क अनिवार्य'

ब्रिटेनको सरकारले आउँदो साताबाट इङ्गल्याण्डका पसल र सुपरमार्केटहरूमा मुख ढाक्नेगरी मास्क लगाउनैपर्ने नियम ल्याएको छ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिएको विज्ञप्ति अनुसार भिडभाड हुने र घरभित्रका ठाउँमा मास्क लगाएर आफू र वरपरका मानिसहरूलाई सुरक्षित पार्न सकिन्छ भन्ने स्पष्ट प्रमाणहरू पाउन थालिएको बताइएको छ।

सार्वजनिक सवारीमा मास्क लगाउने नियम भने जुन महिनादेखि नै लागु छ।

ब्रिटेन

तस्बिर स्रोत, Reuters

तर त्यसबारे कुराहरू राम्रोसँग प्रस्ट नपारिएको भन्दै सरकारको आलोचना हुने गरेको छ।

ब्रिटेन कोरोनाभाइरसको महामारीबाट बढ्ता प्रभावित हुनेमध्येको देशमा पर्छ।

त्यहाँ अहिलेसम्म २,९१,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ४४ हजार भन्दा बढीले भाइरसका कारण ज्यान गुमाएका छन्।